एमाले बलियो भयो भने मात्र मुलुक, लोकतन्त्र र संघीयता जोगिन्छ : अष्टलक्ष्मी शाक्य

राजनीति

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष तथा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एमालेलाई विभाजन गराउने शक्ति एकजुट भएर लागेको भन्दै प्रतिवाद गर्न आह्वान गरेकी छन् । एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले केही शक्तिले नेकपा एमालेलाई कमजोर बनाउन खोजिरहेको बताइन् ।
उनले कमजोर बनाउन खोज्ने शक्तिविरुद्ध एमाले एकजुट हुन नसक्दा आजको अवस्था आएको धारणा पनि राखेकी छन् । ‘हामी एकजुट भएको भए आज यो विचलित हुनुपर्ने अवस्था आउने थिएन’, शाक्यले भनिन् । उनले अहिलेको अवस्थाबाट पार्टीले केही नोक्सानी व्यहोरेको भन्दै नेतृत्वभित्रको बेमेलको कारण पार्टी एक हुन नसकेको बताइन् । आफूभित्र लडेर पार्टीलाई फाइदा नहुने शाक्यले बताइन् ।
पार्टी एकताको लागि १० बुँदेको पूर्णपालना गर्नुपर्नेमा उनले जोड दिएकी छन् । एमाले बलियो भयो भने मात्र मुलुकको लोकतन्त्र र संघीयता जोगिने शाक्यको भनाइ छ । ‘एमाले कमजोर भएको कारण धेरै शक्तिको चलखेल बढेको छ, जसले गर्दा एकपछि अर्को नसोचेको घटना घट्दैछ’, शाक्यले भनिन् । उनले वाग्मती प्रदेशमा पार्टी र मुलुकलाई जोगाउन एकतावद्ध भएर अगाडि बढ्ने निर्णय गरिएको जानकारी पनि दिइन् । ‘वाग्मती एउटा नयाँ उचाइँमा पुगेको छ, त्यो भनेको एकतावद्ध वाग्मती, एकतावद्ध एमाले हो’, शाक्यले भनिन् ।
पार्टी जोगाउनको लागि वाग्मती प्रदेशमा डोरमणि पौडेलले गरेको त्याग सम्मानयोग्य भएको पनि शाक्यले बताइन् । पौडेलले मुख्यमन्त्री पद छाड्न एकइञ्च पनि अप्ठेरो नमानेको जानकारी उनले गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *