निमित्तको भरमा स्थानीय तह, भ्रष्टाचारको केन्द्र बन्दै

प्रशासन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन हेर्नेहरु बदमास भइदिँदा मुलुकभरका एक तिहाई स्थानीय तह अहिले निमित्त कै भरमा चलिरहेका छन् । भएका हाकिम (प्रशासकीय अधिकृत)लाई अनेकन नाममा लखेट्ने र निमित्त दिएर लुट्ने धन्दामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासनको समेत मिलेमतो देखिँदा अहिले स्थानीय तहमा सबैभन्दा बढी विकृति, विसंगति र भ्रष्टाचारको केन्द्र बन्न पुगेको छ ।
यस्तो विकृति सबैभन्दा बढी प्रदेश नम्बर २ मा भेटिन्छ । यसका अलवा हुम्ला, जुम्लालगायतका विकट क्षेत्रमा अत्याधिक रहेको देखिन्छ । जस्तो उदाहरणको रूपमा १४ वटा स्थानीय तह भएको पर्सालाई हेरौँ । त्यहाँको पर्सागढी नगरपालिकामा मेयर लोकनारायण यादव र निमित्त हाकिम भरतप्रसाद यादवको मिलेमतोमा लुट मच्चिएको छ । गत जेठसम्म त्यहाँ उपसचिवका रूपमा कार्यरत थिए शालिकराम ढकाल । इमानमा सतिसाल झैं । आर्थिक वर्ष अन्त्य हुने र भुक्तानी बढी हुने समय पारी उनलाई त्यहाँबाट मन्त्रालयमा सरुवा गरियो । अहिले सामान्यको अतिरिक्त समूहमा ल्याएर थन्काइएको छ र त्यहाँको निमित्त हाकिमको जिम्मा भरत यादवलाई दिइएको छ । उनी जिल्ला विकास समितिका कर्मचारी, अधिकृतस्तर सातौँ ।
यो त्यही नगरपालिका हो जहाँका मेयरले नीति तथा कार्यक्रम वाचन गरेवापत ५ लाखको बिल पेस गरेका थिए । यस्तै ४५ जना जेष्ठ नागरिकलाई प्रति व्यक्ति १ सय रूपैयाँको फलफूल वितरणमा ४५ सयको बिल बन्नुपर्नेमा ५ लाख रूपैयाँको बिल पेस गरियो । कोटेशन नै गुपचुप राखी बारा जिल्लाको. फर्मसँग मिलिभगत गरी बिउ बिजन, आर्गनिक मल खरिद वितरण, धारा, मोटर, ह्युमपाइप, विद्यालय फर्निचरलगायतका प्रति शीर्षकमा २०÷२० लाख रूपैयाँ छुट्याइयो । यसरी गैरकानुनी भुक्तानी दिनका लागि लेखा अधिकृतले आनाकानी गरे । उनी आर्थिक वर्षको अन्त्यमा मोवाइल स्वीच अफ गरेर हिँड्दा अहिले त्यहाँका मेयर र निमित्त कार्यकारीले उनको सरुवा मिलाइदिनु भन्दै महालेखा नियन्त्रकको कार्यालयलाई गुहारेका छन् । त्यहाँ लेखाका हाकिम छन्, रामकुमार कुसवाह । उनले मेयर र निमित्त कार्यकारीको भ्रष्टाचारमा साथ दिन नसक्ने बताउँदा त्यहाँबाट खेद्ने तयारी हुँदैछ ।
अहिले अधिकांश स्थानीय तहमा निमित्त हाकिम र जनप्रतिनिधिको मिलेमतोमा लुट मच्चिएको छ । जस्लाई महालेखा परीक्षकको कार्यालयले अनियमितता औँल्याएको छ ।
सामान्य प्रशासनमा कप्र हेर्ने कर्मचारीहरु बदमास हुँदा जनप्रतिनिधिबाट मोटो रकम बुझेर हाकिम नखटाउने र निमित्तकै भरमा स्थानीय तह चलाउन छुट दिँदा अधिकांश स्थानीय तहमा करोडौँ घोटला हुँदै आएको छ । निमित्तबाट काम चलाउँछु, कन्फर्म हाकिम नपठाई दिनू भन्दै सिंहदरबार धाउने जनप्रतिनिधि र निमित्त बन्न चाहने हाकिमबाट मोटो रकम बुझेर त्यहाँ कर्मचारी नपठाउँदा अहिले ती ठाउँमा भ्रष्टाचार मौलाएको छ ।
कतिपय स्थानीय तहमा चाहिँ मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई जनप्रतिनिधिले हाजिर हुन नदिने तथा निमित्त भई काम गरिरहेका कर्मचारीले पनि जनप्रतिनिधिसँग मिलेर हाजिर हुन अवरोध गर्ने गरेका छन् । स्थानीय तह जसलाई दैलोको सिंहदरबार भनियो । त्यही घर दैलोको सिंहदरबार अहिले कमाण्ड गर्ने कर्मचारीको अभावमा समस्या खेपिरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक अनुसार, मुलुकभरका ७ सय ५३ स्थानीयतहमा झण्डै एक तिहाई प्रमुख प्रशासकीय अधिकृत विना नै चलिरहेका छन् । ती स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत नपाउँदा निमितकै भरमा चलिरहेका हुन् । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरुबीच नीतिगत तथा अन्य विषयमा मतभेद हुँदा अधिकांश स्थानीय तहमा कर्मचारी जानै मान्दैनन् । गएका कर्मचारीहरु पनि छिटोछिटो सरुवा मिलाएर हिँड्ने गरेका छन् । स्थानीय तहमा सेवा प्रवाहका लागि कर्मचारी जान नमान्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव सिर्जना भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिए पनि निमित्त कर्मचारीले दैनिक अत्यावश्यक कामबाहेक अन्य काम नगर्दा स्थानीय तहमा सेवा प्रवाहमा समस्या भएको छ । कतिपय स्थानीय तहमा प्रशासन सेवाका कर्मचारी नजाँदा शिक्षा, स्वास्थ्यलगायत अन्य सेवाका कर्मचारीलाई निमित्त दिँदै आएको छ । यस्तै मन्त्रालयले रौतहटको यमुनामाई गाउँपालिकामा आयुर्वेदको कविराज राम श्रेष्ठ राय यादवलाई निमित्त प्रमुख प्रशाकीय अधिकृतका रूपमा खटाएका छन् । उनी स्वास्थ्य सेवाका सातौँ तहका कविराज निरीक्षक हुन् । त्यहाँ जनप्रतिनिधिसँग मिलेर उनले लुट मच्चाएका छन् । अर्काे रमिता छ रुकुुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा । त्यहाँको प्रमुख प्रशासकीय अधिकृतमा मन्त्रालयले शाखा अधिकृत रामप्रसाद आचार्यलाई खटाएको हो । तर, उनलाई त्यहाँ हाजिरै हुन दिइएन । बरु उल्टै धम्की दिइयो, हाजिर गर्न आए राम्रो नहुने भन्दै । यसरी धम्की पाएपछि उनी बाटैबाट फर्किए । अहिले त्यहाँ कृषि सेवातर्फका प्राविधिक सहायक (प्रास) सहायक पाँचौँ तहका कर्मचारी रमेश पुनले प्रमुख प्रसाकीय अधिकृतको रूपमा काम गरिरहेका छन् ।
यस्तै, हुम्लास्थित सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले सोही गाउँपालिकाका प्राविधिक सहायक रुद्रबहादुर शाहीमाथि दुई करोड हिनामिनाको चार्ज लगाउँदै निलम्बन गरे । गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा शाहीले दुई करोड बराबरको रकम अनियमितता गरेको चार्ज लगाएर उनलाई निलम्बन गरिएको छ ।
अहिले मुलुकभरका ७५३ स्थानीय तहमध्ये २०४ स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ । जसमध्ये तीन उपमहानगरपालिका, १२० नगरपालिका र ८० गाउँपालिका छन् । सामान्यको कप्र हेर्ने राजीव पोखरेल, वसन्त अधिकारीलगायतको मिलेमतोमा ती स्थानीय तहमा फूल हाकिम नपठाई निमित्तलाई जिम्मेवारी दिँदा अहिले भ्रष्टाचार मौलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *