ओलीको मामिलामा जसपा विभिाजनको संघारमा

राजनीति समाचार

काठमाडौं– प्रतिनिधिसभामा चौँथो ठूलो दलको हैसियतमा रहेको जनता समाजवादी पार्टी (जसपा) अहिले मुलुकमा भएको राजनीतिक उथलपुथलमा पक्ष विपक्षको भूमिकामा सक्रिय हुन थालेको छ । यो भूमिका यसैगरी अगाडि बढ्दै गए जसपा विभाजित भएर पुरानै अवस्था राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीमा रूपान्तरण हुने खतरा उत्पन्न हुन थालेको छ ।
वर्तमान स्थितिमा प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने कि विपक्षलाई समर्थन गर्ने भन्ने चर्को विवाद अहिले जसपामा उत्पन्न भइराखेको छ । तत्कालीन राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो आफ्ना मागहरूलाई सम्बोधन गराउँदै यही सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा छन् । तर, तत्कालीन संघीय समाजवादी पार्टीका शीर्ष नेताहरू उपेन्द्र यादव र डा.बाबुराम भट्टराई भने यो सरकारलाई तत्काल हटाउनु पर्ने पक्षमा रहेका छन् । यो विवादको निकास आउन नसकेपछि गत बिहीबार प्रधानमन्त्री ओलीले सदनबाट विश्वासको मत लिने प्रस्तावलाई अगाडि बढाउने क्रममा अध्यक्ष ठाकुरले आफ्ना पक्षका सांसदहरूलाई अपहरण गर्ने आशंका गरेर भक्तपुरको डोलेश्वर रिसोर्टमा राखेका थिए । पार्टीका सांसदहरूलाई कब्जा गरेर रिसोर्टमा राखिएको र यो काममा एमालेका सांसद महेश बस्नेतले प्रमुख भूमिका निर्वाह गरेको भनेर यादव पक्षले कडा आपत्ति जनाएको थियो । पार्टीभित्र यसरी विवाद चर्किरहँदा यादवले आफ्नो शक्ति प्रदर्शन गर्दै गत शनिबार आफू निकटका केन्द्रीय सदस्य र केन्द्रीय कार्यकारी परिषदका सदस्यहरूको भेला बोलाएका थिए । यादवले आफ्नो शक्ति प्रदर्शन गर्न यो भेला बोलाएको भोलिपल्ट नै गत आइतबार अध्यक्ष ठाकुरले पनि आफू निकटका २० सांसदको भेला बोलाएर राजेन्द्र महतोलाई पार्टीको संसदीय दलको नेता चयन गरेका थिए । दुवै पक्षले शक्ति प्रदर्शन गर्न यसरी बोलाएको भेलापछि अर्को पक्षले विधानविपरीतको अधिनायकवादी काम भनेर चर्को आलोचना गरेको छ । उपेन्द्र यादव पक्षले आफ्नो पार्टीका संसदको भेलामा एमालेका संसद महेश बस्नेतको उपस्थिति पछि घोर आपत्ति प्रकट गरेका छन् भने महन्थ ठाकुर पक्षले मध्यरातमा अध्यक्ष डा.भट्टराईले प्रधानमन्त्री ओलीसँग उनकै सरकारी निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेको घटनाप्रति आपत्ति प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले एक महिनाभित्र लिनु पर्ने विश्वासको मतको प्रक्रिया संसदबाट तत्काल अगाडि बढाए अहिले उत्पन्न भएको जसपाको विवाद प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने कि ? विरोध गर्ने भन्ने मुद्दामा नै विभाजित हुने खतरा बढेर गएको छ । र पार्टीभित्र उत्पन्न भएको यो विवादलाई समाधान गर्नेतिर अहिलेसम्म कुनै पहल भएको छैन । अहिले प्रधानमन्त्री ओलीको मामिलामा जसपामा विवाद चर्र्किएको भए पनि भारतलाई हेर्ने दृष्टिकोणसमेत फरक भएको कारणले गर्दा मधेशको शक्ति मानिएको यो पार्टी विभाजित हुने खतरा बढेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *