एमसिसीका कारण कुलमानको पुनर्नियुक्ति हुँदै

समाचार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पम्फा भुसाललाई ऊर्जामन्त्री बनाएसँगै एउटा चर्चा चलिरहेको छ, नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति । अस्ति सोमबार मन्त्रिपरिषद् बैठक बस्यो, र फेरि हल्ला चल्यो मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको र हितेन्द्र शाक्यलाई ऊर्जा तथा जलश्रोत आयोगमा सरुवा गरेको ।
सोमबारको क्याबिनेटले विभिन्न आठ निर्णय ग¥यो । १० सचिवहरूको सरुवादेखि कर्मचारीको तलबमान स्वीकृतसम्म । तर, कुलमानको नियुक्तिको खबर सार्वजनिक भएका थिएन । सोमबार बेलुकासम्म वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कतै सरुवा भएको थिएन, उनले राजीनामा दिएका पनि थिएनन् । उसो हो भने यो कुलमानवाला फण्डा हो चाहिँ के त ?
स्रोतका अनुसार सोमबारको क्याबिनेट बैठकमा विभागीय मन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) मा कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव लगेकी हुन् । तर, सो प्रस्ताव अस्वीकृत भएको थियो । मन्त्री भुसालले सचिव देवेन्द्र कार्कीलाई शाक्यलाई बर्खास्त गरी घिसिङलाई नियुक्ति गर्ने प्रक्रियाको फाइल उठाउन निर्देशन दिएकी थिइन । सचिवले नमाने पनि पछि तीव्र दबाबका कारण फाइल उठाएर मुख्यसचिव शंकरदास बैरागीसमक्ष पेश गरिए पनि उक्त प्रस्ताव फिर्ता भएको थियो । अस्तिको क्याबिनेटमा मन्त्रीले ठाडो प्रस्ताव राखिन तर पारित भएन ।
स्रोतका अनुसार आफ्नो प्रस्ताव पारित नभएपछि भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई यो विषयमा जानकारी गराइन । सोमबार बसेको मन्त्रिपरिषदको बैठकलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई बोलाएर शाक्यको ठाउँमा कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णयमा हस्ताक्षर गर्न लगाएका छन् । मन्त्रिपरिषको बैठकलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री देउवाबीच छलफल भएको थियो । लगत्तै मुख्यसचिवलाई बोलाएर कुलमानलाई प्राधिकरणको एमडीमा नियुक्ति गरिएको निर्णय र शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको निर्णयमा हस्ताक्षर गर्न लगाइएको छ । कुलमानलाई यसरी पुनः प्राधिकरणमा तान्न जोड गर्नुका कारण उनी एमसिसी परियोजनासँग जोडिएका कारण भएको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *