नालायक नेतृत्व र कांग्रेसको हालत

लेख

रामचन्द्र
नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ गतेबाट हुन गइराखेको छ । २०७६ सालको फागुनभित्रमा सम्पन्न हुनुपर्ने १४औँ महाधिवेशन संस्थापना पक्षको उदासिनता तथा आफ्नो कार्यकाल बढाउने नियतको कारणले गर्दा निर्धारित समयभन्दा साढे पाँच वर्षपछि हुन लागेको हो । सम्पन्न आम निर्वाचनको परिणामबाट प्रतिपक्षमा थन्किन पुगेको भए पनि कांग्रेसको गतिविधिप्रति नेपाली जनताको मात्र होइन, विदेशीको समेत चासो रहेन गर्दछ । संसदीय पद्दतिमाथि विश्वास राख्ने र लामो समय यही पद्दतिका लागि संघर्ष गरेको कारणले गर्दा कांग्रेसप्रति अन्तर्राष्ट्रिय जगतको समेत चासो रहेको हो ।
गत असार ५ गते बसेको केन्द्रीय कार्य समितिको बैठकले १४औँ महाधिवेशनको मितिमा सामान्य परिवर्तन गर्दै आगामी भदौ १६ गतेबाट गर्ने निर्धारण गरेपछि कांग्रेसका नेता कार्यकर्तामा नयाँ हलचल उत्पन्न भएको छ । यस क्रममा सभापति शेरबहादुर देउवाले अर्को चार वर्षको कार्यकालका लागि पनि पार्टी नेतृत्वमा पुग्ने भन्दै सभापतिमा उम्मेदवारी दिने घोषणा गरी सकेका छन् । र, सभापति देउवाले आगामी कार्यकालमा पार्टीलाई पहिलो स्थानमा पु¥याउने उद्घोष पनि गरेका छन् । तर, अहिले कम्युनिस्ट शक्तिबाट किनारा लागेको कांग्रेसलाई पहिलो राजनीतिक शक्तिमा कसरी स्थापित गर्छन् भन्ने सम्बन्धमा भने सभापति देउवाले कुनै योजना सार्वजनिक गरेका छैनन् । कोइराला परिवारबाट नेतृत्व खोसेर आफ्नो नेतृत्वमा कांग्रेसलाई ल्याएको पुरुषार्थ गरेका भए पनि यसबाहेक कांग्रेस सभापति देउवाले आफ्नो साढे पाँच वर्षको कार्यकालमा पार्टी र जनताको पक्षमा भने कुनै काम गरेको देखिएको छैन । सभापति देउवालाई पार्टीका विभिन्न समिति र विभाग गठन गर्नकै लागि पनि लगभग चार वर्ष समय लागेको थियो । यसैगरी उनको संगठानिक असक्षमताकै कारणले गर्दा सम्पन्न आम निर्वाचनसँगै प्रदेश र स्थानीय निर्वाचनमा समेत कांग्रेसले नराम्रो पराजय भोगेको थियो । निर्वाचनमा पार्टीले पराजय भोगेपछि नेतृत्वमा रहेको व्यक्तिले नैतिकताको आधारमा पदबाट हट्ने विभिन्न मुलुकमा स्थापित भएको लोकतान्त्रिक आचरणसमेत सभापति देउवाले देखाउन सकेनन् । यसविपरीत सभापतिको पहिलो साढे पाँच वर्षे कार्यकाल पूर्णरूपमा असफलताका साथ सम्पन्न गर्न थालेका देउवाले दोस्रो कार्यकालका लागि पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेर वास्तवमा लोकतन्त्रलाई नै लज्जित गर्ने दुस्साहस गर्न थालेका छन् ।
आगामी महाधिवेशनबाट अर्को कार्यकालसम्मका लागि पार्टीको नेतृत्व गर्न सभापति देउवा मात्र होइन, उपसभापति विमलेन्द्र निधिदेखि महामन्त्री शशांक कोइराला, र पूर्वमहामन्त्री प्रकाशमान सिंहसमेतले आवश्यक कसरत गर्न थालिसकेका छन् । यसैगरी कांग्रेसका अन्य नेताहरूले पनि सभापतिमा निर्वाचित भएर पार्टीको नेतृत्व गर्ने लक्ष्यसहित आवश्यक गहृकार्य गरी राखेका छन् । तर, कम्युनिस्टको कारण राजनीतिको मूलधारबाट पछाडि पर्दै गएको नेपाली कांग्रेसलाई पहिलेकै स्थानमा ल्याउने दाबी अहिलेसम्म सभापतिमा उम्मेदवारी दिने दाबी गरेका कुनै पनि कांग्रेसी नेताले त्यसका लागि अवाश्यक पर्ने योजना भने अहिलेसम्म ल्याएका छैनन् । अर्थात् शेरबहादुर देउवालगायत कांग्रेसको राजनीतिको केन्द्रमा रहेका सबै नेताहरू सानेपास्थित पार्टीको प्रधान कार्यालयमा आफ्नो तस्विर झुण्ड्याउनका लागि मात्र सभापति हुने कसरत गरी राखेको रूपमा आम जनताले बुझ्नु पर्ने अवस्था रहेको छ ।
२०७४ साल फागुन २ गते नेकपा एमालेका अध्यक्ष केपी ओलीले बहुमतको सरकार गठन गरेलगत्तै प्रतिपक्षमा थन्किन पुगेको कांग्रेस सभापति देउवाले पनि छायाँ सरकार गठन गरेका थिए । सरकारको कामकारबाहीको निगरानी गरेर खबरदारी गर्नका लागि भन्दै सभापति देउवाले उक्त छायाँ सरकार गठन गरेको दाबी पनि गरेका थिए । तर, त्यो छायाँ सरकारको यो साढे तीन वर्ष कसरी बित्यो भन्ने नेपाली जनतालाई कुनै जानकारी छैन । यसविपरीत सम्पन्न आम निर्वाचनमा नेपाली जनताले प्रतिपक्षको भूमिका निर्वाह गर्न जिम्मेवारी दिएको नेपाली कांग्रेसले यो समय प्रतिपक्षको भूमिका निर्वाह गर्न होइन, सरकारको सहयोगी दलको रूपमा भूमिका निर्वाह गरेको देखिएको छ । पछिल्लो समयमा सत्तारुढ नेकपा एमालेसँगै माओवादी केन्द्रमा उत्पन्न भएको विवादले आम जनतामा कम्युनिस्ट शक्तिप्रति आकर्षण घटेर गएको छ । तर, कम्युनिस्ट शक्तिप्रति घटेको जनताको आकर्षणलाई आफ्नो पोल्टामा पार्ने कसरत कांग्रेसबाट हुन सकेको छैन । अर्थात् नेपाली कांगे्रस लोकतन्त्रको जप गरेर भगवान भरोसामा नै चलिराखेको छ । पार्टीको यस्तो स्थिति अरुले होइन, नेतृत्वमा रहेका व्यक्तिहरूले नै बनाएका हुन् । निरन्तर नेपालको राजनीतिको केन्द्रमा रहेको कांग्रेसलाई यसरी असफलताको खाडलमा जाक्दा पनि यो पार्टीका नेताहरू लाज पचाएर नेतृत्वमा पुग्ने कसरत गरी राखेका छन् । र, लोकतन्त्र भनेको सत्तामा पुग्ने भ¥याङ मात्र नभएर जनताप्रतिको जिम्मेवारी पनि हो भन्ने अहिलेसम्म कांग्रेसी नेताहरूले बुझेको तथा मनन गरेको देखिएको छैन । छोटो समयका लागि प्राप्त हुने सत्ता सुखलाई नै लक्ष्य बनाउँदा कांग्रेस, कम्युनिस्टको छायाँमा पर्दै आएको हो । आफ्नो प्रमुख प्रतिष्पर्धी कम्युनिस्ट शक्तिको छायाँमा परिरहँदा पनि कांग्रेस नेतृत्वको दिमागमा सद्बुद्धि आएको देखिएको छैन । यही कारणले गर्दा नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव नेपालले प्रधानमन्त्री बनाइदिन्छन् भनेर कांग्रेस सभापति देउवाले अहिले पनि ‘सोम शर्माको सपना’ देखिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *