अब संझनामा मात्र पशुपति दाई

लेख

यो निषेधाज्ञाको समयमा केही लेख्न जाँगर नैं लागेन । कम्प्यूटर खोल्न मन लाग्दैन । खोली हाले पनि अक्षर पार्न सकिरहेको नैं छैन । गत साल भएको लकडाउनका बेलामा धेरै लेख तथा संस्मरणहरु लेखेको थिएँ । धेरै अनलाईन तथा पत्रिकाहरुमा प्रकाशन समेत भए । तर यो वर्ष जाँगर लागेको छैन । अझ आदरणीय दाई पशुपती दाइको आकस्मीक निधन पछि त झन छटपटी भयो । त्यस पछि अरु आफन्तलाई पनि कोरोनाले चुँडेर लग्यो । विरामी परे । आइसियूमा राख्नु पर्ने वाध्यता भयो । आफु वाहिर निस्कन आँट आएन । आफन्तको अन्तीम विदाइमा पनि भौतिक उपस्थीत हुन सकिन । यो भन्दा कठिन घडी सायदै हुन्छ होला । मोवाइल फोनवाट सम्पर्क गर्ने भन्दा काम केही भएन । मन भरी पिर वोकेर कोठामा वस्नुको विकल्प भएन । यो पिरले केही थेग्ने होइन भन्ने थाहा छ तैपनि औडाहा र छटपटि मात्र भयो ।
पशुपति दाईको भौतिक शरिर हामी विच नभएको १३ दिन पुगे पछि दाइसँगका मेरो केही सन्दर्भहरुका वारेमा लेख्नु प¥यो भनी जवरजस्ती अक्षर पार्न खोजिरहेको छु । तैपनी ल्यापटपको सेतो पर्दामा अक्षर राम्रोसँग परिरहेको छैन ।
दाईसँग पहिलो भेट कहिले भयो । त्यो याद छैन । याद भए पनि त्यसको कुनै महत्व देखिदैन । म कुनै ठुलो मान्छे होइन । म जस्ताले दाइसँगको पहिलो भेटले कुनै अर्थ लाग्दैन । जिल्लावासी भएकोले उहाँ ठुलो नेता हुनु भएकोले त्यही सन्दर्भमा भेट भयो होला ।
पशुपती दाईका राजनीतिक तथा सामाजीक जीवनको चर्चा गर्ने म लायक पात्र पनि हुँदै होइन । दाईको निधन पछि उहाँका समकालिन व्यक्तित्वहरुले लेखेको अनी फेसवुक र अनलाइन तिर पोष्ट्याएको सामाग्री पढ्दा धेरै कुरा थाहा पाउने मौका मिल्यो । ती मध्ये मेरालागि धेरै नौला थिए । मेरो यो “नौलो” भन्ने शव्दावलीले नैं पशुपती दाईको वारेमा मेरो वुझाइ कति सतही रहेछ भन्ने कुराको पुष्टि गर्दछ । त्यसैले दाईको व्यक्तित्वको वारेमा लेख्न सक्ने हैसियत मसँग छैन । म लेख्न सक्दिन । यो मामलामा म साह्ै फुच्चे हुँ । तर यती लेख्न चाँही मन लाग्यो नैं, उहाँ सवैसँग समदूरी र नजिकै छु भन्ने भावना विकास गर्न सक्नु हुँदो रहेछ । उहाँ विते पछि विभिन्न महानुभावहरुको पोष्टमा पशुपति दाईसँगको इ संवाद हेरेर थाहा भयो । मसँग पनि नियमित मेसेन्जरवाट जानकारी लिने दिने गरिहनु भएको थियो । मैले मानेको थिएँ कि यो मलाई मात्र वा केहीसँग मात्र होला भन्ने लागेको थियो । हैन रहेछ, धेरैसँग त्यो व्यवहार गरिरहनु भएको रहेछ । अहिले मलाई अचम्म लागिरहेको छ कसरी संभव गर्नु भएको होला ।
कृषिसँग सम्वन्धीत नौलो भिडियो वा अन्य सामाग्री भएमा मलाई मेसेन्जरमा पठाइरहनु हुन्थ्यो । अनी मैले लेखेका लेखहरु खास गरी कृषि र व्यवसायसँग सम्वन्धीत पढेर कमेन्ट गर्ने सायद उहाँ जतीको उच्चस्तरको नेता कोही पनि छैन ।
पशुपति दाइ र मेरो सम्वन्ध जोडीएका विषयमा मात्र केही लेख्ने कोशिस गर्दैछु । यो पनि लेख्ने मेरो हैसियत हो कि होइन । दुविधामा नैं छु ।
म ३ वटा अभियानमा केही न केही रुपमा क्रियाशिल छु । वन, सहकारी र कृषि । यी अभियानहरुमा नैं पशुपति दाईसँग केही सम्वन्ध विकास भएका थिए । व्यक्तिगत सम्वन्ध त धेरै लामो छ तर मेरो संलग्नता रहेको अभियानको सिलसिलामा पशुपति दाईसँगको सहकार्यको विषयमा मात्र चर्चा गर्न खोजेको हुँ ।
कुरो २०६५ साल तिरको हो । वन अभियानको सन्दर्भमा पशुपति दाइ र मेरो पहिलो भेटघाटको पहिलो क्षण सुखद भएन । नराम्रोसँग गाली गर्नु भएको थियो । तर पछि उहाँले हामीले उठाएको सवालमा सुखद योगदान दिनु भयो । त्यो एक दिनको पनि ३ घण्टा जतीको समय एक चलचित्रका दृश्य झैं अहिले पनि दिमाखमा घुमि रहन्छ ।
म त्यती वेलामा कफ्सन नेपालको अध्यक्ष थिएँ । दाईले पहिलो संविधान सभाको निर्वाचनमा पराजयको सामाना गर्नु भएको थियो । त्यो निर्वाचनमा दोलखा दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार पराजित हुनु भएको थियो तथापी हामीलाई नेताहरु उहाँहरु नैं हो जस्तो लाग्दथ्यो । त्यो वेलामा दोलखाका १४ गाविस समेत रामेछाप र सिन्धुपाल्चोक जिल्लाको केही भुभाग समेत समेटेर गौरीशंकर संरक्षण क्षेत्र घोषणा भएको थियो । सो संरक्षण क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा २० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय भएको थियो ।
अहिले मेरो दिमाखमा याद भएसम्म, गौरीशंकर संरक्षण क्षेत्रमा जनअधिकार रक्षाको लागि भनि गणेश कार्की संयोजक, म सचिव समेत भैं एक केन्द्रीय स्तरको संघर्ष समिति गठन भएको थियो । जिल्ला स्तरमा पनि संघर्ष समिति गठन भैं अभियान चलाइरहेका थियौं । संरक्षण क्षेत्र सञ्चालनको कानूनका आधारमा सामुदायिक भूमिका कुनै देखिदैन त्यसैले जनअधिकार विहिन संरक्षण क्षेत्र आवश्यक छैन भन्ने हाम्रो धारणा थियो । त्यो वेलामा मुलुकको प्रधानमन्त्री माधव कुमार नेपाल हुनुहुन्थ्यो । जिल्ला जिल्लावाट हामी सामुदायिक वनका पक्षधरहरुले विरोध गरेका थियौं । केहीवाट भने समर्थन पनि भैरहेको थियो । यसै विचमा प्रधानमन्त्रीले संरक्षण क्षेत्रको कार्यालय लादुकमा उद्घाटन गर्ने कार्यक्रम भएको जानकारी भयो । अनी हामीहरुले उद्घाटन गर्ने भनिएको दिनमा उपभोक्ताहरुको तर्फवाट जिल्ला वन्द गर्ने निर्णय र कालो झण्डा प्रदर्शन गर्ने समेत निर्णय भएको थियो ।
सामुदायिक वनको तर्फवाट जिल्ला वन्द गर्ने घोषणा गरेपछि राजनीतिक रुपमा जिल्लाको नेताहरुले चासो लिनु भयो । हामीलाई पनि यो सवाल सुल्झाउनु नैं थियो । हामीले छलफललाई तिव्र वनायौं । गणेश कार्की लगायत यस सवालमा जोडिएका फेकोफनका केन्द्रीय नेता उहाँहरुको चितवनमा वैठक भएकोले त्यता जानु भएको थियो । मेरो जिम्मेवारी संरक्षण क्षेत्रको कार्यालय उद्घाटन गर्ने कार्यक्रम रोक्नका लागी पहल गर्नु पर्ने थियो ।
वानेश्वरको एक रेष्टुरेन्टमा चिया खाँदै पशुपति दाई, आनन्द दाई र लालकुमार दाईसँग छलफल भयो । मैले संरक्षण क्षेत्रले पार्ने असरका वारेमा चर्चा गरें । केही वेर छलफल भयो । अनी मैले हामीले गरेको आन्दोलनको वारेमा पनि केही वताएँ । संरक्षण क्षेत्रका वारेमा मैले राखेको तर्कमा उहाँ असहमत भएको जस्तो लागेन । मैले आग्रह गरें, अहिले प्रधान कार्यालय उद्घाटन गर्ने काम रोक्न पहल गर्न आग्रह गरें ।
प्रधानमन्त्रीलाई भेट्ने समय उहाँले नैं मिलाउनु भयो । प्रधानमन्त्री वल्खु पार्टी कार्यालयमा नैं भेट हुने भएकोले हामी त्यता लाग्यौं । एक गाडीमा हामी गयौं । पशुपति दाई अगाडी हुनुहुन्थ्यो । अरु हामी ३ जना पछाडी थियौं । म खुसी थिएँ । प्रधान कार्यालय उद्घाटन रोकिने भयो भनेर । नयाँ वानेश्वरवाट बवरमहल पुगेका मात्र थियौं । पशुपति दाई एक्कासी मलाई हप्काउनु थाल्नु भयो । संघर्ष समिति वनाउने संयोजक र सचिव वन्ने ? माधव नेपाललाई कालो झण्डा देखाउने ? तपाइहरु को हो ? यो निर्णय गर्नु अघि कोसँग सल्लाह गर्नु भयो ? लु गर्नुस जे मन लाग्छ त्यही । भनी एकोहोरो गाली गर्नु भयो । म चुप लागेर वस्नुको कुनै विकल्प थिएन । त्यो वेलामा नेकपा एमालेको सामुदायिक वन फ्रयाक्सन कमिटि थियो । सो कमिटिको सचिव आनन्द पोखरेल दाई हुनुहुन्थ्यो । म पनि सदस्य थिएँ । त्यो कमिटीसँग संस्थागत सल्लाह भएको थिएन । दाईले भनेको कुरो एकहदसम्म सहि थियो ।
दाईले जती गाली गरे पनि म चुप लागि वसें । प्रधानमन्त्रीसँग भेट्न जादैथियौं । पशुपती दाईको मनमा हाम्रो आन्दोलन पनि समर्थन भए पनि हाम्रो प्रकृया प्रति तिव्र असन्तुष्टि थियो । अनी हाम्रा वनका केही नेताले अरु मान्छे मार्फत हामी रोकाइदिन्छौं भनेर फुर्ति पनि लगाइदिएछन् । उनीहरुको रिस ममाथि पोखिरहनु भएको थियो जस्तो लाग्छ मलाई ।
मदननगर वल्खु पुग्यौं । एक्कैक्षणमा पार्टी कार्यालयको पश्चिम तर्फको चौरमा प्रधानमन्त्री आउनु भयो । हामी त्यही पुग्यौं । पशुपति दाईले समय मिलाउनु भएकोले धेरै समय पर्खनु भएन । प्रधानमन्त्रीसँग उहाँहरु सवैको चिनजान थियो । मलाई सामुदायिक वन अभियानमा लागेको पनि पशुपतिदाईले मलाई परिचय गराइदिनु भयो । अनी उहाँले नैं सवालको सामान्य व्रिफिङ्ग गरेर प्रधान कार्यालय उद्घाटन गर्ने कार्यक्रम चाँही अहिले नगरौं । पछि गरौला भन्नु भयो । प्रधानमन्त्रीले तपाइहरु त्यसो भन्नु हुन्छ भने ठिकै छ नी भन्नु भयो । मैले केही वोलिन । वाटोमा पशुपति दाइको गालीले मेरो सातो गएको थियो । अर्को कुरा त उद्घाटन रोक्नु थियो । त्यो हुने भएपछि म खुसी भैहालें । त्यसपछि हामी फर्केर अनामनगर आई खाना खाएर छुटेका थियौं । खाना खाने बेलामा उहाँले मलाई विस्तारै संझाउनु भयो । पैरवी गर्ने तरिका वारे झक्झक्याउनु भयो ।
२०५६ सालमा पहिलो पटक सांसद हुँदा वन अभियानका वारेमा सञ्चालन गरेको अभियानमा उहाँको संलग्नताको वारेमा चर्चा गर्नु भयो । वनका वारेमा हामी राजनीति गर्नेले सवै कुरा वुझेका हुँदैनौं । तपाईहरु यसैमा लामो समय लाग्नु भएकोले हामीलाई वुझाउने काम पनि तपाइहरुकै हो भनी संझाउनु भयो । अहिले पनि त्यो शव्द मेरो दिमाखमा घुमिरहेको छ । पक्कै पनि राजनीतिज्ञले सवै विषयमा पोख्त हुने होइन तर सम्वन्धीत विषयमा विसौं वर्ष लागेका मान्छेलार्इृ त्यस विषयको अन्तरकुन्तर थाहा हुन्छ । त्यो कुरा राजनीतिज्ञलाई जानकारी गराउने काम सम्वन्धीत विषयका अभियन्ताहरुको नै .हो । यो काम एक पटक गरेर हुँदैन भन्दै उहाँले फेकोफनका संस्थापक अध्यक्ष हरि न्यौपानेले खेलेको भूमिका चर्चा गर्नु भयो । क्रमसः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *