निष्ठाको राजनीति आवश्यक

लेख

कमलराज राई
नेपाल कम्युनिस्ट पार्टी (एमाले) अहिले दुई टुक्रा भएको अवस्था छ । यसमा एमाले अध्यक्ष केपी ओलीले रुखको एक÷दुई वटा पातहरु झरेर गएको भनेर चित्त बुझाइरहेका छन् भने उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने पार्टी शुद्धीकरण गरेको भनेर भन्न भ्याइरहेका छन् । जसरी जे भने पनि दुई शीर्ष नेताहरुबीच पदीय भागबन्डामा कुरा नमिलेपछि उनीहरुमा फुट आएको हो । जे भनेर चित्त बुझाए पनि वास्तवमा एमाले विभाजन भएकै हो । एमालेमा दुई नेताहरुको भाले जुधाइमा कतिपय नेता तथा कार्यकर्ता मारमा पर्ने देखिएका छन् । अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकरावको प्रतिफल नै एमालेको विभाजन हो भन्न सकिन्छ । जब एमालेको सरकार बन्यो, तब गुटबन्दी पनि चल्न थाल्यो । हुन त पहिलादेखि नै गुटमा रमाउने यी दुई नेताहरु जब एक पक्षले सरकारको नेतृत्व ग¥यो, तब अर्को गुटले आफ्नो हार हुन सक्ने आँकलनका साथ पार्टीमा नै स्पष्ट दुई लाइन संघर्ष चलेको हो । अध्यक्ष ओलीलाई उनैको गुटबाट देवत्वकरण गरिन सुरु ग¥यो, त्यहि कुरा वरिष्ठ नेता नेपाल पक्षधरलाई सैह्य हुन नसक्दा अन्ततः पार्टी दुई टुक्रमा परिणत भएको हो ।
पार्टीमा को भाले बन्ने टकरावका कारण फुट आएको हो । तर, अहिले जनतामा लुकाएर उनीहरुले नैतिकताको प्रश्नकै कारण नेकपा एमाले दुई टुक्रा भएको भन्न थालेका छन् । हुन त एमालेमा नैतिकतको खडेर भने लागेकै थियो । जब एमाले सरकारमा गयो, तब उनीहरुले विकास निर्माणलाई भन्दा पनि व्यक्तिगत स्वार्थलाई नै प्राथमिकता दिएर अघि बढेको देखिन्छ । आफ्ना आफन्तलाई पोस्ने, उनीहरुको पक्षमा मात्र काम गर्ने, राज्यको सम्पत्तिलाई अनेकौँ बाहनामा आफूनिकटलाई नै जिम्मा दिनेजस्ता कामहरु भएपछि वरिष्ठ नेता नेपाल पक्षले अध्यक्ष ओलीलाई नैतिकरुपमा गिराउन सफल भएका थिए । हुन पनि ओली जब प्रधानमन्त्री भए, तब केही गलत व्यक्तिहरु उनको वरिपरि घुम्न थाले, उनले पनि ती व्यक्तिहरुको एकतर्फी रुपमा संरक्षण गर्न थाल्दा सरकार नै अप्ठ्यारोमा समेत पर्न गएको थियो ।
यसैबीच, नेकपा एमालेका अध्यक्षले आफू सर्वैसर्वा भनेर घोषणा मात्र गरेपछि पार्टीमा झन् विवाद चर्केको थियो, सबै शक्ति हातमा लिएर पार्टीमा जंगे बन्न खोज्दा आज पार्टी दुई टुक्रामा परिणत भएको छ । मुलुकको ठूलो पार्टी दुई वटा बनिरहँदा यसबाट देशले निक्कै क्षति बेहार्नु पर्छ किनभने यसबाट मुलुक अस्थिरतातर्फ अघि बढेको छ, भलै सर्वोच्च अदालतले स्थिरताको जग भने बसालेर नेताहरुलाई संविधानमा लेखिएको व्यहोराको अक्षरशः पालना गर्न सिकाएको छ । वास्तवमा एमाले अध्यक्ष ओलीका वरिपरि घुम्नेहरुले उनलाई देवत्वकरण गरेकै थिए, ज–जस्ले ओलीको बढाइँचढाइ गरे, उनी माथिल्लो पदमा पदासीन भएको धेरै उदाहरणहरु छन्, उनले राम्रो मान्छेलाई भन्दा पनि हाम्रा मान्छेलाई मात्र छानीछानी पदमा राख्दा यसबाट जनतामा एमालेप्रतिको मोह घट्न थालेका छ । फेरि यसको अर्थ सरकारले नियुक्ति गरेका सबै गलत र चम्चागिरी गर्नेहरु मात्र हुन्, भन्न खोजिएको होइन । उनले गरेको कतिपय नियुक्तिहरु अत्यन्तै लोकसम्मत् पनि छन् तर यहाँ नराम्रो काम गरेपछि त्यसैले मात्र चर्चा पाउने हुँदा ती राम्रा कामहरुको चर्चा नहुनुलाई स्वभाविक नै मान्नुपर्छ ।
एमाले सरकारले कानुनलाई नै बदलेर भए पनि आफू सर्वैसर्वा हुने गरी अघि बढ्ने कुचेष्टा हरेक सरकारले गरिरहेका छन् । यत्ति मात्र होइन, संविधानलाई नै मिचेर बाधा अड्काउ÷फुकाउ धाराको प्रयोगसमेत गर्न एमाले सरकार पछि परेन, बरु अघि नै देखिएको छ । आफूनिकटलाई फाइदा हुने गरी गरेको कामका कारण जनताको मनबाट एमाले नै हराउन थालेको छ । अब एमाले दुई टुक्रा भएको अवस्था छ । नेपाल पक्षलाई अध्यक्ष ओलीले दुई÷चार पातको संज्ञा दिएर चित्त बुझाए पनि नेपाल पक्ष त्यत्ति कमजोर देखिएको छैन । ०५६ सालमा एमालेबाट माले बनेपछि एक स्थानमा पनि विजयी नभएको घटनालाई अध्यक्ष ओलीले बारम्बार भनिरहेका छन्, तर अब वागमतीमा निक्कै पानी बगिसकेको छ, अबको अवस्था सूर्य चिह्न भनेर जनता अडिरहँदैनन् । हिजो रुख र सूर्यले जितेको स्थानमा हसियाँ हथौडाले विजयको झन्डा गाडेको घटना सेलाएको छैन । अब जनताले सही र गलत छुट्टयाउन सक्ने भएका छन् । अध्यक्ष ओलीले गरेको ओलीकरणको कामबाट जनता भलिभाँती जानकार भइसकेका छन् । त्यसमाथि नेपाल पक्षधर निक्कै बलियो पक्ष हो । तत्कालीन महासचिव मदन भण्डारीको मृत्युपश्चात एमालेमा देखिएको विचलनको अवधिमा पनि पार्टीलाई सन्तुलित ढंगबाट अघि बढाउन सफल माधवकुमार नेपाल त्यत्ति कमजोर भने छैनन् । उनको मूल्यांकन गर्दा सतही मात्र गरियो भने खोलाले बगाउन सक्छ । तत्कालीन महासचिव भण्डारीको अभावमा पनि एमालेलाई बचाइराख्न अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका नेपालको पक्षमा आज पनि जनमत निक्कै नै देखिन्छ ।
एमालेको एक पाटो नै खर्लप्प नेकपा एकीकृत समाजवादीमा जानु एमालेका लागि सबैभन्दा ठूलो घाटा हुन सक्छ । कुनै बेला झन्डै दुई तिहाइ बहुमतमा विजयी भएको पार्टीमा आएको फुटले जनतामा पनि उहि मनोदशा पैदा गरेको छ । जनताले स्पष्ट बहुमत दिएको पार्टीको संरक्षणतिर लाग्नुपर्ने बेला उहि गुटबन्दीमा रमाउने पार्टीलाई अब जनताले मत दिने कि नदिने ? भाषणको कुरा नगरौँ, हिजो राष्ट्रवादको कुरा गरेर कहिल्यै नथाक्ने एमालेले जब सरकारमा बनायो, तब भारतीय खुफिया एजेन्सीलाई मध्यरातमा स्वागत गरेर जनतालाई बेफ्कुफ बनाएको घटना ताजा नै छ । यत्ति मात्र होइन, कि संसदले पारित गरेको चुच्चे नक्सालाई नेपालको पाठ्यक्रममा राख्न नदिएर जनताको चित्त दुखाएको हुनाले एमालेका लागि अब निक्कै घाटा हुने नै छ ।
लोकतान्त्रिक व्यवस्थामा मुलुकको सञ्चालन नै नेताहरुबाट हुने हो, आवधिक निर्वाचनमा जनताले आफ्नो प्रतिनिधि चुन्छन् र तिनै प्रतिनिधिहरुबाट मुलुक सञ्चालन हुने हो । अझ नेपालमा गणतन्त्रको स्थापना भइसकेको अवस्था छ । झन् गणतन्त्र भनेको नैतिकताको शासन व्यवस्था हो । यहि नैतिकताका खडेरी लागेको भन्दै एमालेबाट छुट्टिएर गएकाहरुले पनि उहि संस्कार दोहो¥याइरहेका छन् । एकै व्यक्ति पार्टी अध्यक्ष, संसदीय दलको नेता बनेर एमालेभन्दा फरक पार्टी बन्न सकेको छैन । एमालेमा हु“दा एक व्यक्ति एक पदको निक्कै बद्ख्वाइ“ गर्नेले नै आज दुई वटा पद लिएर चमत्कार देखाएका छन् । एमालेभन्दा फरक बन्नका लागि एक व्यक्ति एक पद र युवा पुस्तालाई पार्टीको कुनै शक्तिशाली पदमा राख्नुपथ्र्यो । यसो गर्न नसक्ने हो भने पार्टी टुक्राएको अर्थ के नै रह्यो र ? युवा पुस्तालाई पार्टी अध्यक्ष वा संसदीय दलको नेता कुनै पद दिएर एमालेलाई पाठ सिकाएको भए पार्टीमा जनताको विश्वास बढ्ने थियो । यसो हुन नसक्दा पदका लागि मात्र पार्टी टुक्राएको देखिन्छ ।
हिजो एमालेमा रह“दा बस्दा नैतिकताको दुहाइ दिएर नथाक्ने नेताले पार्टीको दुई प्रमुख पद हातमा लिएर जनतालाई कस्तो सन्देश दिनु खोजेको हो ? भोलि जनताले सोधे भने यसको उत्तर कसरी दिने ? अब नवगठित नेकपा एकीकृत समाजवादी ले निष्ठाको राजनीति सिकाउने कतिपयको आसा थियो । तर, यो पार्टीले पनि उहि पुरानो नै संस्कार नछाड्ने देखिएको छ । नयाँ दल निर्माण गर्ने र मन्त्री बन्ने मात्र योजना हो भने कोही कसैको केही लाग्दैन । तर, नयाँ पार्टीले पनि पुरानो संस्कार नै अ“गालेर अघि बढ्ने हो भने पार्टी टुक्र्याउनुको कुनै अर्थ थिएन । एक व्यक्ति मात्र सर्वैसर्वा बनाइयो भने पार्टीमा अधिनायकवादको गन्ध आउने एमालेबाट देखिएकै हो । अब नवगठित पार्टीले पनि एकै व्यक्तिलाई देवŒवकरण गर्ने हो भने यसले जनताको मन जित्ने सम्भावना भने कमै रहन्छ । त्यसैले नयाँ पार्टीले नेता तथा कार्यकर्तालाई निष्ठाको राजनीति सिकाउन सक्नुपर्छ । तर, एमालेबाट वाक्क भएर नयाँ पार्टी खोलिएको भए पनि उहि एकै व्यक्ति नै सर्वैसर्वा हुने हो भने अब उक्त पार्टीमा जानु पर्ने किन ? यहाँ पार्टीभन्दा पनि पार्टीको नेतृत्व गर्ने व्यक्तिले संस्कार हेर्नुपर्ने भएको छ । आफू मात्र पदमा बस्ने र आफूले पद नपाएको झोँकमा पार्टी फुटाउने र फेरि आफैँ प्रमुख भएर बस्ने हो भने अब युवाहरुले यसको भण्डाफोर गर्न सक्नै हैसियत राख्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *