मेरो कित्ता कार्यक्रम सुरु

राजनीति

काठमाडौं– सरकारले ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको छ । आफ्नो जग्गाधनी पूर्जा, आफ्नो कित्ता आफू बसेकै ठाउँबाट अनलाइनमार्फत् हेर्न, प्रिन्ट गर्न र राजस्व तिर्नसक्ने गरी यो अनलाइन प्रणाली सुरु भएको हो । यो प्रणाली सुरु भएपछि अब घर, भवन निर्माण वा खरिद–बिक्री प्रयोजनका लागि जग्गाधनीले नापी कार्यालय पुगेर प्रिन्ट नक्सा लिनुपर्ने झन्झट बेहोर्नु नपर्ने भएको छ । ०७८ बैशाख २ (बिहीबार) प्रधानमन्त्री केपी ओलीले ‘मेरो कित्ता’ कार्यक्रमको उद्घाटन गरेसँगै इन्टरनेटबाट आफ्नो घरजग्गाको नक्सा हेर्न र आफैँ प्रिन्ट गर्न मिल्ने भएको हो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सेवाग्राहीले कार्यालयमा उपस्थित भएर झेल्नु पर्ने एक प्रकारको झंझटको अन्त्य गरिएको बताएका छन् । सेवाग्राहीको छिटोछरितो सेवाका लागि सबै मन्त्रालय, विभाग र कार्यलयहरूलाई डिजिटल प्रणालीमा लाने उनले बताए । ‘हरेक क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोग गर्नु, अहिलेको आवश्यकता हो’ उनले भने, ‘डिजिटल नेपालको अभियानको एक खुट्किला पार ग¥यो । नापीमा मात्र हैन हरेक क्षेत्रमा डिजिटल प्रणाली लागू गर्न चाहन्छौँ । अब नयाँ ढंगले आधुनिक प्रविधिमा जान्छौँ ।’ उनले सबै कार्यालयको कर्तव्य उही भए पनि कर्तव्य पूरा गर्ने तरिकामा मात्र फरक भएको बताए ।
नयाँ–नयाँ प्रविधिको प्रयोग गरे मात्र हरेक काम छिटो छरितो र सहज ढङ्गले हुने र नयाँ युगमा प्रवेश गर्न सकिने प्रधानमन्त्री ओलीको जिकिर छ । प्रविधिको विकासले आगामी दिनमा नेपाललाई आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पु¥याउने उनी बताउँछन् । साथै उनले अबको केही वर्षमै देश आत्मनिर्भर हुने पनि दाबी गरेका छन् । ‘यस्तो मिहिनेती देश खान–लाउन नपुग्ने हुनै सक्दैन । अबको केही वर्षमै देश आत्मनिर्भर हुन्छ’, प्रधानमन्त्री ओली भन्छन्, ‘अहिले माछा, मासु र अण्डामा आत्मनिर्भर भइसकेको छ । अब चाँडै तरकारीमा पनि आत्मनिर्भर हुन्छौँ ।’ ‘हामीले खाद्यान्न र खाद्यवस्तु आयतक होइन, निर्यातक बन्नुपर्छ । यसतर्फ विभिन्न ढंगले काम भइरहेको छ’, उनले भने ।
‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेकोमा मन्त्रालय, विभागलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले देश विकासका लागि हरेक दिन एक पाइला अघि बढिरहेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *