‘खेलकुद महासंघले खेलाडीको सुविधाको मुद्दालाई जोडदार रूपमा उठाउने छ’

राजनीति

पोखरा । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले खेलाडीको सुविधाको मुद्दालाई जोडदार रूपमा उठाउने महासंघका अध्यक्ष रमेश पौडेलले बताएका छन् । खेलकुद महासंघ पोखरा महानगर कमिटिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले उक्त कुरा बताएका हुन् । खेलकुद महासंघका धारणा अघि सार्दै अध्यक्ष पौडेलले खेलाडीका मूल भावनालाई जोड्न सक्यो भने खेलकुद विकास सम्भव रहेको उल्लेख गर्दै भने, ‘खेलाडीको भत्ताभन्दा अफिसियलको धेरै छ, यो भिन्नता तुरुन्तै हटाउँदै अब आयोजना हुने राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीको भत्ता ५ हजार पु¥याउनु पर्छ ।’ उनले जोड दिँदै भने, ‘यदि राज्य तयार भएन भने खेलकुद महासंघले यो मुद्दालाई जोडदार रूपमा उठाउने छ ।’
जापानको राजधानी टोकियोमा हालै सम्पन्न भएको ओलम्पिकबारे चर्चा गर्दै अध्यक्ष पौडेलले खेलाडीभन्दा अफिसियलको भीडले खेलक्षेत्रलाई नै उपहास गरेको बताए । खेल क्षेत्रमा बढ्दै गइरहेको वेथितिले खेलाडीलाई ओलम्पिक मेरो हो भन्ने भावना जागृत गर्न नसकेको उल्लेख गर्दै उनले भने, ‘जहिलेसम्म खेलाडीलाई उपेक्षा गरिन्छ, पार्की र प्रशिक्षक मल्लजस्तै काण्ड सबन्धित निकायले गरिरहन्छन, पाँच खेलाडी पच्चिस अफिसियल त्यही पनि असम्बन्धित खेल क्षेत्रका अन्तर्राष्ट्रिय प्रतियोगितामा जान्छन् तबसम्म ओलम्पिक मेरो हो भन्ने भावना खेलाडीले गर्न सक्दैन, हामी यसविरुद्ध चर्को आवाज उठाउँछौँ ।’
खेल क्षेत्रमा लगानी नभएकै कारण समग्र खेलक्षेत्रले विकास हुन नसकेको तर्क अघि सार्दै अध्यक्ष पौडेलले खेलकुदमा लगानी नभएकै कारण पदकको सम्भावना पनि नरहेको बताए । खेल क्षेत्रको विकास गर्छु भन्ने इच्छा शक्ति भएको व्यक्ति नेतृत्वमा नआएको र खेलकुद मन्त्रालय पनि कसैको रोजाइ बन्न नसक्दा खेलकुदमा बग्रेल्ती समस्याहरू उठेको उनको भनाइ थियो । महासंघले यिनै विकृतीविरुद्ध आफ्ना आवाजहरू उठाइरहेको बताउँदै अध्यक्ष पौडेलले भने, ‘हामीले विगतको सरकारमा उठाएका मुद्दाका कारण नै केही उपलव्धी हासिल भएका छन,’ उनले थप जोड दिँदै भने, ‘हामी ति उपलव्धी रक्षासँगै खेलाडीको स्वाभिमानको रक्षा, पेटको कुरा र निवृत्तिभरणको कुरालाई संघर्षका रूपमा उठाउने छौँ ।’

समृद्धिको कुरा गीत गाएर मात्रै हासिल हुन नसक्नै भन्दै अध्यक्ष पौडेलले नेपालका १७ हजार विद्यालय, ७५३ पालिका र सरकारी र संस्थानहरूमा खेल प्रशिक्षकको नियुक्तिका लागि महासंघले सरकारलाई दबाब दिने बताउँदै अस्पताल मात्रै निर्माण गरेर निरोगी हुन वन्न नसक्ने बताए । उनले भने, ‘खेलकुदमार्फत समृद्धिको कुरा नारामा मात्रै सिमित राखेर हुँदैन यसलाई व्यवहारमा लागू गर्नुपर्छ । महासंघले सबैका लागि खेलकुद भन्ने आत्मासाथ गर्दै अघि बढ्ने छ, यदि हाम्रा मुद्दाका बारेमा सुनुवाइ नभए महासंघ आन्दोलनमा उत्रिने छ ।’
नेपाल खेलकुद महासंघ पोखरा महानगर कमिटिका अध्यक्ष खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष ओमकृष्ण प्रसाइँ, उपमहासचिव शान्ता माया परियार, युवा संघका नेता विष्णु पुनलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *