ओली र नेपाल बीचमा सहमति नहुने

राजनीति

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा उत्पन्न भएको विवाद सहमतिमा टुंगिने सम्भावना लगभग समाप्त भएको छ । यही कारणले गर्दा नै दोस्रो पुस्ताका नेताहरूले कुपण्डोलस्थित समिट होटलमा नियमितजस्तै गर्दै आएको छलफल र वार्ता पनि केही दिन यताबाट अगाडि बढेको छैन । सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले विघटित प्रतिनिधिसभाको पुनस्र्थापना र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दैै दिएको रिट निवेदनमाथि प्रतिवादीतर्फको बहस सुरु भएको छ । र, अबको केही दिनमा कांग्रेस सभापति देउवालगायतका १४६ जना पूर्व सांसदले दिएको रिटमाथि सर्वोच्चले दिने निर्णयले मुलुकको राजनीति नयाँ चरणमा प्रवेश गर्ने स्थिति बनेको छ । कांग्रेस सभापति देउवालगायतको माग बमोजिम सर्वोच्चले गत वैशाख ८ गते विघटन गरिएको प्रतिनिधिसभा पुनस्र्थापना भएमा मुलुकको राजनीति नयाँ चरणमा प्रवेश गर्ने छ । देउवालगायतका पूर्व सांसदहरूको माग दाबीअनुसार प्रतिनिधिसभा पुनस्र्थापना भएमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीको उपेन्द्र यादव पक्ष यसैगरी राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्ष ओलीलाई पन्छाएर संयुक्त सरकार गठन गर्ने अभ्यासमा अगाडि बढ्ने छन् भने सर्वोच्चले गत जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनको निर्णयलाई यथावत राखेमा मुलुक आगामी कात्तिक २६ गते र मंसिर ३ गते दुई चरणमा हुने आम निर्वाचनको तयारीमा अगाडि बढ्ने छ । यी दुवै स्थितिमा प्रधानमन्त्री ओली र नेता नेपालका बीचमा एकता हुने सम्भावना देखिँदैन । अहिले पनि प्रधानमन्त्री ओली र नेता नेपालका बीचमा मनको एकता होइन, प्राविधिक एकताको मात्र प्रयास भइराखेको छ ।
यो मामिलामा नेता नेपालले आफू र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका बीचमा सहमति हुन नसक्ने संकेत दिइसकेका छन् । नेता नेपालले राखेको सर्तअनुसार प्रधानमन्त्री ओली २०७५ साल जेठ ३ गतेभन्दा अगाडिको अवस्थामा फर्कने संकेत गर्दा पनि नेता नेपालले यस सम्बन्धमा सकारात्मक जवाफ दिएका छैनन् । नेता नेपालले सार्वजनिकरूपमा व्यक्त नगरे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नु पर्ने अडान राख्न थालेका छन् । नेता नेपालको यही संकेतलाई बुझेर गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टी एकताका लागि नेता नेपाललाई अध्यक्ष बनाउनु पर्ने प्रस्तावसमेत राखेका छन् । तर, पार्टी अध्यक्ष नेपाल भने ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर कांग्रेस सभापति देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने एक सूत्रीय योजनामा अगाडि बढिराखेका छन् । नेता नेपाल, ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने एक सूत्रीय कार्य योजनामा संलग्न रहेको स्पष्ट संकेत पाएपछि एमालेका दोस्रो पुस्ताका नेताहरूले प्रधानमन्त्री ओली र नेता नेपालका बीचमा उत्पन्न भएको विवाद समाप्त गरेर एकता कायम गर्ने प्रयास पनि केही दिनयताबाट परित्याग गरेका छन् । वरिष्ठ नेता नेपाल प्रधानमन्त्री ओलीसँग सहमति गर्छन् कि भन्ने आशंकाबाट कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शसंकित अवस्थाबाट गुज्रिएका थिए । प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालका बीचमा सहमति बन्नसके संयुक्त सरकार गठन गर्ने र आगामी आम निर्वाचन पनि गठबन्धनमार्फत लड्ने कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको योजना चकनाचुर हुने निश्चित छ । यही कारणले गर्दा देउवा र प्रचण्डको प्रयास प्रधानमन्त्री ओली र नेता नेपालका बीचमा सहमति नहोस् भन्नेमा केन्द्रित रहेको देखिन्छ । यही सन्दर्भमा एमाले समाप्त भए पनि प्रधानमन्त्री ओलीसँग सहमति नगर्ने वचन नेता नेपालले सार्वजनिकरूपमा नै दिएका छन् । यो स्थितिमा अब एमालेका असन्तुष्ट नेता नेपाल आफ्नो समूहसहित कसरी अगाडि बढ्छन् भन्ने प्रश्न उठेको छ । केहीदिन अगाडि मात्र निर्वाचन आयोगमा नेता नेपालकै इसारामा नयाँ दल दर्ता भएको टिप्पणी राजनीतिक क्षेत्रमा व्यप्त रहेको छ । यस सम्बन्धमा नेता नेपालले कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन् । अब सर्वोच्चले संसद पुनस्र्थापनाका सम्बन्धमा परेको रिटमाथि निर्णय गरेलगत्तै असन्तुष्ट नेता नेपालले आफ्नो राजनीतिक भविष्य निश्चित गर्ने गरी अर्को कदम चाल्ने विश्लेषण गरिएको छ भने अब पुनः नेपाल एमालेमै बसेर राजनीति गर्ने सम्भावना पनि समाप्त भएको मान्न थालिएको छ । प्रधानमन्त्री ओली र नेता नेपालका बीचमा आगामी दिनमा एकता कायम भए पनि त्यो एकता प्राविधिक मात्र हुने र त्यसले अध्यक्ष ओली र नेता नेपाललाई फाइदा नपु¥याउने विश्लेषण राजनीतिक क्षेत्रको रहेको छ । यही कारणले गर्दा नै स्व.मदन भण्डारीको ७०औँ जन्मजयन्तीको उपलक्ष्यमा गत सोमबार आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्री ओली नेता नेपालप्रति राजनीतिक र पदीय मर्यादासमेत नाघेर आक्रमकरूपले प्रस्तुत भएका हुन् भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *