सामाजिक दूरीको पालना नगर्दा फैलिदै छ कोरोना

समाचार

काठमाडौं । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खुलाइपछि सार्वजनिक यातायात चल्न थालेका छन् । लामो दूरीको सवारीसाधन पनि सञ्चालनमा आएका छन् । छोटो दूरीको सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई २५ सिटभन्दा बढी क्षमता भएका गाडीमा सिटभन्दा बढी यात्रु नराख्ने भनेर सरकारले घोषणा गरेता पनि छोटो दूरीमा सञ्चालन भएका बसमा व्यापकरूपमा सिटभन्दा बढी यात्रु राखेको देखिन्छ । जस्तै रिङरोडदेखि काठमाडौंभित्र चल्ने छोटो दूरीका माइक्रो, मिनिबसजस्ता सवारीसाधनमा सिटभन्दा बढी यात्रु राखेको देख्न सकिन्छ । चालकले, सहचालकले पनि यात्रुलाई गाडीभित्र कोचाकोच गरेको देखिन्छ । यात्रा गर्ने यात्रुले पनि यो गाडी भीड छ, अर्को गाडी प्रयोग गर्नुपर्छ भन्नेतिर ध्यान दिएको छैन । यात्रु र सर्वसाधरणको यही व्यहारका कारण कोरोना घट्नेभन्दा बढ्ने संकेत देखिएको छ । खासगरी धुलिखेल, बनेपा, चौतारा, भक्तपुर चल्ने गाडीमा भीड लाग्ने गरेको छ । यसरी गाडीमा सिटभन्दा बढी यात्रु बोक्नु मुर्खता भएको देखिन्छ । यात्रुले पनि सिट नभएपछि अर्को गाडी प्रयोग गर्नु पर्नेमा भीड भएको गाडीमा नै जबरजस्ती चढ्ने गरेका छन् । अहिले बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रिनेको संख्या दिनदिनै बढ्ने क्रममा छ । सरकारले २५ जनाभन्दा बढी भेला जुलुस आमसभा गर्न निषेध गरेता पनि चोक–चोकमा राजनीतिक दलका भ्रातृ संगठनका कार्यकर्ताले नाराजुलस निकाल्ने गरेका छन् । विवाह, व्रतबन्ध, पास्नी, घरपैँचोजस्ता कार्य अधिकांशले गर्दै आएका छन् । अहिले कतिपय मानिसले सामाजिक दूरी कायम गरेका छैनन् । चिया पसल, किराना पसल, खाद्यान्न पसल, मदिरा पसल, बर्गर हाउस, क्याफे, रेष्टुरेन्ट, तरकारी पसल, औषधि पसल, सार्वजनिक यातायात, दूध डेरी, मासु पसलजस्ता ठाउँमा भिडभाड चलिरहेको छ । अधिकांश नेपालीले सामाजिक दूरी कायम गरेका अवस्था छैन । गाडीमा यात्रा गर्ने कतिपय वृद्धावृद्धाहरूले मुखमा मास्क लगाएका देखिँदैन । यसको बारेमा कुनै पनि निकायले अनुगमन गरेको छैन । ट्राफिक प्रहरीले समेत चेकिङ गरेको अवस्था छैन । कुनै–कुनै गाडीले कोचाकोच यात्रु गाडीमा राख्दा यातायात व्यवस्था विभागले अनुगमन गरेको छैन । ट्राफिक प्रहरीले कानुनी अवधारणाको समेत पालना गरेका छैनन् । यात्रुले अनिवार्यरूपमा मुखमा मास्क लगाउनु पर्ने, स्यानिटाइजर दल्नु पर्ने, सिटभन्दा बढी यात्रु राख्न नपाइने भन्नेजस्ता कुरा उल्लेख गरिएता पनि यसको परिपालना भएको छैन । खानेकुरामा होटल, रेष्टुरेन्टमा भीड नगर्ने भनेता पनि भित्रीरूपमा खोलिएका न्युरोडभित्र सञ्चालनमा रहेका अधिकांश मःमः पसल, फाष्टफुड, तन्दुरी क्याफे, कफी हाउसजस्ता पसलमा बाहिरबाट पर्दा प्रयोग गरी भित्रीरूपमा पूर्णरूपमा सञ्चालनमा रहेका छन् । भित्रीरूपमा सञ्चालन गरिएका रेष्टुरेन्ट, क्याफे, तन्दुरी, कफि सपजस्ता पसलले प्रहरीलाई महिनावारी नजराना दिने गरेकाले प्रहरीले कारबाही गर्न नसकेको जनगुुनासो छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *