विभाजनतिर बढिराखेका राजनीतिक दलहरू

सम्पादकीय

सम्पादकीय

पछिल्लो समयमा राजनीतिक दलले गरिराखेका गतिविधिलाई हेर्दा सबैजसो राजनीतिक दल विभाजनतिर उन्मुख भइराखेको अनुमान सहजरूपमा गर्न सकिन्छ । सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र विभाजित भएका थिए भने यी दुई पार्टी एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टीलाई पनि सर्वोच्च अदालतले विघटन गरिदिएको थियो । एमाले र माओवादी केन्द्र बीचको एकीकरण समाप्त भएर दुई पार्टी पुनः अस्तित्वमा आएपछि एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा उत्पन्न भएको विवादले अहिलेसम्म निकास पाउन सकेको छैन । यसको विपरीत यही विवादको कारण एमाले विभाजनको संघारबाट गुज्रिराखेको छ । यसैगरी एमालेसँग अलग भएर पुनः अस्तित्वमा आएको प्रचण्ड नेतृत्वको माओवादी केन्द्र एकप्रकारले विभाजित भइसकेको छ भन्दा हुने स्थितिमा छ । दुई पार्टीलाई सर्वोच्च अदालतले अलग हुने निर्णय गरेपछि पनि ओली नेतृत्वको तत्कालीन सरकारमा रहेका चार जना माओवादी केन्द्रका सांसद माओवादीमा फर्कन अस्वीकार गर्दै एमालेमा नै कायम रहेपछि र विभिन्न प्रदेशका सांसद पनि एमालेमा नै कायम रहेर यसरी कायम रहनेको संख्या १४ पुगेपछि माओवादी केन्द्रलाई पनि एकप्रकारले विभाजन भएको मान्नु पर्ने स्थिति रहेको छ ।
ओली सरकारमा सामेल हुने की यो सरकारलाई विघटन गरेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने विवादले संसदमा ३२ स्थान रहेको जनता समाजवादी पार्टी (जसपा) पनि विभाजनको संघारबाट गुज्रिराखेको छ । ओली नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने पक्षमा जसपा अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने ओली नेतृत्वको वर्तमान सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति देउवाको नेतृत्वमा अर्को सरकार गठन गर्ने पक्षमा जसपाका २ नं. उपेन्द्र यादव रहेका छन् । दुई अध्यक्ष बीचको यो विवादले जनता समाजवादीलाई पनि विघटनको संघारमा पु¥याएको दुवै पक्षले निर्वाचन आयोगमा आधिकारिकताका लागि पेस गरेको दाबीले पुष्टि गरिराखेको छ ।
चार वर्ष पहिले सम्पन्न आम निर्वाचनमा तीन वटा पार्टीमा विभाजित भएकै कारणले गर्दा राष्ट्रिय मान्यतासमेत पाउन नसकेपछि २०७६ साल फागुनमा कमल थापा, पशुपति शम्शेर र प्रकाशचन्द्र लोहनी नेतृत्वको तीन वटा राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण भएका थिए । एकीकरणको उक्त अवसरमा तीन वटै अध्यक्षले गीतामा हात राखेर कसम खाएर कहिले पनि विभाजित नहुने प्रतिज्ञा गरेका थिए । तर, यस्तो प्रतिज्ञा गरेको डेढ वर्ष पनि बित्न नपाउँदै राप्रपा फेरि विभाजनतिर उन्मुख भइराखेको स्पष्ट संकेत राप्रपाको तीन मध्येका एक जना अध्यक्ष कमल थापाले सार्वजनिक रूपमा नै गरेका छन् ।
अहिले प्रमुख प्रतिपक्षको हैसियतमा रहेको र अन्य दलहरूको सहयोगमा सरकार बनाउने योजना गरिराखेको कांग्रेसमा विभाजनको बादल नमडारिएको भए पनि आगामी भदौ १६ गतेबाट सुरु हुने १४औँ महाधिवेशनले आगामी चार वर्षका लागि चयन गर्ने नेतृत्वको सवालमा गम्भीर मतभेद उत्पन्न हुन थालेको छ । देउवाले अर्को कार्यकालका लागि पनि दोहो¥याएर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् भन्ने कांग्रेसका शीर्ष तहका एक दर्जनभन्दा बढी नेताले देउवालाई चुनौती दिँदै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अहिलेसम्मको स्थिति हेर्दा कांग्रेसभित्र उत्पन्न भएको यो प्रतिष्पर्धालाई लोकतान्त्रिक अभ्यास मान्नु पर्दछ । तर, कम्युनिस्टहरूको समर्थनबाट प्रधानमन्त्री हुने सभापति देउवाको योजनाप्रति भने कांग्रेसकै कतिपय नेता असन्तुष्ट रहेका छन् र यो असन्तुष्टी आगामी भदौ १६ गतेबाट सुरु हुने १४औँ महाधिवेशनमा छताछुल्ल हुने स्थिति रहेको छ ।
यसरी सबैजसो राजनीतिक दल अहिले सत्ताको विवादको कारण विघटनतिर उन्मुख भइराखेका छन् । राजनीतिक दलहरूमा लोकतान्त्रिक अभ्यासको कमीको कारणले गर्दा यो स्थिति उत्पन्न भएको हो । विगतमा पनि राजनीतिक दलले लोकतान्त्रिक चरित्र देखाउन नसकेकै कारणले गर्दा मुलुकमा लोकतन्त्र असफल हुने गरेको बुझाइ जनताको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *