नेकपा फुटाउनेलाई आयोगको जिम्मा

प्रमुख प्रशासन लोकसेवा

काठमाडौं । गुन तिर्ने र अ‍ैचो पैचोको मामलामा कामचलाउ प्रधानमन्त्री केपी ओली साह्रै अगाडि । जस्तो अस्ति आइतबारकै घटनाक्रम हेरौं न । भोलिपल्ट संसदको विशेष अधिवेशन डाकिएको छ । त्यसकै अघिल्लो दिन भटाभट प्रधानमन्त्री ओलीलाई गुन लगाउन २० जनालाई संवैधानिक निकायमा नियुक्ति दिन भ्याए । जसमध्ये विगतमा लोकसेवा आयोगको सचिव हुँदा लोकसेवाको उनको कार्यकालमा त्यहाँभित्रको गोप्य शाखालाई भताभुंग पार्ने र आर्थिक मामिलामा बद्नामी कमाएका व्यक्तिलाई टपक्क टिपेर प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको अध्यक्षमा नियुक्ति दिए । तामाकोशी सन्देशले गत चैत्रको अंकमा लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी नियुक्ति हुँदै छन् भन्ने खबर प्रकाशन गरेको थियो ।
सो समाचारलाई पृष्टि गर्दै आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरिएको हो । कांग्रेसी पृष्ठभूमिका रेग्मीलाई प्रधानमन्त्री ओलीले बोक्नुपर्ने कारण अरु केही थिएन् उनका भाइ हुन कुमार रेग्मी, जो सर्वाेच्चका न्यायधीश हुन् । ऋृषि कट्टेल जब अदालतमा नेकपा नाम जुध्यो भन्दै न्याय खोज्न गएका थिए उनै कुमारले नेकपा पार्टी नै खारेज गरी पूर्वएमाले र पूर्वमाओवादी पूर्ववत अबस्थामा फर्कनु भन्ने आदेश दिएका थिए । जुन प्रधानमन्त्री ओलीकै चाहना मुताविकको आदेश थियो । यसरी नेकपा फुटाएर पूर्व माओवादी र पूर्व एमाले व्युताए वापत कुनै समय खोटाङको दुबेकोट हुँदै झापा झरेर अहिले काठमाडौंको अनामनगरमा बसोबास गर्दै आएका रेग्मीले लाभको पद पड्काए । स्मरण रहोस उनी स्थानीय विकासमा हुँदा कर्मचारी युनियका नेता बाट धापड भेटेका व्यक्ति हुन् । गृहका क्याडर । जिल्ला प्रशासन कार्यालयहरुबाट आर्थिक चलखेल गरेपछि उनी गृहमा टिक्न सकेनन्, रक्षा सचिव हुँदासमेत सेनासँग मोलमोलाईमा लागेर बदनाम,लोकसेवा सचिव भए गोप्य शाखालाई ‘भन्सार’ बनाएको आरोप उनीमाथि लाग्दै आएको थियो । त्यस्ता बदनाम पात्रलाई प्रम ओलीले टपक्क टिपेर लोकसेवा आयोगमा लगेसँगै लोकसेवा आयोगका गरिमा समेत नरहने चिन्ता प्रकट हुन थालेको छ ।
उसो त उनलाई मात्र होइन्,प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यलयका सचिव डा हरि पौडेललाई पनि गुन तिर्नुभएको छ । अस्तिको संवैद्यानिक परिषद्को बैठकले डा पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिस गरिएको छ । उहाँको गुन थियो संसदको विशेष अधिवेशनको माग गर्दै समावेदन दर्ता गर्न एमाले उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रकी नेतृ पम्फा भुषालहरु राष्ट्रपति कार्यालयमा पुग्दा पिसाब लाग्यो भन्दै मोबाइलको स्वीच अफ गरेर समावेदन पत्रको प्रतिलिपी नै वालुवाटारमा पुर्याइदिनु । समावेदन दर्ता नगर्नु । यस्तो गुन लगाइदिए वापत उहाँलाई पनि लाभको पद मिलेको छ ।
अर्काे लाभको पद भेटे माधव बेल्बासेले । बेल्बासे प्राविधिक सचिव । विना मगर मन्त्री हुँदा उनलाई काउन्टर दिनका लागि त्यहाँ पठाइएको । मेलम्ची परियोजनाको सफलतामा जोडेर उनी अवकाश पाउनु महिना दिन अगावै लोकसेवा आयोगको सदस्य पड्काउन सफल भए ।
उसो त यसरी अवकाश हुनु अगावै राजनीतिक नियुक्ति पाउनु कुनै नौलो कुरा चाहिँ रहेन् । पछिल्लो समय संवैद्यानिक निकायहरु बृद्धाश्रमजस्तै बनेका छन् । अवकाश प्राप्त कर्मचारीहरुलाई थन्काउने थलोमा परिणत भएका छन् ती निकायहरु । गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले अवकाश पाएको भोलिपल्टै त्यहाँस्थित लोकसेवा आयोगको अध्यक्षमा नियुक्ति पाए ।
उसैगरी स्टाफ कलेजको प्रमुखका रुपमा अवकाशप्राप्त सचिव राजन खनाललाई जिम्मेबारी दिइयो । लोकसेवा आयोग हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा पुगेका आनन्दराज ढकाल पनि उसैगरी अवकाश पछि स्टाफ कलेजमा जागिर खान पुगेका छन् ।
गृहसचिवबाट अवकास पाएका प्रेम कुमार राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कमाण्ड गरिरहेका छन् । जागिर अवधि बाँकी रहँदै त्यहाँ राष्ट्रपतिको कार्यलयबाट डा. हरि पौडेलले नियुक्ति भेटिसकेका छन् । राष्ट्र बैंकबाट अवकास पाएका डा युवराज खतिवडा,मन्त्री हुँदै अहिले अमेरिकाको राजदुत बनेका छ । यो खतिवडाको आठौं राजनीतिक नियुक्ति हो । अवकाशको मुखमा रहेका मुख्य सचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाई बेलायतको राजदुत नियुक्ती पाएका छन् । जागिरे जीवनभर प्रधानमन्त्री र मन्त्रीका एसम्यान भएर काम गरेका कर्मचारीहरुलाई पटक पटक काखि च्यापेर राजनीतिक नियुक्ति दिँदाको परिणाम हेर्न पर टाढा गइरहनै पर्दैन् ।
अहिले पनि हेर्नै हो भने अधिकांश संवैद्यानिक निकाय तथा नियोगहरुमा सेवाबाट निवृत्त भएका कर्मचारीहरुले गरिरहेका छन् । अक्सरलाई छाडेर जस्ले जागिरे जीवनमा जागिर खाने बाहेक खासै केही देन दिन सकेका छैनन् । त्यस्ता प्रशासकलाई टपक्क टिपेर फेरि संवैद्यानिक निकायको कमाण्डर बनाएर पठाउँदा परिणाम कस्तो आउला ?जस्तो केही अघि कर्मचारी समायोजनको क्रममा गोलमाल गर्ने दिनेश थपलियाले उमेर हदका कारण अवकाश पाउनु साता दिन अघिमात्र राजीनामा दिन लगाई टपक्क टिपेर निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्यो ।पूर्व प्रशासक नविन घिमिरेलाई टिपेर अख्तियारको प्रमुख बनाइएको थियो । उनको कार्यकालमा एक हजार घुस खानेलाई मर्न बाध्य बनाए । अर्बौ भ्रष्टाचार गर्नेका फाइलहरु तामेलीमा राखिदिए ।यस अघि लोकसेवा आयोग अध्यक्ष उमेश मैनाली पनि पूर्व प्रशासक हुन् । टंकमणि शर्मा पूर्व प्रशासक नै हुन् उनी महालेखापरिक्षक । मुख्यसचिवबाट अवकाश पाएका लीलामणी पौडेललाई चीनको राजदुत बनाइएकोमा उनलाई फिर्ता बोलाएर त्यहाँ पूर्वमन्त्री महेन्द्र पाण्डेलाई पठाइएको छ ।
पूर्वअर्थ सचिव कृष्णहरि बास्कोटाले अर्थ सचिवबाट अवकाश पाए लगतै प्रशासन सुधार आयोग हुँदै राष्ट्रिय सूचना आयोगतिर पठाइयो । रामचन्द्र पौडेलका सम्धी पूर्व सचिव युवराज भुषालले जागिरे जीवनबाट अवकाश पाए लगतै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण सम्हाल्ने मौका पाए ।यस्ता अवसर पाउनेहरुमा बालानन्द शर्मा,लवदेव अवस्थि,शान्तराज सुवेदी,पुष्पराज कँडेल,माधव पौडेलसम्म पूर्व प्रशासकहरु हुन् । यस्तै नेपाल राष्ट्र बैंकको गभर्नरको जिम्मेवारी पाएका महाप्रसाद अधिकारी पनि नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् । अर्को नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पनि पूर्वकर्मचारी नै हुन् ।यसरी हेर्दा पछिल्लो दिनमा संवैद्यानिक आयोगहरु वृद्धाश्रममा रुपान्तरण हुँदै गएको चिन्ता पोख्छन् पूर्व प्रशासकहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *