काठमाडौं । ‘मिलाएर खाउ, ज्यान बनाउ’यस्तै धन्दामा लिप्त छन् अहिले गृहमन्त्री बालकृष्ण खाँण, गृहसचिव टेकनारायण पाण्डेहरू । अहिले सबैभन्दा बढी विकृति कतै छ भने त्यो हो गृहको कर्मचारी परिचालनमा । खाँण मन्त्री बने यताका सात महिनामा २१ पटक प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको हेरफेर गर्न भ्याएका छन्, तर कर्मचारी अर्थात् सिडिओ परिचालन गर्दा न कानुनमा स्नातक हेरिएको छ, न तालिम नै लिएकालाई पठाइएको छ । भद्रगोल कतिसम्म भने जिल्लामा खटिएका सिडिओ उपसचिव तहका अन्य निकायका हाकिम सहसचिव तहका । यसरी आफूभन्दा कनिष्ठ कर्मचारीले माथिल्ला तहका कर्मचारीलाई निर्देशन कसरी दिनसक्छ ? अनि उसले दिएकै निर्देशन माथिको कर्मचारीले किन टेर्छ ?
अहिले गृहको कर्मचारी प्रशासनमा बस्ने, गृहमन्त्रीका सल्लाहकारहरूले सिडिओ बनाएर खटाउँदा जागिर खाऊ, पैसा कमाऊ, हामीलाई पनि बुझाऊ भन्नेबाहेक अरु केही नियत नराखेको गृहकै कर्मचारीहरू आरोप लगाउँछन् । त्यसमाथि कप्रका हाकिम हुँदा पत्नीलाई सहायक सिडिओ बनाउन भ्याएका सुनिल खनालले रातारात भाइलाई पनि सिडिओ बनाएर पठाइदिएका छन् । दशैंको मुखमा गुपचुप उनले पत्नीलाई काठमाडौंको सहायक सिडिओ बनाएर पठाएका थिए । कांग्रेसी पृष्ठभूमिकी सुप्रभा खनाललाई रातारात ऊर्जाबाट गृहमा तानेर काठमाडांैंको सहायक सिडिओ बनाए । पत्नीलाई सहायक सिडिओ बनाएर पठाएको अर्काे हप्ता ५८ वर्षे उमेर हद लागेर घर गए । तिनै खनाल गृहमन्त्री खाँणको अहिले सुरक्षा सल्लाहकार छन् । मुलुकमा एमसिसीको बहसले तीव्र रूप लिइरहेको समयमा सबैको ध्यान उतैतिर भएको मौका पारेर भाइ अस्ति शुक्रबार अनिललाई सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी बनाएर पठाउन भ्याएका छन् । त्यहाँका प्रमुख जिल्ला अधिकारी रहेका गणेशविक्रम शाहीलाई १३ महिनापछि गृहमा तानेर त्यहाँ आफ्नो भाइलाई पठाइएको हो । उता ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीमा महेश पोखरेललाई पठाइएको छ । पोखरेल नाताले गृहका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलका नातेदार हुन् । उनी यसअघि सुनसरीका सहायक सिडिओ चलाइसकेका व्यक्ति हुन् । अहिले सबैभन्दा बढी बेथिति र भद्रगोल नै गृहका कर्मचारी सरुवामा देखिन थालेका त्यहाँका कर्मचारीहरू सुनाउँछन् ।