ज्वाला संग्रौलाको जन्मदर्ता र अविवाहिताको प्रमाणपत्र नै नक्कली

समाचार

काठमाडौं– प्रहरी हिरासतमा रहेकी सामाजिक अभियन्ता ज्वाला संग्रौला भनिने टीकाले किर्ते गरेर प्रमाणपत्र बनाएको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनको जन्मदर्ताको प्रमाणपत्र नक्कली भएको पाइएपछि प्रहरीले सत्यतथ्य विवरण उपलब्ध गराइदिन भन्दै पाँचथरको हिलिहाङ गाउँपालिकालाई पत्र पठाएको छ । महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले १३ गते पत्र पठाउँदै उनको विवरण उपलब्ध गराइदिन अनुरोध गरेको हो ।
ज्वालाले २०७४ असार ५ गते साविक सुभाङ गाविसको कार्यालयको लेटरप्याड प्रयोग गरेर अविवाहितको प्रमाणित सिफारिस र जन्मदर्ताको प्रमाणपत्र लिएकी थिइन् । जबकि २०७३ चैत ३ गतेदेखि नै संघीय संरचना लागू हुँदै साविक सुभाङ गाविसका वडा नम्बर एकदेखि वडा नम्बर ७ सम्मका सबै वडा हिलिहाङ गाउँपालिकाको वडा नम्बर ५ मा गाँभिएका छन् । उनले हाल अस्तित्वमा नै नरहेको गाविस र हुँदै नभएको वडासचिवको हस्ताक्षरसहितको विवरण बनाएको देखिएको वडासचिव नारायणप्रसाद ओझाले जानकारी दिए ।
विवरण उपलब्ध गराउने क्रममा हिलिहाङ गाउँपालिका वडा ५ को कार्यालयले किर्ते गरेर कागजात बनाएको जनाएको छ । वडाअध्यक्ष लक्ष्मीप्रसाद सुहाङले ज्वालाले लिएको अविवाहिताको प्रमाणित सिफारिस र जन्मदर्ताको प्रमाणपत्र किर्ते गरेर लिएको बताएका छन् । ‘उनले हुँदै नभएको सचिवको हस्ताक्षरसहितको सिफारिस लिएको देखिएको छ । स्थानीय पञ्जिकाधिकारी श्यामबाबु रावल भन्ने नामको विवरण रहेछ’, उनले भने, ‘हाम्रोमा त्यो नामको सचिव अहिलेसम्म नै छैन ।’ सोही व्यहोरासहितको विवरण प्रहरीलाई पठाइएको सचिव ओझाले बताएका छन् । उनको हजुरबुबादेखि बुबासम्म लामो समय त्यही गाउँमा बसेका थिए । त्यसपछि उनीहरू २०५२÷५३ सालतिर बसाइँ सरेर अर्को ठाउँ गएको वडाअध्यक्ष सुहाङले जानकारी दिए । सामाजिक अभियन्ताका रूपमा चिनिएकी ज्वालाले विदेशबाट पैसा उठाउँदै नेपालमा सहयोग गर्दै आएकी थिइन् । केही वर्ष जापान बसेर नेपाल फर्किएकी उनी नेपालमा पनि विभिन्न अभियानसँग जोडिएकी छन् । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै ज्वालाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । महानगरीय वृत्त गौशालामा नै आफूमाथि कुटपिट भएको भन्दै घिमिरेले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी हुन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
पुरानै विवाद
अहिले उनी प्रहरी हिरासतमा पुग्नुको कारण चाहिँ पुरानो साथी खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरी हो । झापाको विर्तामोड–१०, विर्ताबजार घर भएकी संग्रौला र उनको चिनजान एक साहित्यिक कार्यक्रममा इलाम गएका बेला भएको थियो । संग्रौला स्नातकोत्तर सकेपछि काठमाडौंतिर आइन्, जापान पुगिन् । खुश्बु पनि काठमाडौं आइन् र एमालेको भातृ संगठन युवा संघमा आवद्ध भइन् । संग्रौलाले फेसबुकमा पार्टी गतिविधिको कडा आलोचना गरेपछि घिमिरेले प्रतिवाद गर्न थालिन् । संग्रौला ७ महिनाअघि जापान छाडेर काठमाडौं आएपछि दुई जना सामाजिक सञ्जालमा झन् आरोप प्रत्यारोपमा उत्रिए ।
घिमिरेले व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउँदै ज्वालाविरुद्ध स्टाटस लेखिन् । त्यसपछि यो विवाद प्रहरी वृत्त, गौशालासम्म पुगेको थियो । गौशालाका डीएसपी जितेन्द्र बस्नेतले १६ जेठमा छलफल गराउँदै गर्दा ज्वालाको समूहले घिमिरेमाथि कुटपिट ग¥यो । ज्वालासँगै काम गरेका एक व्यक्ति भन्छन्, ‘फेसबुकमा लेखेको विषयको कानुनी उपचार खोज्नुपत्र्यो, कुटपिट गर्नु गलत भयो ।’ साइबर अपराधको कसूर आकर्षित हुने घटनामा प्रहरीले दुवै पक्षलाई छलफल गराएर मिलापत्र गरायो । दुवैको कुरा मिलेपछि घटना पनि सामसुम भयो । तर, महाराजगञ्जमा एक प्रहरीविरुद्ध रंगभेदी अभिव्यक्ति दिएपछि पुरानो घटना पुनः सतहमा आयो । प्रहरीले अनुसन्धान थाल्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *