काठमाडौं । भारतीय केराको आयातले यहाँ उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ । भारतबाट वैध र अवैध दुवै रुपमा भित्रिएको केराले बजार प्रभावित बनाएको हो ।
चितवन केरा उत्पादक सङ्घका अनुसार अहिले यहाँको केरा बजारीकरणका लागि तयारी अवस्थामा रहेकोले बजारमा भारतीय केराले स्थान पाउँदा यहाँको उत्पादनले सहजै बजार पाउन कठिन भएको जानकारी दिएका छन् ।
भारतमा ठूला र चिल्ला केरा उत्पादन हुने हुँदा यहाँका केराको तुलनामा भारतीय केरामा ग्राहकको आँखा पर्ने गर्दछ । नेपालको बजारमा ४० प्रतिशत केरा भारतबाट आउने गर्दछ । थोरै केरामात्र भन्सार तिरेर आउने गरेको भए पनि धेरै अवैध रूपमा भित्रने रहेको छ ।
देशकै सबैभन्दा बढी केरा उत्पादन हुने चितवनमा तीन हजार दुई सय हेक्टर हाराहारीमा केरा खेती हुँदै आएको छ । यहाँका सात सय बढी किसान केराखेतीमा संलग्न छन् । हरियो केरा, चिनी चम्पा, माल्भोग जातका केरा व्यावसायिक रूपमा लगाइएको छ । चैतदेखि साउन सम्मलाई किसानले केरा उत्पादनको मुख्य सिजनको रूपमा लिने गर्दछन् ।