गृह सचिवको ज्यादती, मारमा कर्मचारीहरू

प्रशासन

काठमाडौं । गृह सचिव महेश्वर न्यौपानेका ज्यादतीका कारण गृहकै कर्मचारीहरू मारमा पर्दैछन् । गृह आफैँले बनाएको मापदण्डलाई कुल्चिएर आफ्ना आसेपासे, निकट, एमाले खेमाका कर्मचारीहरूलाई माथैमाथ र अर्काे खेमाका कर्मचारीहरू पुर्पुरोमा हात लगाएर बस्नुपर्ने अस्था आएको भन्दै गृहका क्याडरहरूले चिन्ता पोख्न थालेका छन् ।
गृह सचिव न्यौपानेको ज्यादती कतिसम्म छ भने, आफूलाई मन पर्ने कर्मचारीलाई एक, दुई पटक होइन, कसैलाई नौ पटकसम्म सिडिओ बनाएर खटाइएको छ, कोही सातवटा जिल्लासम्मको सिडिओ बन्न भ्याएका छन् ।
न्यौपानेले उपसचिव तहको कर्मचारीलाई सचिवको दरबन्दी भएको जिल्लामा सिडिओ बनाएर खटाएका छन् । सिडिओ हुनुपर्ने, प्रवल दाबेदार कर्मचारीलाई जिम्मेवारविहीन बनाएर मन्त्रालयमा अतिरिक्त समूहका तानेर राखी उमाथि अन्याय गरिरहेका छन् । ‘कसैलाई माथैमाथ कसैलाई पुर्पुरोमा हात’ कसरी गराइएको छ भने, केहीअघि पुण्य ढकाल उपसचिवमा बढुवा भए, उपसचिव भएको एकाध महिनामै उनलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइयो कारण उनी खाँटी सूर्य, त्यसमा पनि बालुवाटारको मान्छे । त्यस्तै उनै न्यौपानेको साढुभाइ ईश्वरीप्रसाद ढकाल । उनलाई रसुवाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । चीनसँग नाका जोडिएको जिल्ला भएका कारण दुर्गम भए पनि यो मालदार ठाउँ मानिन्छ । यतिमात्रै होइन, ‘आफ्नै हात जगन्नाथ’ शैलीमा गत वैशाखमा राष्ट्रपतिको हातबाट तक्माका लागि सिफारिस पनि गर्न भ्याए ।
गृह सचिव न्यौपानेको ज्यादती कतिसम्म छ भने, गत चैतमा नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट ५३ लाख चोरी भयो । यो प्रकरणमा त्यहाँका कर्मचारी डामिँदैछन्, वडा अध्यक्ष चोख्याउने खेल चल्दैछ कारण यिनै गृह सचिवका साढुभाइ सो वडाका अध्यक्ष हुन् । त्यहाँका प्रमुख प्रशासकीय अधिकृत नवराज पुडासैनीलाई सामान्य प्रशासनले जगेडामा तानिसकेको छ । तर, वडा अध्यक्ष घनश्याम मिश्रमाथि कुनै पनि निकायले कारबाही गर्ने आँट गर्दैन, त्यस्को एउटै कारण हो, मिश्र उनै गृह सचिवका नातेदार हुन् । यो प्रकरण घटेसँगै गृह सचिवले प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई मिश्रमाथि कारबाही नगर्न निर्देशन दिइसकेका छन् ।
उता, यस अघि रसुवाकै प्रमुख जिल्ला अधिकारी बनेर आएका उपसचिव अर्जुन भण्डारी, जर्नादन शर्मा प्रभाकरसँग जोडिएकै कारण उनी अहिले गृह मातहतकै लागुऔषध विभागतिर लगेर थन्काइएको छ । यस्तै केही अघि उपसचिव बढुवा भएका नवराज जैसीलाई उसैगरी गृहमातहतकै विभागतिर थन्काइएको छ, तर गृहकै केही यस्ता कर्मचारी छन्, जो एकपछि अर्काे जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेर रेकर्ड नै तोड्दैछन् । त्यसैमध्येका हुन् रामबहादुर कुरुम्बाङ, आस्मान तामाङलगायतका कर्मचारी । बालुवाटार र पूर्वगृहमन्त्री बादलका निकट हुनुका कारण यी कर्मचारीहरू गृहअन्तर्गत मालामाल हुनेमा पर्दछन् । अघिल्लो सातामात्र गृहले कुरुम्बाङलाई दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटायो । कुरुम्बाङ यसअघि ताप्लेजुङ, म्याग्दी, सोलुखुम्बु, अछाम, प्युठान, बर्दिया, स्याङ्जा, बाँके हुँदै अहिले दाङको जिल्ला प्रशासन प्रमुख भएका छन् । योसहित उनले ९ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी चलाउने अवसर पाएका छन् । बालुवाटार दाहिने भइदिँदा कुरुम्बाङ उपसचिव भए पनि सहसचिवको दरबन्दी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेर खटिएका छन् ।
गृह आफैँले ०७१ सालमा प्रमुख जिल्ला अधिकारीहरूको सरुवासम्बन्धी मापदण्ड (राजपत्रांकित द्वितीय र प्रथम) को बनायो । सो को ठाडो उल्लंघन गर्दै उनीझैं केही बालुवाटार र गृहसचिव न्यौपानेसँग जोडिएका, निकट कर्मचारीलाई नियमित प्रमुख जिल्ला अधिकारीको जिम्मा दिँदै आएको छ ।
गृहले बनाएको मापदण्डमा लगातार तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी बनेको अधिकृतलाई गृह मन्त्रालय मातहतको विभाग वा क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गर्ने व्यवस्था छ । तर, त्यो नीतिको ठाडो उल्लंघन हुँदा पनि गृह प्रशासन मौन देखिन्छ । उक्त मापदण्डको बुँदा नम्बर ५ मा लेखिएको छ ‘सामान्यतयाः लगातार तीन जिल्लामा प्रजिअको जिम्मेवारी बहन गरिसकेकाहरूलाई मन्त्रालय मातहत विभाग र क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गर्ने नीति अवलम्बन गर्ने ।’ यसरी मापदण्डलाई कुल्चिएर निरन्तर सिडिओ बनिरहने गृहका कर्मचारीहरूमा उमेश ढकाल, अस्मान तामाङ, कोशहरि निरौलालगायतको नाम आउँछ । निजामती कर्मचारीले एक पटक सुगम स्थानमा बसेपछि अर्को पटक दुर्गम स्थानमा सेवा गर्नुपर्ने सामान्य नियम हो । तर, गृहमन्त्रालयमा यस्ता नियमहरू लागू हुँदैनन् । गृहमन्त्रालयका सहसचिव अस्मान तामाङ त्यस्ता भाग्यमानी व्यक्ति हुन् जो कर्मचारीको भाषामा मालामाल हुने जिल्लाको कमाण्डर बनेका छन् । गृहमन्त्रालयले जारी गरेको सरुवा तथा मापदण्ड व्यवस्थापन, ०७१ मा प्रमुख जिल्ला अधिकारी सरुवा सम्बन्धी मापदण्डमा सामान्यतया लगातार तीन जिल्लामा प्रजिअको जिम्मेवारी बहन गरिसकेकाहरूलाई मन्त्रालय माताहत विभाग र क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गर्ने नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ । त्यसो त गृहको मापदण्डमा गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय, कारागार व्यवस्थापन विभाग, प्रहरी किताबखाना, अध्यागमन विभागमा कार्यरत कर्मचारीहरूलाई प्रजिअको जिम्मेवारी दिँदा पहिलो प्राथमिकता दिने पनि उल्लेख गरिएको छ । यी मापदण्डविपरीत सहसचिव अस्मान लगातार पाँच जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाइएका छन् ।
आस्मान शिक्षा सेवाका कर्मचारी । टपक्क टिपेर ल्याइयो र तेह्रथुमको सिडिओ बनाएर खटाइयो त्यहाँबाट उनलाई सिन्धुपाल्चोक, मकवानपुर, धादिङ्ग, पर्सा हुँदै अहिल रूपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । योसहित उनी ६ जिल्लाको सिडिओ बन्न सफल भएका छन् । गृहका अनुसार सहसचिव तहका दुई कर्मचारीको पोष्टिङ हुनै बाँकी छ । उनीहरूलाई जिम्मेवारविहीन बनाएर राखिएको छ । गृहका सह–सचिवद्धय रामप्रसाद पाण्डे, जर्नादन गौतम अहिले जिम्मेवारविहीन छन्, तर उपसचिव तहका कर्मचारीहरूलाई सहसचिवको दरबन्दी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएर विकृतीलाई मलजल गर्ने काम स्वंय गृहसचिवबाटै भइरहेको गृहका कर्मचारीहरू गुनासो पोख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *