किन एमाले भित्रभित्रै कमजोर बन्दै गयो ?

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरुले परिवारवाद लाद्दा पार्टीका कार्यकर्तामा असन्तुष्टि बड्दै गएको छ । नेपाली कांग्रेसभित्र संस्थापन र इतरपक्षबीच वाकयुद्ध चलेकै छ । माओवादी केन्द्रभित्र पनि छोरी, बुहारी र ज्वाइहरुको हालमुहाली चलेकै छ । त्यागी नेता, कार्यकर्ता र लडाकुहरु पलायन हुँदै गएका छन् । त्यसैगरी नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीभित्र पनि झलनाथ खनाल र माधवकुमार नेपालबीचको शक्तिसंघर्ष चर्किँदै गएको छ ।

त्यसको लागि आगोमा घिउ थप्ने काम रामकुमारी झक्रीले गर्दै आएकी छिन् । उता, प्रतिपक्षी दल नेकपा एमाले कार्यकर्ता एकढिक्का भएको र संगठन बलियो भएको पार्टी भनिए तापनि भित्रभित्रै खिया लाग्दै गएको छ । यतिबेला एमालेभित्र अध्यक्ष केपी ओलीको भजनकीर्तन गाउने कार्यकर्ताहरुको हालीमुहाली विस्तारै खस्किँदै गएको छ । किन कि एमालेभित्र पछिल्लो समय कांग्रेसमा जस्तै गुटको राजनीतिक झगिँएको छ । एमालेका कार्यकर्ताहरु पनि बिभाजित हुँदै गएका छन् । एकातिर पार्टी फुटेको असर अर्कोतिर कार्यकर्ताबीच गुट झागिँदै जानु एमालेको लागि राम्रो संकेत होइन ।

एमालेभित्र अध्यक्ष केपी ओली गुट बलियो छ भनिरहँदा उता भीम रावल, विद्या भण्डारी, विष्णु पौडेल र शंखर पोखरेलबीच वाकयुद्ध चलिरहेको छ । यसले उपाध्यक्ष ईश्वर पोखरेलको प्रभाव खस्किँदै गएको छ । त्यसकारणले पनि नेतृत्वले सोचेजस्तो बलियो नभएर एमाले पनि भित्रभित्रै खिइँदै गएको छ । पार्टी नेतृत्व मिसन ८४ लाई अगाडि सारेर देशदौडामा हिँडे तापनि कार्यकर्ताबीच एकता र उत्साह थिएन । उता पार्टीका जनवर्गीय संगठनहरु पनि गुटकै कारण पहिलाको जस्तो चलायमान र संगठित छैनन् ।

एमालेका विभिन्न पेशागत संगठनहरुमा पनि गैरपेशाका व्यक्तिहरुको हालीमुहाली हुन थालेपछि संगठन कमजोर बन्दै गएको छ । संगठन कमजोर मात्रै बनेको छैन, सर्वसाधारणमा विश्वास पनि घट्दै गएको छ । देश महंगी र भ्रष्टाचारले जर्जर हुँदासमेत संसद्मा प्रतिपक्षले खेल्नुपर्ने भूमिका एमालेले निर्वाह गर्न नसक्दा जनतामा निराशा छाउँदै गएको छ ।

प्रतिपक्षी दल एमालेले देश र जनताका जल्दाबल्दा समस्याप्रति आवाज बुलन्द गर्नुपर्नेमा उल्टै सत्ताबार्गेनिङ गरेर सरकारमा जाने दाउपेच रचिरहेको छ । त्यसकारण पनि नेपालका सबै राजनीतिक दलहरुप्रति सर्वसाधारणले आशा गर्ने ठाउँ हराउँदै गएको हो । एमाले जस्तो संगठन बलियो भएको पार्टीभित्रको हालत त यो छ भने अन्य दलहरुको कुरै नगरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *