एमाले चोइटिने, जसपा दुई चिरा

राजनीति

काठमाडौं– मुलुकमा विकास भएको राजनीतिक घटनाक्रमले सत्तारुढ दल नेकपा एमाले चोइटिने अन्तिम अवस्थामा पुगेको छ । यसैगरी संसदमा चौथो ठूलो दलको रूपमा स्थापित हुनपुगेको जनता समाजवादी पार्टी पनि विभाजनको अन्तिम संघारमा रहेको छ । पार्टी नीति र अडानविपरीत गतिविधि सञ्चालन गर्दै आएको र त्यस सम्बन्धमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै गत सोमबार बसेको एमालेको स्थायी समितिको बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । आफ्नो पार्टीका अध्यक्ष केपी ओलीलाई विस्थापित गरेर प्रतिद्वन्द्वी पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मोर्चाबन्दी गरेपछि एमालेले नेपाल, खनाललगायतका ११ जना नेतालाई पार्टीबाट निष्काशन गरेको हो ।
यसैगरी नेकपा एमालेको स्थायीय समितिको बैठकले पार्टी विपरितको गतिविधि गरेको भनेर अन्य १२ जना नेतालाई पनि २४ घन्टे स्पष्टीकरण सोधिएको छ । नेता नेपाल, खनाललगायतका अन्य नेताहरूले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरूमाथि पार्टीले निष्काशनको डण्डा चलाएको हो । र एमालेले निष्काशन गरेका नेपाललगायतका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी एकीकृतको नाममा अर्को पार्टी गठन गर्ने गृहकार्यलाई अन्तिम रूप दिएका छन् ।
यसैगरी आफ्नो पार्टीसँगै मधेसका जनताले उठाउँदै आएको मागलाई सम्बोधन गरेको भन्ने निष्कर्ष निकालेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष वर्तमान सरकारमा सामेल हुने गृहकार्य गरिरहँदा जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले भने केन्द्रीय कार्यकारिणी समितिमार्फत् वर्तमान सरकारमा सामेल हुने आफ्ना पार्टीका नेताहरूलाई स्वतः निष्काशन गर्ने निर्णय गरेको छ । उता महन्थ ठाकुरको नेतृत्वमा रहेको जसपाको संस्थापना पक्षले पार्टी हित र निर्देशन भएको भन्दै अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलगायतका नेताहरूसँग स्पष्टीकरण मागेको छ । बहुमतको सरकार गठन गर्ने अभ्यासमा राजनीतिक दलहरू प्रवेश गरेको अवस्थामा महन्थ ठाकुरको अध्यक्षतामा बसेको जसपाको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर, उपेन्द्र यादव र डा.भट्टराई पक्षले राष्ट्रिय कार्यकारीणीको बैठक बोलाएर प्रधानमन्त्रीको मामिलामा कांग्रेस सभापति देउवालाई समर्थन गर्ने निर्णय गरेको थियो । केन्द्रीय कार्यसमितिमा बहुमत नपुगेपछि उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षले राष्ट्रिय संघीय परिषद्को बैठक बोलाएर प्रधानमन्त्रीको मामिलामा ओलीलाई होइन, देउवालाई समर्थन गर्ने निर्णय गरेर पार्टी संस्थापन पक्षलाई चुनौती दिने काम गरेका छन् । यसरी सत्तालाई लिएर उत्पन्न भएको विवादले अहिले सरकारको नेतृत्व गरिराखेको एमाले चोइटिने र प्रतिपक्षमा रहेको जसपा विभाजित हुने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *