अनियमिततामा डामिए बोर्डका सिइओ रेग्मी

समाचार

काठमाडौ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मी अनियमिततामा डामिएका छन् । उनले मनलाग्दो ढंगले खर्चिने र बेथितिलाई प्रशय दिन थालेका बोर्डका कर्मचारीहरूले गुनासो गरेका छन् ।
रेग्मी, योगेश भट्टराई पर्यटनमन्त्री हुँदा बोर्डमा पुगेका हुन् । यो डेढ वर्षको अवधिमा पर्यटनको विस्तार र विकासमा सिन्को नभाँचे पनि आफ्नो सेवा सुविधामा भने ऐन कानुन सबै मिचेर गर्न हुने वा नहुने सबै काम गरिरहेको बोर्डका कर्मचारीहरू गुनासो पोख्छन् । जनता कोरोनासँग लडिरहँदा र कोरोना कहरकै कारण पर्यटन क्षेत्र थिलथिलो भइरहँदा राहतका प्याकेजमा केही कार्यक्रम ल्याउन नसकेका रेग्मीले पर्यटन बोर्डको सिइओ बस्ने कार्यकक्ष, सँगैको बैठक कक्ष र सिइओको पिए बस्ने कोठासहित तीन वटा कोठा मर्मतका नाममा झण्डै २९ लाख स्वाहा पारेका कर्मचारीले जानकारी दिएका छन् । उनले आफ्नै कार्यकक्ष र सचिवालय मर्मतका नाममा ऐन कानुन नियम मिचेर मनलाग्दी खर्च गरेका छन् । सार्वजनिक खरिद ऐनको बर्खिलाप हुने गरी सचिवालय बनाउने नाममा मात्र साढे २८ लाख खर्चिएका हुन् । ऐन मिचेर काम गर्दा उनले आफू निकटको कम्पनीलाई काम दिएको, एउटै प्याकेजमा फरक–फरक खर्च गर्न लगाएको, सम्बन्धित विभागका वरिष्ठ कर्मचारीलाई पन्छाएर कनिष्ठबाट फाइल उठाउन लगाएको, फरक–फरक शीर्षकमा भुक्तानी गर्न लगाएको कर्मचारीहरू सुनाउँछन् । कर्मचारीहरूका अनुसार, २८ लाखको काम गराउँदा ८ चरणमा गराइएको छ । यसो गर्दा सार्वजनिक खरिद ऐन छल्ने मनसाय हो । रेग्मीले कार्यालय भत्काउन ४३ हजार, सिलिङ बनाउन दुई लाख तीन हजार, पेन्टिङ तथा वाल पुटिङ गर्न एक लाख दुई हजार, भुँइ, ढोका तथा झ्याल बनाउन छ लाख ४७ हजार रुपैयाँ भुक्तानी गरेका छन् । फर्निचरको काम गर्न सात लाख ४९ हजार, फर्निसिङको कामलाई तीन लाख ४५ हजार, इलेक्ट्रिकवर्कमा दुई लाख ८१ हजार र ग्राफिक्स प्रिन्टिङको कामका लागि एक लाख ५८ हजार गरी भ्याटसहित कुल २८ लाख ५९ हजार ५१४ रुपैयाँ खर्च गरेको विवरणबाट देखिन्छ । बोर्डका अरु कर्मचारीको कार्यकक्षमा १० औँ वर्षदेखि कार्पेटसम्म परिवर्तन नभएको अवस्थामा सिइओको कार्यकक्ष भने राम्रो अवस्था हुँदाहुँदै भत्काएर अनावश्यक खर्च गरिएको भन्दै त्यहाँका अधिकांश कर्मचारीहरूले चित्त दुखाइ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *