एमाले फुट्ने पक्का, नेपाल देउवा र प्रचण्डको शरणमा

राजनीति समाचार

काठमाडौं– सत्तारुढ नेकपा एमालेमा उत्पन्न भएको विवाद समाधान गर्न भएको अन्तिम प्रयासमा समेत बिराम लाग्न पुगेको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत शुक्रबार माधव नेपाल पक्षलाई एकताका लागि ६ सुत्रीय अवधारणा प्रस्तुत गरेका थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिनु पर्ने प्रमुख शर्त राखेका थिए । प्रधानमन्त्री अ‍ोलीले राखेको यो शर्तलाई अस्ति सोमबार बसेको नेपाल पक्षको स्थायी समिति बैठकले ठाडै अस्वीकार गर्दै एकताका लागि अध्यक्ष ओलीले राखेका अन्य बुँदाहरू पनि मान्न नेपाल पक्षले अस्वीकार गरेको छ । र, सोमबार नै बसेको नेपाल पक्षको स्थायी समिति बैठकले एकता र सहमतिका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस फिर्ता लिनु पर्ने प्रमुख शर्त राखेको छ ।
पार्टी अध्यक्ष ओलीले पार्टी एकताका लागि नेपाल पक्षले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिनु पर्ने प्रमुख शर्त राखेपछि र नेपाल पक्षले सहमतिका लागि प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस फिर्ता लिनु पर्ने शर्त राखेपछि नेकपा एमालेको एकता प्रयासमा लगभग पूर्णविराम लागेको छ । किनभने नेपाल पक्षले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन ठाडै अस्वीकार गरेको छ भने प्रधानमन्त्री ओलीले पनि प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस फिर्ता लिने सम्भावना छैन ।
गत सोमबार बसेको नेपाल पक्षको स्थायी समिति बैठकले एकताका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले राखेको ६ सुत्रलाई ठाडै अस्वीकार गर्दै एकताका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस फिर्ता लिनु पर्ने शर्त राखेपछि र यो शर्त प्रधानमन्त्री ओलीले स्वीकार गर्ने सम्भावना नभएपछि एमाले विभाजित हुने निश्चितजस्तै भएको छ । तथापि, प्रधानमन्त्री ओलीले एकताका लागि अगाडि सारेको ६ सुत्रीय ‘फर्मुला’प्रति नेपाल पक्षका कतिपय नेता सकारात्मक देखिएका छन् । र, नेपाल पक्षले औपचारिकरुपमा नै प्रधानमन्त्री ओलीले अगाडि सारेको ६ सुत्रीय एकता फर्मुलालाई अस्वीकार गरेको स्थितिमा योगेश भट्टराई, गोकर्ण विष्टलगायतका स्थायी समिति सदस्यहरू नेपाल पक्षलाई परित्याग गरेर संस्थापना पक्षमा आउने सम्भावना बढेर गएको छ । नेता नेपाललाई कुनै पनि हालतमा सहमतिमा पुग्न नदिन सक्रिय भइराखेका भीम रावल, रामकुमारी झाँक्री, घनश्याम भुसाललगायतका नेता भने अध्यक्ष ओली र नेता नेपालबीचको दूरी थप गहिरो बनाउने अभियानमा लागि परेका छन् ।
प्रधानमन्त्री ओली पार्टी एकतालाई ध्यानमा राखेर गत शुक्रबार मन्त्रिपरिषदको पुनर्गठन गर्दा ७ वटा मन्त्रालय आफूसँग राखेका थिए । तर, अब नेपाल पक्ष सहमतिमा नआउने भएपछि प्रधानमन्त्री ओलीले योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूसँगै माओवादी कित्ताका नेताहरूलाई समावेश गरेर मन्त्रिपरिषदको विस्तार तत्काल गर्ने छन् । अध्यक्ष ओलीसँग टाढा हुँदै गएका नेता नेपालको सम्बन्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवासँग भने थप घनिष्ट बन्दै गएको छ । गत सोमबार बिहान पनि नेता नेपालले आफ्नै निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेपछि कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्न भनेर बूढानीलकण्ठ पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *