मालघाटको घटनाबाट सिक्नु पर्ने पाठ

सम्पादकीय

सम्पादकीय

दार्चुलको मालघाटबाट टुइनमार्फत महाकाली नदी तरेर यो जिल्लाको सदरमुकाम आउने क्रममा जय सिंह धामीको नदीमा खसेर मृत्यु भएको छ । यस सम्बन्धमा प्रत्यक्षदर्शीको हवाला दिँदै भारतको सीमा सुरक्षा बलका सिपाहीले टुइन लठ्ठा काटिदिँदा धामी महाकाली नदीमा खसेर मृत्यु भएको दाबी गरेका छन् । यस सम्बन्धमा पिथौरागढस्थित भारतीय जिल्ला प्रशासनले भने धामी महाकाली नदीमा खसेर निधन हुनुमा भारतीय सीमा सुरक्षा बलका सिपाही जिम्मेवार नभएको र दुर्घटनामा परेर उनको मृत्यु भएको जिकिर गर्दै वक्तव्य प्रकाशित गरेको छ । यस सम्बन्धमा छानबिन गरेर यथार्थ पत्ता लगाउनका लागि नेपाल सरकारले गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको छ । टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्नुपूर्व नै धामीको निधन टुइनबाट महाकाली नदी पार गरी सकेपछि चिप्लिएर भएको हो भन्ने भनाइ पनि अहिले आउन थालेको छ । यसभन्दा अगाडि भारतीय सीमा सुरक्षाबलका सिपाहीले टुइनको लठ्ठा काटिदिएपछि नदी पार गर्ने क्रममा रहेका धामीको महाकालीमा खसेर मृत्यु भएको भन्ने भनाइ केही प्रत्यक्षदर्शीको हवालामा सार्वजनिक भएको थियो । तर, यस सम्बन्धमा स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७४ साल फागुन २ गते प्रधानमन्त्रीको सपथ ग्रहण गरेलगत्तै दुई वर्ष भित्रमा सम्पूर्ण टुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तत्कालीन प्रधानमन्त्री ओलीको प्रतिवद्धताअनुसार दार्चुलाको यो घटना भएको मालघाटमा नै टुइन विस्थापित गरेर झुलुंगे पुल निर्माण गर्न शिलान्याससमेत भएको थियो । तर, ठेकेदार पक्षले समयमा नै झुलुंगे पुल निर्माण नगरी दिँदा एकातिर त्यस क्षेत्रका जनताले नदी वारपार गर्नका लागि ठूलो कष्ट भोग्दै आएका थिए भने यो हृदयविदारक घटना पनि झोलुंगे पुल नभएकै कारणले भएको हो । त्यस कारण यो घटनाको मामिलामा एकातिर भारतीय सीमा सुरक्षा जिम्मेवार छ की छैन भन्ने अनुसन्धान गर्न जरुरी छ भने अर्कोतिर सबै नदीनालाबाट टुइन विस्थापित गरेर कम्तिमा झुलुंगे पुल निर्माण गर्न सरकारले प्राथमिकताका साथ पहल गर्न जरुरी छ । झुलुंगे पुलको अभावमा कतिपय स्थानका बालबालिका अध्ययनका लागि खोला तर्नुपर्दा टुइनबाट कष्टकर र जोमिमपूर्ण स्थितिलाई भोगिराखेका हुन्छन् । त्यसकारण यो घटनाका सम्बन्धमा आक्रोश व्यक्त गर्दै भारतीय सीमा सुरक्षाबलका सम्बन्धित सिपाहीहरू माथि कडा कारबाही हुनुपर्ने र भारत सरकारले माफी माग्नु पर्ने माग गरेसँगै सम्पूर्ण मुलुकका नदी नालाबाट तुइनलाई विस्थापित गरेर कम्तिमा झोलुंगे पुल निर्माण गर्नेतिर सरकार लाग्नु पर्छ भने यसका लागि जनताले दबाब पनि चर्कोसँग दिन जरुरी छ । ताकी यस्तो घटना फेरि नदोहोरियोस् र जय सिंह धामीहरूको यसरी दुर्भाग्यपूर्ण रूपमा निधन नहोस् ।
धामीको निधन हुने गरी भएको यो दुर्भाग्यपूर्ण दुर्घटनामा भारतीय सीमा सुरक्षाबलका जवानहरू जिम्मेवार छन् कि छैनन् भन्ने गृहमन्त्रालयले गठन गरेको छानबिन टोलीले अनुसन्धानपछि वास्तविकता सार्वजनिक गर्ला । तर, भारतीय सीमा सुरक्षा बलका सिपाहीलगायतका अधिकृतहरूको नेपालीप्रति कहिले पनि सकारात्मक व्यवहार भने हुने गरेको छैन । नेपालबाट भारततिर कामको खोजीमा जाने र भारतबाट स्वदेश फर्किने नेपालीहरूलाई भारतीय सीमा सुरक्षाबलका जवान तथा जुनियर अधिकृतहरूले दुःख दिने मात्र होइन, लुट्ने गर्दै आएका छन् । सर्वसाधारण जनताले भोग्दै आएको यो समस्याप्रति नेपाल सरकार अहिलेसम्म गम्भीर देखिएको छैन । नेपाल सरकारले कामको खोजीमा भारत जाने र कामबाट स्वदेश फर्कने नेपालीहरूलाई सहज रूपमा आवतजावतको व्यवस्था मिलाउनका लागि नेपाल सरकारले भारत सरकारसमक्ष पहल गर्नु पर्दछ । भारतीय सीमा सुरक्षाबलका सिपाहीहरूको नेपालीप्रति जहिले पनि मिचाहा व्यवहार हुने गरेको कारणले गर्दा पनि यो घटनाका सम्बन्धमा भारतीय सुरक्षा बलका सिपाहीहरू जिम्मेवार रहेको भन्ने नेपाली जनमत बनेको हो र भारतीय सीमा सुरक्षाबलसँगै भारत सरकारप्रति समेत नेपालीको आक्रोश बढेर गएको हो । त्यस कारण यो आक्रोशलाई शान्त पारेर आफूप्रतिको नेपाली जनताको नकारात्मक धारणालाई कम पनि यो घटनासँगै भारतीय सीमा सुरक्षा बलका सिपाहीहरूले नेपालीप्रति गर्ने व्यवहारमा सुधार ल्याउनेतिर भारत सरकारले पहल गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *