युट्युबर र पत्रकारिता छुट्टयाउन आवश्यक

लेख

कमलराज राई
हरेक नागरिक बिनाबर्दीको प्रहरी हुन् भनेर भनिन्छ तर, प्रहरी प्रशासन नै बन्न चाहिँ बर्दीसहितको प्रहरी नै बन्नुपर्छ । अहिले बजारमा जो कोहीले पनि आफू सञ्चारकर्मी हो भनेर भनिरहेको सुनिन्छ । तर, सञ्चारकर्मी हुनका लागि पेसागत रुपमा नै कानुनले निर्दिष्ट गरेको अवस्था पालना गरेर आउनुपर्ने हुन्छ । अन्यथा त सञ्चारकर्मी भन्ने शब्दको के नै अर्थ रहला र ? यसै क्रममा पछिल्लो समय युट्युबरहरुले पत्रकारिताको नाममा निक्कै विकृति ल्याउन थालेका छन् । पत्रकारको आवरणमा उनीहरु कोही कसैको घरायसी विवादमा गएर न्यायाधीशको काम गर्दा लाजमर्दो अवस्था सिर्जना भएको छ । पत्रकारिताको नाममा कार्यपालिका र न्यायाधीशको काम गर्दा पूरै पत्रकारिताको मर्ममाथि नै प्रहार भएको छ । कोही कसैको व्यक्तिगत कुरामा हस्ताक्षेप गरेर अघि बढ्नु उसको वैयक्तिक स्वतन्त्रतामाथि प्रहार गरेको ठहर्छ । भन्दाभन्दै अहिले समाजको सबैभन्दा कमजोरलाई युट्युबमा ल्याएर दर्शक कमाउने काम हुँदा पनि राज्य निरिह बन्नु दुःखलाग्दो कुरा हो । झन् पछिल्लो समय त समाजमा रहेको गलत कुरा बेचेर कमाउने थलोको रुपमा युट्युबलाई लिइँदा यसको असर आमजनमानसमा परिरहेको छ । युट्युबरहरु सञ्चारकर्मी हुँदै होइनन् । सञ्चारकर्मी हुनका लागि पालना गर्नुपर्ने विभिन्न सर्तहरु पालना गर्नुपर्छ तर युट्युबरहरुले पत्रकारिताको आधारभूत कुरा पनि पूरा गर्न नसके पनि उनहरुले आफूलाई पत्रकारका रुपमा चित्रण गर्दा वास्तविक पत्रकारहरु मारमा परेका छन् ।
भन्दाभन्दै अहिले राउटे युवतीमाथि युट्युबरहरुको आँखा परेको छ । उनीहरुको हाउभाउलाई बेच्ने मनसायका कारण अहिले युट्युबमा होड्बाजी चलेको छ । राउटे भन्नेबित्तिकै आममानिससँग व्यवहार गर्न रुचाउँदैनन् । त्यसैले उनीहरुको हाउभाउ हेर्न जो पनि आतुर छन् । यो कुराको ज्ञाता युट्युबरहरुले उनीहरुको जनजीवन र हाउभाउलाई युट्युबमा राखेर दर्शक बढाउने काम गरेका छन् । तर, यसको पछाडि हुने बेफइदाको ख्याल नगर्दा यहाँबाट नै बिकृति फैलिएको छ । भन्दाभन्दै राउटे युवतीलाई होटलमा लगेर यौनहिंसा गरिएको रहस्य बाहिर आएको छ । सुर्खेतमा केही युवाहरूले राउटे समुदायकी दुई युवतीलाई होटलमा लिएर यौनहिंसा गरेको खुलेको छ । उनीहरुलाई मदिरा खुवाएर यौनहिंसा गरेर सो दृष्य युट्युबमा राख्ने हिम्मत कहाँबाट आयो ? उनीहरुको इज्जतमाथि यस्तो खेलबाड गर्ने हिम्मत दिने सरकार नै हो । अनियन्त्रित तरिकाले आएका युट्युबलाई नियन्त्रण गर्न राज्यले ढिला गर्नु हुँदैन ।
मादक पदार्थको नसामा रहेकी राउटे युवतीको ओछ्यानमा पल्टेर उनीहरुमाथि अश्लील हर्कत गरेका छन् । युट्युबरहरुले आफूलाई पत्रकार भनेर चिनाएकाले यसबाट पत्रकारिताको मान मर्दन भएको छ । ती राउटे महिलाहरुलाई युट्युबमा राख्ने भनेर उनीहरुलाई अभिनय गराउने भन्दै यौन दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्छ । फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको गतिविधिलाई युट्युबमा राख्ने र उनीहरुलाई मजाकको विषय बनाउने हक कोही कसैलाई छैन । यसरी राउटे समुदायका दुई युवतीहरूमाथि भएको यौन दुव्र्यवहारलाई जति भत्सर्ना गरे पनि कमै हुन्छ । यो घटनामा संलग्न दोषीलाई वास्तविकता छानबिन गरी हदैसम्मको कारबाही नगर्ने हो भने यस्ले झन् विकराल रुप लिने छ । युट्युबर पत्रकार भनेर अरुलाई झुक्याउने अधिकार कोही कसैलाई पनि छैन । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका युवतीलाई बन्द कोठामा अश्लील क्रियाकलाप गर्ने जो सुकैलाई भए पनि कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।
खासमा युट्युबरहरुले दर्शक बटुल्न कतिपयको घरबार, श्रीमान्÷श्रीमतीबीचको झगडा, दाजुभाइबीचको झगडालाई अतिरञ्जित तरिकाले देखाउने काम गरेर समाजलाई झन् विभाजनको खाडलभित्र हाल्ने गरेको देखिन्छ । यसमा युट्युबरहरुले आफू प्रशासन र न्यायाधीश नै बनेर समाजमा नपच्ने खालका दृष्यहरुलाई समेत देखाउने गरेका छन् । पत्रकारको नाममा गरेको यस्ता गलत धन्दाले पत्रकारिताको मानमर्दन गर्ने काम भइरहेको छ । घरायसी झगडामा पनि न्यायाधीश बनेर पीडितलाई नै हप्कीदप्की गरेर त्यसलाई युट्युुबमा राख्ने कामले समाजलाई झन् चिराचिरा पारेको छ । दर्शक पाउने आसामा सानो कथालाई अनेकौँ रुप दिएर वा अनेकौँ हथ्कण्डा मच्चाएर आमसञ्चार माध्यमको हवला दिनु कुनै पनि कोणबाट सही छैन । यस्तो अवस्थामा खासगरी सरकारले नै नियमन गर्नु आवश्यक भइसकेको छ ।
विदेशी मुद्रा कमाउनु गलत होइन तर नेपालमा बिनादर्ता चलाइएको युट्युबले नेपाली समाजको हुर्मत लिने अधिकार कस्ले दियो ? यस्तो अवस्थामा सरकारले सेन्सर बोर्डको स्थापना गरेर सो बोर्डले स्वीकृति दिएर मात्र सो दृष्यलाई युट्युबमा राख्ने कानुन ल्याउनु पर्छ । पत्रकारको हवाला दिएर खिचिएको दृष्यले कतिपयको इज्जतमाथि आँच आउन सक्छ । यति मात्र होइन, यस्तो घटनाले कतिपयको ज्यान पनि लिन सक्छ । अहिले राउटेहरुको क्रियाकलापलाई युट्युबमा राखेर दर्शक थप्ने काम युद्धस्तरमा भइरहेको छ । उनीहरुको अवस्थालाई बेच्ने कस्ले स्वीकति दियो ? बल्लबल्ल मानिसहरुसँग घुलमिल गरेका राउटेहरुको बस्तीमा गएर उनीहरुको चेलीबेटीमाथि गिद्धे नजर लगाउनेहरु र उनीहरुको अवस्था खिचेर युट्युबमा राख्ने काम भएकाले अब राउटे बस्तीमा बिनास्वीकृति व्यक्ति जान रोक लाउनुपर्छ । यसका लागि सरकारले कानुन नै बनाउनुपर्छ । अब जो सुकैलाई प्रशासनको स्वीकृतिबिना राउटे समुदायमा पुग्न नदिने गरी कानुन बनाउने हो भने उनीहरु सुरक्षित हुने देखिन्छ ।
त्यसो त पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान स्थानीय प्रशासनले रोक लगाएको छ । यसलाई कानुन नै बनाएर अब आइन्दा कोही कसैलाई प्रवेश नै दिनु हुँदैन । हालका लागि बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएकाले तत्काल त केही डर छैन तर कानुन नहुने हो भने प्रहरी प्रशासनले पनि लामो समयसम्म पर्खन सक्दैन । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षण गर्ने काम सरकारको भएकाले अब सरकारले यसलाई कानुन नै बनाउनु आवश्यक छ । राउटे युवतीमाथि भएको यौन दुव्र्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पु¥याउन सक्ने सम्भावना बढेकाले अब उनीहरुको बस्ती प्रवेशमा रोक लगाउने कार्यलाई स्थायी रुप दिनुपर्छ । दर्शक बढाउने बाहनामा राउटेहरुलाई दुःख दिने छुट कोही कसैलाई पनि छैन । त्यसो त यसरी पत्रकारको नाममा हुने यस्ता गलत कामको विरोध गरेर यसलाई सही बाटोमा ल्याउनु आवश्यक छ । पत्रकारिताको नाममा भएको यहि विकृतिका कारण पत्रकारहरुमाथि नै प्रश्न उठ्दा यससँग सम्बन्धित संघसंस्थाले पनि आवाज उठाउनु आवश्यक छ । आवाज उठाएर मात्र हुँदैन, बरु यसका लागि कानुन बनाएर अघि बढ्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *