कोरोनामा डढेलोले थपेको समस्या

लेख

कोरानाको दोस्रो लहरसँगसँगै
कोरोना भाइरसको दोस्रो लहरको आरम्भतिर गृह जिल्ला दोलखामा धेरै दिन बिताउने अवस्था आयो । कोरानाको कहर धेरै देखिएता पनि गत वर्षजस्तो आममानसमा त्रास भने देखिएको थिएन । अघिल्लो वर्ष एक जना मात्र बिरामी भएमा पनि सन्त्रास छाउँथ्यो । तर, यस पटक दिनानुदिन मान्छे मरिरहेका छन् तै पनि धेरै वास्ता गरेको देखिँदैनथ्यो । मेरो दोलखा बसाइँमा साथीभाइ अग्रजहरूसँगको भेटघाट बाक्लै भयो । यसक्रममा विभिन्न पारिवारिक, सामाजिक, संस्थागत, सामुदायिक वन र कृषि अभियानकेन्द्रित कार्यहरूमा सहभागी हुने मौका मिल्यो ।
कोरोनाको कहरमा डढेलोको आतंक
विभिन्न विपत् आइपरिरहेको छ । पछिल्लो अवस्थामा कोरोना भाइरले विश्वलाई नै गाँजिरहेको छ । कोरोना भाइरसको आपत् त विश्वव्यापी हो । तर, नेपालमा पछिल्लो अवस्थामा प्रदूषण बढिरहेको छ । प्रदूषण बढ्नुका धेरै कारणमध्ये एक डढेलो पनि हो । डढेलोले धेरै धनजनको क्षति पुगेको छ । भौतिक क्षतिमात्र होइन, यसको वातावरणीय नकरात्मक असर दीर्घकालीन परिरहेको छ ।
यस वर्ष धेरै वन क्षेत्रमा डढेलो लागेको छ । आगोको चपेटाबाट वन क्षेत्र जोगिन मुस्किल परिरहेको छ । सामुदायिक वनमा लागेको डढेलो निभाउन उपभोक्ताको सहभागिता रहँदैन भन्ने गुनासो रहेको छ । मेरो बुझाइमा पनि डढेलो नियन्त्रणमा उपभोक्ताले चासो नदेखाउनुको कारण वनमा उपभोक्ताले कुनै फाइदा नपाएर भन्ने लागेको थियो । तर, यस पटक उपभोक्ताको सक्रियतामा देख्न पाइयो ।
भीमेश्वर नगरपालिका वडा नंं. ७ मा रहेको देवी थान सामुदायिक वनमा डढेलो लागेको र त्यो नियन्त्रणमा उपभोक्ताको सहभागिता अनुकरणीय पाएँ ।
वैसाख १६ गतेका दिन देवीथान सामुदायिक वन क्षेत्रमा डढेलो लागेको खबर आएपछि म दाँैडेर त्याँहा पुगेँ । छिमेकी उपभोक्तासहित जम्मा भएर डढेलो नियन्त्रणको कोसिस गरिरहेका थिए । त्यसमा म पनि थपिएँ । ५० जना जतिको सामूहिक प्रयासस्वरुप करिब २ घन्टाको कोसिसमा आगो नियन्त्रणमा लिन सफल भयौँ ।
डढेलो नियन्त्रण भयो भन्ने ठानी हामी फर्कियौँ । म किवी फर्ममा केहीबेर अल्मलिएर घर आएँ । साँझ फेरि वनमा डढेलो लागेको देखियो । त्यसपछि म, बहिनी गीता, छोरीहरू असला र प्रकृतिसहित दौँडिएर गयौँ । हाम्रो किवी फर्म नजिकै आगो आइसकेकोले नियन्त्रणका लागि कोसिस ग¥यौँ । पानीको पाइप जोगाउने काम ग¥यौँ । करिब ८.३० साँझसम्म गरेर आगो नियन्त्रण गर्न सफल भयौँ । केही टिम्वुरको बिरुवालगायत प्राकृतिकरूपमा उम्रेका बिरुवाहरू धेरै आगोको लपेटामा परे । हाम्रो फर्मको करिब १५ रोपनी जग्गामा डढेलोले केही समय राज ग¥यो । किवीको बिरुवा र पाइप जोगाउन सफल भएकोमा खुसी हुँदै घर लाग्यौँ । १७ गते विवाह भएकोले काठमाडौं आयौँ ।
डढेलोले कृषिमा पारेको असर
वैसाख १८ गते बिहानै बाँकी वनमा (ढाँडे सामुदायिक वनमा) आगो देखियो । म र भान्जा गोपीकृष्ण दाहाल दौँडिदै पुग्यौँ । त्यो डढेलोले किवीलगायत पाइपलाइन नोक्सान गर्ने पक्का थियो । पानीका लाइन ल्याएको जमिन मुनी नगाडिएको पाइपलाई जोगाउने कोसिस गरियो । केही पाइप पुर्ने कोसिस ग¥यौँ । केही काटेर सुरक्षित स्थानमा सारियो । पाइप जोगाउन खोज्दा धुँवाको मुस्लो भित्र परियो । झण्डै बेहोस भैयोँ । धुवाँले मान्छेलाई कसरी लडाउँदो रहेछ भन्ने अनुभूति गरियो । अनेक कोसिस गर्दा पनि १५ वटा किवीको बिरुवा आगोले निल्यो । केही मिटर पाइप पनि डढ्यो ।
यो डढेलो नियतवस लगाएको अनुमान छ । यसले जैविक विविधता कति नोक्सानी भयो लेखाजोखा कसले गर्ने ? यो डढेलो लगाउँदा फाइदा त कसैलाई हुने होइन तै पनि प्रायः सबै वनमा लागिरहेको छ ।
केही हप्ता अघिको असिना र हावाहुरीले किवीको बिरुवालाई तहसनहस पारेको थियो । अहिले आगोले पनि नोक्सानी ग¥यो । वरिपरिको वनमा डढेलोले सखाप पारेपछि मृगले खाना खोज्दै किवीको फेद नै टोक्न थाल्यो । अर्को आपत परिरहेको छ । पहिला पनि मृगले पात खान्थ्यो अहिले डाँठ नै टोक्न थालेछ ।
कोरोनाको कहरमा विवाह
एक साताभित्रै दुई जना भतिजको विवाह सम्पन्न भयो । वैसाख ११ गते भतिज सरोज खतिवडाको इन्दिरा गुरागाईं र वैसाख १७ गते अर्को भतिज भोजराज खतिवडाको सरिता सुवेदीसँग विवाह गर्ने कार्यक्रम केही महिना अघि नै तय भएको थियो । यी दुवै विवाह चरिकोटबाट काठमाडौंमा लैजानु पर्ने थियो । वैसाख ११ गते गाडी चलाउन मुस्किल परेन । तर, भिडभाड गर्न मिल्ने भएन त्यसैले पार्टी प्यालेसमा धेरै जमघट नगरी सांस्कृतिक परम्परा धान्दै विवाह कर्म सम्पन्न भयो । हामी बेहुली लिई दोलखा फर्कियौँ ।
वैसाख १६ गते बिहानदेखि लागू हुने गरी काठमाडौं उपत्यकाका तीन जिल्लामा निशेधाज्ञा जारी भयो । यो काम स्थानीय प्रशासन अर्थात् प्रमुख जिल्ला अधिकारीको तहबाट भएको थियो । उपत्यकाभित्र निजी तथा सार्वजनिक यातायात नचल्ने भयो । हामीले विवाहको जन्ती लिई काठमाडौं आउन पर्ने मिति वैसाख १७ मा निर्धारण गरिएको थियो । हामीलाई आपत प¥यो । अनेक विकल्प खोजियो ।
वडा कार्यालयको सिफारिससहित प्रमुख जिल्ला अधिकारीसँग सल्लाह गर्न गयौँ । सल्लाहअनुसार जन्ती जानेको नामसहितको एक निवेदन दियौँ । प्रमुख जिल्ला अधिकारीबाट १५ जनासहित गाडी लैजाने अनुमति पायौँ । विवाह निर्धारित समयमा नै हुने भयो भनेर खुसी भयौँ । हाम्रो परिवारकै सदस्य ५० जनाभन्दा माथि हुन्छौँ । १५ जना मात्र जन्ती जाने भएकोले व्यवस्थापन गर्न कठिनाइ त भयो नै । वैसाख ११ गतेको सरोजको विवाहमा हामी सबै जन्ती जान समस्या परेको थिएन । तीनवटा गाडीको प्रबन्ध गरिएको थियो । हाम्रो परिवारमा धेरै समयको अन्तरालपछि छोराको विवाह भएकोले हामी सबै खुसी थियौँ । यसअघि २०७२ सालको भूकम्पलगत्तै हाम्रो पुस्ताको जेठो छोरो सुरेशराज खतिवडाको विवाह थियो । २०७२ वैसाख १२ मा भूकम्प गयो । विवाह त्यस्को ३ दिनपछि निर्धारण गरिएको थियो । बस्ने घरहरू सबै ध्वस्त भएका थिए । त्यस बेलामा पनि विवाह दोलखाबाट काठमाडौं नै ल्याउनु पर्ने थियो । सानो गाडीमा ५,७ जना आई विवाह गरेकोले रमाइलो गर्न पाइएको थिएन । यो वर्ष भव्य रमाइलो गर्ने सोचका साथमा बेहुलाका बाउ तथा भाइ खलकले दौरा सुरुवाल र महिलाजतिले एकै खालको पहिरनको प्रबन्ध गरिएको थियो ।
अलिअलि डराउँदै अनि केही सचेत हुँदै शुभविवाह सम्पन्न भयो । हाम्रो परिवारमा धेरै वर्षपछिको अन्तरालमा विवाह भएका हुन् । यस्ता सामाजिक तथा सांस्कृतिक कर्मले पारिवारिक मिलन त छँदैछ, सामाजिक सद्भाव, सहकार्य र भेटघाटको अवसर पनि जुराउँछ । कोरोनाको कहरले चाँहेजस्तो हुन सकेन तै पनि पारिवारिक जमघटमा कुनै कमी भएन । परम्परागत तरिकाले विवाह गर्दा अपनाउने तौरतरिका बिर्सन थालिसकेछ । पछिल्लो पुस्तासमेत यो सांस्कृतिक परम्परागत प्रचलनप्रति अपडेट हुने मौका मिल्यो ।
अन्त्यमा, कोरोना कहरको दोस्रो चरणमा हामी नेपालीको जनजीवन झनैं कष्टकर बन्नेवाला छ । तर, हरेक परिस्थितीको सामाना गर्नुको हामीसँग कुनै विकल्प छैन । सचेत हुँदै आफ्ना दैनिकी चलाउनु पर्ने बाध्यता छँदैछ । कोरोनाको कहरसँगै मानवीय लापरबाही र खराब नियतका साथ आगलागी तथा डढेलोका घटनाहरू भैरहेका छन् । यसको नकरात्मक असरको लेखाजोखा हुन सकेको छैन । पर्यावरणीय असन्तुलन भई मानव जीवनमा ठूलो क्षति हुने सम्भावना देखिन्छ ।
विभिन्न विपत्को सामाना गर्न सकौँ, सुरक्षित होऔँैं । सबैमा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *