सभापतिका लागि दर्जन बढी नेताको लिगलिगे दौड

राजनीति

काठमाडौं । यही असार १२ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको यसअघि भदौ ७–१० सम्म तय भएको मितिलाई परिवर्तन गर्दैै भदौ कै १६ गतेदेखि १९ गतेसम्म १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । प्राविधिक कारणले पनि महाधिवेशनको यो मिति अब संशोधन कुन नसक्ने अवस्था भएको कारण यो मिति केन्द्रीय कार्य समितिले निश्चित गरेको भोलिपल्टै गत असार १३ गते कांग्रेस सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि पनि आफू पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १४औँ महाधिवेशनको मिति निश्चित भएपछि र देउवाले दोहो¥याएर सभापति हुनका लागि उम्मेदवारी दिने घोषणा गरेपछि कांग्रेसमा आगामी १४औँ महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी घोषणा गर्नेको लहर नै लाग्न थालेको छ । अहिलेसम्मको स्थिति हेर्दा कांग्रेसमा सभापतिका लागि आगामी भदौ तेस्रो साता हुने १४औँ महाधिवेशनमा एक दर्जनभन्दा बढी नेताले उम्मेदवारी दिने देखिएको छ ।
सभापति देउवाले पार्टीलाई १ नं.को हैसियतमा पु¥याउने दाबी गर्दै यो लक्ष्य पूरा गर्न दोस्रोपटक नेतृत्वमा पुग्नका लागि सभापतिमा उम्मेदवारी दिने उद्घोष गरेलगत्तै उपसभापतिमा उनले नै मनोनयन गरेका विमलेन्द्र निधिले पनि आफू सभापतिमा उठ्ने घोषणा गर्दै सभापति देउवालाई सिधै टक्कर दिने चुनौती दिएका छन् । पार्टीको संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति निधिले १४औँ महाधिवेशनमो नेतृत्वको लागि उम्मेदवारी दिने उद्घोष गरेलगत्तै संस्थापन पक्ष कै वरिष्ठ नेता गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संस्थापना पक्षका वरिष्ठ नेताहरूले आगामी १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने उद्घोष गरी रहँदा कोइराला परिवारकी वरिष्ठ सदस्य सुजाता कोइरालाले पनि सभापतिका लागि उम्मेदवारी दिने उद्घोष गरेकी छन् ।
यी चार जना नेताबाहेक अहिलेसम्म कांग्रेसको भावी नेतृत्वको लागि सभापतिमा उम्मेदवारी दिने उद्घोष अन्य नेताहरूले गरी नसकेको भए पनि यस सम्बन्धमा सभापतिका लागि उत्सुक अन्य नेताहरूले आवश्यक गृहकार्यलाई भने तीव्र रूपमा अगाडि बढाएका छन् । यसै सन्दर्भमा निधिको विवाहको वर्षगाँठको अवसर पारेर गत ७ गते सोमबार महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र उपसभापति निधिका बीचमा उनकै निवासमा आगामी महाधिवेशन र भावी नेतृत्वका सम्बन्धमा छलफल भएको थियो । पार्टीका तीन जना वरिष्ठ नेताहरूका बीचमा भावी नेतृत्वको लागि छलफल भएलगत्तै गत असार १२ गते शनिबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले भावी नेतृत्वको सम्बन्धमा आवश्यक छलफलका लागि एउटा पार्टी प्यालेसमा आफू निकटका नेताहरूलाई बोलाएका थिए । यही बीचमा केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि वरिष्ठ नेताद्वय पौडेल र कृष्ण सिटौलालाई बिहानको खाना खान आफ्नो निवासमा बोलाएर भावी नेतृत्वका सम्बन्धमा छलफल गरेकी थिइन् ।
अहिलेसम्म कोइराला परिवारबाट सुजाता कोइरालाले मात्र सभापतिका लागि उम्मेदवारी दिने दाबी गरेकी छन् भने यो मामिलामा बलियो उम्मेदवार हुन सक्ने महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले केही बोलेका छैनन् । यसैगरी १३औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवार भएका र पहिलो चरणबाटै बाहिरिएका कृष्ण सिटौलाले पनि उम्मेदवारीका सम्बन्धमा अहिलेसम्म मुख खोलेका छैनन् । तथापि अहिलेसम्म सभापतिका लागि नै उम्मेदवारी दिने दाबी गर्ने कांग्रेसी नेताहरू अगाडि आइराखेका भए पनि महामन्त्रीका लागि भने अहिलेसम्म कसैले दाबी गरेको छैन । महामन्त्री तथा सहमहामन्त्री र कोषाध्यक्षका लागि उत्सुक नेताहरूको प्रयास भने अहिले बलियो प्यानलबाट उम्मेदवारी दिनेमा केन्द्रित रहेको छ । यसैगरी अहिलेसम्म सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका नेताहरूले आफ्नो प्यानल बनाउने काम गरेका छैनन् । पहिलो चरणमा कुनै पनि नेताले ५० प्रतिशतभन्दा बढी ल्याउन नसक्ने र कांग्रेसकै विधानअनुसार सभापतिमा निर्वाचित हुनका लागि ५० प्रतिशत मत कटाउनु पर्ने भएकाले सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने निश्चित मानिन्छ र दोस्रो चरणमा सभापतिको निर्वाचन प्रवेश गरेपछि प्यानल बनाउनेदेखि विभिन्न प्रकारको बार्गेनिङ हुनसक्ने अवस्था कांग्रेसमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *