काठमाडौैं– कोरोना भाइरस नियन्त्रणको लागी सरकारले देशैभर निषेधाज्ञा गरेपछि देशभर यातायातका साधनहरू चलेका छैनन । अत्यावश्यक बाहेकका सवारीसाधनहरू निषेधाज्ञाका बेला चलाउन नपाउने सरकारले बताएको छ । समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकारहरूले प्रयोग गर्ने सवारीसाधन सञ्चालनका लागि छुट दिइएको भए पनि पछिल्लो समय सडकमा प्रेस टाँसेर र पत्रकारको परिचयपत्र बोकेर सडकमा निस्कनेको संख्या बढ्दै गएको छ । सुरक्षाकर्मीले सवारीसाधन रोकेर सोधपुछ गर्दा पत्रकारको परिचयपत्र देखाएपछि सजिलै उम्कन पाइने भएपछि अहिले गैर पत्रकारहरूले समेत पत्रकारको कार्डको दुुरुपयोग गरेको गुनासो बढेको छ ।
कहिल्यै पनि पत्रकारिता नगर्नेहरूले नै आफ्नो सवारीसाधनमा प्रेस टाँसेर हिँडिरहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा प्रेस लेखिएको गाडी जताततै देखिन्छ । उपत्यकाको अधिकांश सडकमा प्रेस लेखिएको गाडी र मोटरसाइकल हुइँकिरहेका छन् । के तिनीहरू सबै पत्रकार हुन् त ? कतिपय ठूला मिडिया हाउसका पत्रकारहरूसमेत यतिबेला रोजगारी गुमाएर घरमा थन्किएर बसेका छन् । तर पनि सडकमा प्रेस लेखेको गाडी बढेको–बढ्यै छ । अर्को कुरा अधिकांश पत्रकारको गाडी चड्ने हैसियत पनि छैन ।
कसलाई के थाहा गैरपत्रकारहरू प्रेस लेखेर जथाभावी हिँडिरहेको छन् भनेर ? सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने पनि होइन ? उपत्यकामा प्रेस लेखिएका महँगा गाडी हुँइकिरहेका बेला नेपाल पत्रकार महासंघले समेत चासो दिएको थियो । यस्तैमा केही अगाडि महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जना र एक जना सेवाग्राहीलाई राजधानीको मुटु मानिने बागबजारबाट पक्राउ ग¥यो । सो क्रममा पत्रकारका साथै स्वास्थ्यकर्मीको समेत नक्कली कार्ड बनाउने गरिएको खुलासा भयो । त्यस्तै ०७८ जेठ २४ गते पनि यस्तै भएको छ । काठमाडौंको कमलपोखरीबाट श्रीहरि प्रिन्टर्स छापाखानाका सञ्चालक नक्कली प्रेस पाससहित पक्राउ परे । बा ११ च १९२२ नम्बरको कारमा प्रेस पास टाँसेर निषेधाज्ञामा विद्युतीय सामग्री बिक्री गर्दै गरेको अवस्थामा छापाखानाका सञ्चालक अर्नब चौधरी प्रहरीको नियन्त्रणमा पुगेका हुन् । निषेधाज्ञामा सबै व्यवसाय बन्द रहेको समय उनले प्रधान सम्पादकको प्रेस कार्ड बनाएर सामान बिक्री गर्ने गरेको रहस्य खुल्यो । सञ्चारकर्मीको हकमा सूचना विभागको प्रेस पास वा जिल्ला प्रशासनको अनुमति पत्रमा मात्र हिँडडुल गर्न प्रशासनले आग्रह गरेको बेलामा चौधरी नक्कली प्रेस कार्डसहित समातिएका हुन् । यी त भए डिजिटल प्रेस कार्डको दुरुपयोग । जुन बनाउन केही गाह्रो नै छैन । त्योसँगै दुरुपयोग भएको छ सूचना विभागको कार्ड पनि । सूचना विभागको कार्ड बनाउन केही अप्ठ्यारा भने अवश्य नै छ । हरेक समस्यामा एउटा उपाए भनेझैँ सूचना विभागको कार्ड बनाउन पाँच जनाभन्दा मुनिकोलाई बैक स्टेटमेनहरू नचाहिने छ । यहीको फाइदा कमाउदै छन् केही सम्पादकहरू नै । अनलाइन, पत्रिकाको आफैँ व्यवस्थापक, आफैँ सम्पादक, आफँै मार्केटिङ र आफैँ संवाददाता भएका केही व्यक्तिहरूले आफूसहित अन्य चार जना गैर पत्रकारलाई पत्रकार बनाएका छन् मोटो पैसामा ।