जातिय राज्यको औचित्य ?

समाचार सम्पादकीय

सम्पादकीय

जब राजनीतिक दलसँग जनतालाई आफुतिर आकर्षित गर्ने ठोस एजेण्डा र कार्यक्रम हुँदैन, तब दलहरु जातको पछाडी लाग्छन भन्ने कहावत विश्वव्यापी रुपमा प्रचलित छ । अहिले प्रदेशसभाका जम्मा १० सीट भएको पार्टी एकीकृत समाजबादीको तर्फबाट १ नं प्रदेश सरकारको नेतृत्व गरी राखेका राजेँद्र राई चुनावको मुखमा राजनीतिको खिचातानीका लागि प्रदेशको नाम किराँती जातीको आधारमा किरात प्रदेश राख्नु पर्छ भनेर विवाद चर्काई राखेका छन । र, यसको परिणाम यो विधानसभाले प्रदेशको नाम टुंग्याउने सम्भावना लगभग समाप्त भएको छ ।
एक नम्बर प्रदेशमा ३ वटा सरकार परिवर्तन भएका छन् र संसदमा उपस्थित लगभग सबैदल सरकारमा पुगी सकेका छन् तर संसदसभाको पाच बर्षे कार्यकालमा यो प्रदेशले स्थायी नाम नपाउने निश्चित भएको छ । आजको जमानामा जातको आधारमा प्रदेशको नाम राख्ने र चुनावमा भोट बटुल्ने सोच नै आजको जमानामा हाँस्यस्पद भएको छ । तर यसैको पछि लागेका छन् १.प्रदेशका मुख्यमन्त्री । सशस्त्र ध्दन्द कालमा पनि जनताको समर्थन जुटाउनका लागि माओबादीले हरेक भेग र बस्तीलाई जनजातीय राज्य बाड्दै हिँडेको थियो । जातको आधारमा प्रदेशको नाम राख्दा जनतामा के कति समस्या समाधान हुन्छन् भन्ने सम्बन्धमा हिजो पनि माओबादीले केही बोलेको थिएन भने आज पनि एकीकृत समाजवादी र १ प्रदेशका मुख्यमन्त्रीले केही बोलेका छैनन ।
अन्य प्रदेशमा जस्तै १ प्रदेशमा पनि विभिन्न प्रकारका समस्या र चुनौती छन् । तर मुख्यमन्त्री राई भने ती समस्या समाधान गर्नेमा होईन प्रदेशको नाम जातीय आधारमा किँरात राख्ने भनेर राज्यको ढुकुटीमा समेत दुरुपयोग गरेर लागि परिराखेका छन । तर प्रदेश सभाले आफ्नो पाँच बर्षे कार्यकाल पुरा गर्न लाग्दा पनि प्रदेशको नाम तय नहुनुलाई सरकारको मात्र होईन दलहरुको कै कमजोरी मान्नु पर्दछ । यस्तै कमजोरी र असफलताको कारणले गर्दा पनि संघीयता माथि प्रश्न उठन थालेको हो भन्दा अन्यथा हुदैन । लगभग ५ बर्षसम्म मारमुंग्री गर्दा पनि प्रदेशको नाम तय गर्न नसक्ने दलहरुले देश विकाश र जनताको समस्या कसरी समाधान गर्छन् भन्ने जनताको दिमागमा उठेको प्रश्नले संघीयता माथि नै प्रश्न उठाएको छ ।
त्यस कारण केही जनताको भोट पाउने साघुरो सोचाईलाई त्यागेर यो एक्काईसौ शताब्दी अनुकुल हुने गरी प्रदेशको नामको पहल हुनु पर्दछ र प्रदेशको नाम नै राख्न नसकेको कलंक बोकेर जनतासँग लाज पचाएर भोट माग्न जानु हुँदैन । तर यो अवस्था त लाज हुनेका लागि हो । हाम्रा नेताले त लाज सरम सबै पचाएको स्थिति छ । भोटको लागि आज जातलाई उचाल्दा भोली त्यसको के परिणाम आउँछ भन्ने पनि हेक्का राख्नु पर्दछ । यस्ता महत्वपूर्ण संवेदनशील पक्षलाई निहित स्वार्थका लागि १ प्रदेशमा मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्ती नै अहिले राजनीतिक स्वार्थका लागि जातको एजेण्डालाई बोकेर हिडी राखेको छ । नेताहरुको ताल यही हो भने चुनाव पछि गठन हुने अर्को प्रदेशसभाले पनि १ प्रदेशको नाम जुराउन सक्दैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *