भयावह रुपमा फैलिएको कोरोनाका सम्बन्धमा

सम्पादकीय

सम्पादकीय

सन् २०१९ को अन्त्यबाट सुरु भएको कोरोना महामारीले अहिले विश्वव्यापी रुपमा नै भयावह रुप लिएको छ । युरोपमा यो महामारी चौथो चरणमा प्रवेश गरी सकेको छ । खोपको आविस्कार भएर अधिकांश नागरिकलाई लगाई सकिएको भएपनि महामारी व्यापक हुन थालेपछि युरोपका अधिकांश मुलुकले कडा लकडाउन गरी राखेका छन् । युरोपसँगै अमेरिका र एशियामा पनि यो महामारी प्रचण्ड रुपले फैलिराखेको छ । नेपालसँग लामो सिमाना जोडिएको र खुल्ला सिमाना भएको भारतमा समेत यो महामारीले व्यापक रुप लिएको छ । ३० मध्ये १८ वटा प्रदेशमा कोरोना महामारी भयावह रुपले फैलिएको अवस्थामा अहिले भारत गुज्रिराखेको छ भने १८ मध्य पनि महाराष्ट्र र मुम्बई क्षेत्रलाई अहिले कोरोना महामारीको सन्दर्भमा हट स्पट मानिएको छ । भारतका अधिकांश प्रदेश कोरोनाको चर्को चपेटमा आएको कारण यो महामारी नियन्त्रण गर्न सरकारको तर्फबाट लकडाउन गर्ने काम भई राखेको छ । कोरोना महामारी फैलिएसँगै र सरकारले समेत यो महामारी नियन्त्रण गर्न लकडाउन लगाए सँगै त्यसको असर त्यस क्षेत्रमा रोजगारीका लागि पुगेका नेपाली जनता माथि पनि परिराखेको छ । लकडाउनको कारण उद्योग तथा व्यवसाय भारतको महाराष्ट्र लगायतका सबैजसो प्रदेशमा ठप्प भएपछि हातमुख जोड्न समेत समस्या पर्न थालेपछि त्यहाँ काम गरी राखेका नेपाली जनता स्वदेश फर्कन थालेका छन् ।
खास गरेर मुम्बई लगायत महाराष्ट्र क्षेत्रमा नेपालको पश्चिम पहाडी क्षेत्रका जनता रोजगारीका लागि जाने गरेका छन् । गत वर्ष कोरोना महामारी पहिलो पटक फैलिँदा पनि त्यस क्षेत्रका उद्योग धन्दा तथा व्यवसाय ठप्प भएपछि ज्यान जोगाउन भनेर ठूलो संख्यामा त्यस क्षेत्रमा रहेका नेपाली स्वदेश फर्किएका थिए । अहिले पनि कोरोना महामारी विगतको भन्दा भयावह रुपले फैलिन थालेपछि भारतका विभिन्न स्थानमा काम गरेर हातमुख जोडिराखेका नेपाली जनता अहिले कोरोनाबाट ज्यान जोगाउन भन्दै स्वदेश फर्किराखेका छन् । खास गरेर सुदुरपश्चिमको अन्तिम जिल्ला कन्चनपुर सँगै कैलाली र रुपन्देही तथा बाँके क्षेत्रका सिमानाकाबाट हरेक दिन ठूलो संख्या नेपाली स्वदेश फर्किराखेका छन् । स्वदेश फर्किने क्रममा रहेका नेपाली जनतालाई सरकारी तहबाट पिसिआर परिक्षण सिमानाकामा नै गर्ने प्रवन्ध मिलाईएको भएपनि अधिकांश नेपाली भने नेपाल पिसिआर परिक्षण जोगिन चोरबाटोबाट नेपाल प्रवेश गर्ने गरेका छन् र यसरी कोरोना महामारीको कारण आफूले गर्दै आएको काम धन्दामा असर परेपछि स्वदेश फर्किएका नेपाली अबको केही दिनमा नै भोकले भन्दा रोगले मर्ने ठीक भन्दै पुनः भारततिर नै लाग्ने छन् ।
यसरी लकडाउनको कारण आफूले गर्दै आएको दैनिक काम ठप्प भएपछि र कोरोना महामारीबाट जोगिने उद्देश्य समेत राखी स्वदेश फर्किएका नेपाली जनता केही दिनमा नै भोकले भन्दा कोरोनाले मर्न जाति भन्दै आफ्नो कार्यक्षेत्रमा फर्किने क्रम चाँडै नै सुरु हुनेछ । किनभने गत वर्ष पनि यसैगरी आफ्नो कामधन्दा ठप्प भएपछि घर फर्किएका नेपाली केही दिनमा नै भोकले भन्दा रोगले मर्नु बेस भन्दै भारत तिर फर्किएका थिए र यसरी उनीहरुले गत वर्ष पनि कोरोना महामारी नेपालको पहाडी र दुर्गम क्षेत्रमा समेत पु¥याउने र त्यहाँबाट पनि फेरि भारतका विभिन्न स्थानमा लैजाने काम गरेका थिए । यो पटक पनि त्यही प्रवृत्ति दोहोरिने निश्चित छ । नेपाल सरकारले कोरोनोका कारण दैनिक काम ठप्प भएर स्वदेश फर्किएका नेपालीलाई तत्कालका लागि हातमुख जोड्न पुग्नगरी राहत उपलब्ध गराउँदैन भन्ने थाहा हुँदाहुँदै पनि उनीहरु कोरोना महामारी ल्याउन र लैजानकै लागि नेपाल आउने र फर्किने गरी राखेका छन् । नेपाली जनतालाई आफ्नो मुलुकमा फर्किन निषेध गर्न संविधान र मानवताले दिँदैन । तर यसरी फर्कने नेपालीलाई सिमानाकामा नै कडाईको साथ परिक्षण गरी कोरोना पोजिटिभ देखिएका व्यक्तिहरुलाई आईसोलेसनमा राखेर उपचार गर्नेतिर सरकारले गम्भीरताका साथ पहल गर्नु पर्दछ । सरकारको तर्फबाट यसो हुन सकेन भने कोरोना खोप लगाएपनि यो महामारी थप भयावह रुपमा फैलिने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *