आरजु म्याडम धेरै सक्रिय नहुनुस्

राजनीति

काठमाडौं । दुवै ‘फष्ट लेडी’ हुन् । तर, कहाँको राधिका शाक्य, कहाँको आरजु राणा ? राधिका ‘फष्ट लेडी’ हुँदा कहीँ कतै विवादमा परिनन्, हस्तक्षेप भएको खबर सुनिएन । जसै बूढानिलकण्ठबाट शेरबहादुर देउवा बालुवाटार पसे, उसै ‘फष्ट लेडी’ राणाको सक्रियता बढ्दो छ ।
प्रधानमन्त्रीको शपथ खाएको दुई साता व्यतित हुँदासमेत सचिवालय गठन गर्न नसकेको देउवाले राज्यमन्त्री बनाए उमेश श्रेष्ठलाई । उनको नियुक्तिपछि देउवाको खुट्टी देखियो भन्नेहरू धेरै भेटिएका छन् ।
आरजु, भुषण र प्रदीप राणाहरूको सक्रियतामा उमेशलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको चर्चा चल्न थालेको छ । उनै आरजुले राजनीतिक र प्रशासनिक सक्रियता बढाउन थालेकी छन् । आइतबार मध्यान्ह मात्र राणाले ललितपुरको भिभान्ता होटलमा केही सचिव र महत्वपूर्ण विभागका महानिर्देशकहरूसँग डिनर बैठक गरेकी छन् ।
यता आरजुकै सक्रियतामा विभिन्न मन्त्रालयका कर्मचारी सरुवाका लागि सचिवहरूलाई समेत दबाब दिन थालिएको छ । आरजुले स्वास्थ्य सेवा विभागको हाकिम परिवर्तन गर्नका लागि विभागीय सचिवहरूलाई बालुवाटारमै बोलाएर दबाब दिएकी छन् । त्यहाँको महानिर्देशक छन् दीपेन्द्ररमण सिंह । उनलाई हटाएर त्यहाँ आरजुले आफ्नो मान्छे नियुक्त गर्न सचिवहरूलाई बालुवाटारमै बोलाएर दबाब दिएकी हुन् । आरजुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र सचिव लक्ष्मण अर्याललाई बालुवाटारमै बोलाएर अनुचित दबाब दिएको स्रोतले दाबी गरेको छ । आरजुले अबको तीन महिनापछि अवकाश पाउन लागेका डा.आरपी बिच्छालाई सो विभागको महानिर्देशक बनाउन सचिवमार्फत दबाब दिएकी हुन् । डा.बिच्छा अहिले कान्ति बाल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन् । अवकाश पाउन तीन महिना मात्र बाँकी रहेका कर्मचारीलाई महानिर्देशक बनाउन बालुवाटारले दबाब दिएको हो । ०७८ कात्तिक ६ गते अनिवार्य अवकाश पाउँदैछन् उनी । अहिले विभागमा १२औँ तहका कर्मचारी दिपेन्द्ररमण कार्यरत छन् । उनी सचिवको प्रतिष्पर्धामा थिए । बढुवा सिफारिस समितिले उनको नाम सचिव बढुवाका लागि समेत सिफारिस गरेको भए पनि डा.रोशन पोखरेललाई सचिवमा बढुवा गरिएको थियो । १२औँ तहका सचिवलाई हटाएर निकै कनिष्ठ डा.आरपी बिच्छालाई सो विभागको महानिर्देशकमा नियुक्ति गर्न आरजुले सचिव अर्याललाई अनावश्यक दबाब दिएको सो स्रोतले जनाएको छ । बिच्छा ११औँ तहका कर्मचारी हुन् । स्वास्थ्यमा ११औँ तहका उनीभन्दा सिनियर २० जना कर्मचारी छन् ।
कान्ति बाल अस्पतालमा कार्यरत बिच्छामाथि करोडौँ अनियमितताको चार्जसमेत लागेको छ । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागि अनुदान दिएको २ करोड रुपैयाँमा डा.बिच्छाले २० प्रतिशत घुस मागेपछि अहिलेसम्म पनि जडान हुन नसकेको त्यहाँका कर्मचारीहरू सुनाउँछन् । सोही कमिसनको चक्करमा पर्दा अहिलेसम्म कान्तिमा अक्सिजन प्लान्ट जडान हुन सकेको छैन । डाइग्नोकेम इन्टरनेसनलका सञ्चालक विज्ञान शर्माले ५ प्रतिशतमात्र मुनाफा राखी कम दरमा बोलपत्र पेस गरेकाले २० प्रतिशत कमिसन दिन नसक्ने भनेपछि उनले जडान नै गर्न दिएका छैनन् । स्मरण रहोस बिच्छा परिवार स्वास्थ्य महाशाखाको प्रमुख हुँदा कर्मचारीको भ्रमणदेखि विभिन्न भत्ता (टिएडिए)को भुक्तानी दिँदा घुुस मागेपछि कार्यालय सहयोगीदेखि चिकित्सकले तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले गुनासो गरेका थिए । त्यसपछि मन्त्री थापाले उनलाई हटाएका थिए । यस्तै भ्रष्टाचारमा मुछिएका बिच्छालाई महानिर्देशक बनाउन स्वास्थ्य मन्त्रालयलाई बालुवाटार र आरजुले अनावश्यक दबाब दिन थालेको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *