रोगभन्दा कोरोनाको समाचार घातक

लेख

कमलराज राई
अहिले आमसञ्चार माध्याम नै कोरोनाको समाचारले भरिएको देखिएको छ । कुनै पनि समाचार पत्र र अनलाइन समाचार पोर्टलहरु कोरोनाको समाचारले भरिँदा पनि समाचार बिक्ने क्रम जारी छ । हुन त पत्रकारिताको अध्ययनमा नकारात्मक समाचार हो भन्ने पनि नपढिएको होइन तर व्यवहारमा त्यस्तो होइन कि भन्ने अहिलेको यो कोरोना महामारीले देखाएको छ । कोरोना रोग एक गम्भीर रोग हो तर यसलाई जित्न पनि खासै गाह्रो छैन भन्ने कतिपय उदाहरणहरु समाचारपत्रहरुमा नै पढ्न पनि पाइन्छ । पत्रकारिताले सकारात्मक कुराहरुको सन्देश पनि बोक्न सक्नुपर्छ । पत्रकारिताले समाजमा सकरात्मक कम्पन ल्याउनुपर्छ भन्ने कुराबाट प्रेरित बन्नुपर्छ । तर, अहिले गलत कुरा लेख्दा मात्र पत्रकार भइन्छ भन्ने सोचाइबाट सबैलाई बाहिर निकाल्नुपर्ने अवस्था आएको छ । विभिन्न मनोविद्हरुसँगको कुराकानीमा जीवनमा सकरात्मक सोचाइ वा कम्पन पनि हरेक रोगसँग लड्ने आधा ऊर्जा हो । यो महामारीमा संक्रमितलाई आत्मबल मात्र दिने हो भने रोगसँग लड्ने क्षमताको विकास हुन्छ भन्ने कुरा खासगरी पत्रकार महोदयहरुले बुझ्नुपर्ने थियो । यस्तो संवेदनशील विषयलाई वास्ता नगर्नेहरु कसरी पत्रकार बन्न सक्छन् ? आज सबैभन्दा गम्भीर प्रश्न यहि बन्न थालेको छ ।
पत्रकार भन्नेबित्तिकै व्यक्तिको हुर्मत लिनैपर्नेजस्तो गरिएको देखिन्छ । पत्रकार भन्नेबित्तिकै प्रहरी, प्रशासन, अदालत सबै बनेर अघि बढेको देखिन्छ । अग्रपंक्तिमा रहेर समाचार सम्प्रेषण गर्ने काम मात्र पत्रकार हो तर त्यहाँ त्यसबारे फैसला नै गर्ने गरी समाचार सम्प्रेषण गर्दा यसले समाजमा पार्ने कुप्रभावका बारेमा सोच्ने कि नसोच्ने ? अहिले महामारीका बेला सबैभन्दा बढी नकारात्मक समाचार सम्प्रेषण गर्ने कार्यमा होड्बाजी चलिरहेको देखिन्छ । त्यसैले कोरोना भाइरसको बारेमा समाचार सम्प्रेषणमा अंकुश लगाउनुपर्ने बेला आएको छ । अहिले हरेक समाचारपत्रहरुले कोरोनाको भयवहका बारेमा समाचार लेखेर आमजनतालाई आतंकित बनाएको देखिन्छ । समाचार दिनु ठूलो कुरा होइन, बरु समाचारले समाजमा पार्ने प्रभावका बारेमा भने निक्कै ख्याल पु¥याउनुपर्ने देखिन्छ । अहिले कोरोनाभन्दा पनि समाचारले आतंक फैलाइरहेको छ । समाचारपत्र र अनलाइन समाचार पोर्टलहरु खोल्नेबित्तिकै पहिलो लहरमा कोरोनाले पु¥याएको क्षतिबारे मात्र समाचार आउन थालेको छ । अहिले नोबेल कोरोना भाइरसले भन्दा पनि समाचार भाइरसका कारण बिरामी आतंकित भएको देखिन्छ । कोरोना लाग्नेबित्तिकै यो संसार नै खस्छ भनेझैँ गरी आमसञ्चार माध्याममा समाचार आइरहेको छ । झन् नयाँ भेरियन्टको नोबल कोराना भाइरसको संक्रमणले अब सारा संसार नै लगिसक्यो भन्ने हिसाबले समाचार सम्प्रेषण भइरहेकाले यसलाई नियन्त्रण आवश्यक भइसकेको छ ।
पहिलो कोरोनाको संक्रमणको बेला प्रेस काउन्सिलले पनि समाचारलाई प्रमाणित गरेर मात्र समाचार सम्प्रेषण गर्ने भनेर भनेको थियो तर अहिले भने यस्तो परिपाटीलाई पच्छ्याएको देखिएको छैन । बरु, अहिले हरेक पत्रपत्रिकाबीच कस्ले बढी भयानक÷दर्दनाक समाचार दिने भनेर प्रतियोगिता चलेको देखिन्छ । कोरोनाले नेपालमा पनि भयावहको रूप लिन लागेको समाचार सही हो । यसबारे आएको समाचार कत्तिको सत्य छ कि छैन भनेर जाँच्ने कुनै माध्याम छैन । झन् अहिले सामाजिक सञ्जलमा आफूखुसी समाचार राखेर भाइरल हुने चलन चलेको छ । खासगरी सामाजिक सञ्जाललाई विश्वास गर्ने हो भने कोरोना लागेपछि त्यसबाट बाहिर निस्कने कुनै उपाय नै नभएकोझैँ गरी हल्ला चल्दा यसले झन् आतंक मच्चाइरहेको देखिन्छ । अहिले समाजमा दुई चीजको सबैभन्दा ठूलो आतंक छ । एउटा कोरोना र अर्को समाचार ।
हुन त समाचार भन्नेबित्तिकै हजारौँ संगीनभन्दा बलियो हुन्छ तर सबै जानकारीलाई समाचारका रुपमा प्रस्तुत हुँदा यसबाट उत्पन्न हुने कम्पनले भने समाजलाई नै चिचलित बनाइरहेको देखिन्छ । अहिले कोरोना जसरी तीव्रगतिमा संक्रमण फैलिरहेको छ, त्योभन्दा सैयौँ गुणा बढी छिटो दौडाउने काम सञ्चारमाध्यामले गरेको देखिन्छ । कोरोना यत्ति डरलाग्दो रोग भने होइन, यो रोग लागेपछि यसबाट बच्ने उपाय पनि छन् । त्योभन्दा पनि उत्तम उपाय भनेको चाहिँ भीडभाड नगर्ने हो । तर, यसलाई भन्दा पनि बढीभन्दा बढी नकरात्मक समाचार दिने काम भइरहेको छ । कोरोना लागिहालेमा यसबाट बच्न सकिन्छ तर अहिले कोरोना लागिहालेमा त्यसको अन्तिम सत्य नै मृत्यु हो भनेझैँ गरी समाचार आउँदा यो त भयानक भएको छ । यसका लागि सरकारले पनि अब कानुन बनाउनु पर्ने देखिन्छ । कोरोनाले भारतमा जति क्षति पु¥याएको छ, त्योभन्दा बढी क्षति कोरोना सम्बन्धि समाचाले पु¥याइरहेको छ । समाचारलाई नै मान्ने हो भने नेपालको कहिँ पनि खाली छैन, यत्तिसम्म कि अब यहाँ बाँकी केही छैन । यस्ता समाचारले नै समाजलाई आतंकित बनाएको छ ।
कोरोना एक साधारण रोग हो तर यसलाई वास्ता नगर्दा भने यसले ज्यान लिन सक्छ, तर यसलाई गम्भीर मानेर उपचार गर्ने हो भने यो रोग सामान्य हो । कोरोना लागिहालेमा यसबाट नआत्तिनका लागि समाचार दिइनुपथ्र्यो । तर, त्यसो गरिएन, बरु कोरोना लाग्नेबित्तिकै सबै कुरा नै सकिन्छ भनेझैँ गरी समाचार आउनु सबैभन्दा दुर्भाग्य हो । यसबारे सबैभन्दा पहिला सचेत हुनु आवश्यक छ, यो रोग लागेमा नआत्तिएर यसविरुद्ध लड्न सकिन्छ भनेर सकारात्मक समाचार बाहिर आउनुपर्नेमा त्यसो नभएर अहिले कोरोनालाई यमराजका रुपमा देखाउन थालिएको छ । यसबारे नेपाल पत्रकार महासंघ र खासगरी प्रेस काउन्सिल नेपालले ध्यान दिनु आवश्यक छ । सकारात्मक समाचार मात्र सम्प्रेषण गर्नका लागि महासंघ र काउन्सिलले उत्प्रेरित ग¥यो भने आमजनतामा आतंक मच्चिँदैन । कोरोनाबारे सकरात्मक समाचार मात्र बाहिर आयो भने यसबाट बच्नका लागि संक्रमितहरु आत्तिदैनन् । बरु यसबीचमा बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिनुपर्छ । यत्ति मात्र होइन, सेवानिवृत्त भएका चिकित्सकहरुलाई पनि सेवामा बोलाएर बिरामीको सेवामा लाग्नु निर्देशन दिनु आवश्यक छ । सरकारले कोरोनाबारे समाचारलाई एकद्वार प्रणालीबाट बाहिर ल्याउनुपर्छ । यत्ति मात्र होइन, नेपाल पत्रकार महासंघ र काउन्सिलले पनि समाचार सम्प्रेषणमा गम्भीर हुन सूचना जारी गर्नुपर्छ ।
कोरोनालाई जित्न सकिन्छ । तर, यसलाई महामारी बनाउने काम सञ्चारमाध्यामबाट भइरहेकाले यसबारे पत्रकारसँग सम्बन्धित संस्थाहरुबाट समाचारलाई नियन्त्रण गर्ने हो भने कोरोनाको आतंकमा कमी आउने देखिन्छ । सरकारले कोरोनाका समाचारलाई नकारात्मक तरिकाले ल्याउने हो भने यसबाट सबै संक्रमितहरु आत्तिएर मृत्युवरण गर्न बेर लाग्दैन । पत्रकार पनि यहि समाजको अंग भएकाले यस्तो आतंक फैलाउनु हुँदैन भनेर बुझ्नु जरुरी छ । सरकारले पत्रकारलाई जिम्मेवार बन्न अनुरोध गर्ने हो भने यसबाट पत्रकार पनि केही न केही जिम्मेवार बन्ने थिए । त्यसमाथि महासंघले सार्वजनिक रुपमा नै कोरोनाका बारेमा समाचार सम्प्रेषणमा गम्भीर हुन आग्रह गर्ने हो भने यसबाट निक्कै आतंकमा कमी आउने देखिन्छ । महामारीका बेला आमसञ्चार माध्यमले पनि समाजलाई संयमित बनाउनका लागि योगदान दिनुपर्छ । समाज रहे मात्र पत्रकारिता रहने हो जब समाज नै रहँदैन तव कस्का लागि पत्रकारिता गर्ने ? आज नै सबै पक्ष गम्भीर हुने हो भने यस्तो महामारीसँग जुध्न सकिन्छ तर यसका लागि हरेक नागरिकले आ–आफ्नो तह र तप्काबाट भूमिका खेल्नुपर्छ । कोही पनि भीडभाडमा नजाने, भीडभाड नगर्ने हो भने कोरोनाबाट बच्न र बचाउन सकिन्छ । आफू मात्र संक्रमित छुइनँ बाँकी सबै संक्रमित हुन् भनेर सोच्ने हो भने कोरोना संक्रमणमा कमी हुने देखिन्छ । यसका साथै हरेक सञ्चार गृहले समाचार सम्प्रेषण गर्दा सजग हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *