सिंहदरबारको कब्जामा निजामती पुरस्कार

प्रशासन

कुनै समय विवादित पृष्टभूमिका सूर्य गौतमलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएकै कारण आजसम्म पनि २ लाख राशीको उक्त पुरस्कार विवादमा मात्र परेको छैन । पाँच वर्षदेखि उत्कृष्ट निजामती पुरस्कार वितरण हुन सकेको छैन । विगतका वर्षमा झै यस वर्षसमेत विवादित र भ्रष्ट चरित्रका एक कर्मचारीलाई उत्कृष्ट निजामती पुरस्कार प्रदान गरिएसँगै पुरस्कारको गरिमा नै प्रश्न उठ्न थालेको छ । यसअघि भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी, भाइकाजी तिवारीलगायतले मात्र सर्वोकृष्ट निजामती पुरस्कार थापेका छन् । जसमध्ये गौतम, तिवारी, काफ्ले विवादित चरित्रका पात्र हुन् । यसअघि सर्वोत्कृष्ट पुरस्कार थापेका सहसचिव सूर्य गौतम (हाल श्रम सचिव)लाई लोकसेवा आयोगमा विज्ञ हुँदा आफ्नी श्रीमतीलाई उत्तीर्ण गराएको आरोप लागेसँगै सर्वोत्कृष्ट निजामती पुरस्कार नै विवादमा पर्दै आएको छ । सोही कारण ०७३ सालदेखि यो पुरस्कार वितवरण गर्न छाडिएको छ ।
दिवसको अवसरमा १० कर्मचारीलाई १ लाख राशीको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रदान गरिँदै छ । यही पुरस्कार थाप्ने दश जनाको नाममा डा.भीमसिं तिंकरीसमेत छन् । तिंकरी तिनै पात्र हुन्, जसले ओम्नी ग्रुपसँग मिलेर कोरोना रोकथाम तथा नियन्त्रणको औषधिमा कालोबजारी गरेको आरोप छ । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेर विशाल पण्डितहरूको रुची अनुसार काम गर्न पात्रको रूपमा बदनाम छन् । यस्ता बदनाम पात्रलाई पुरस्कृत गरिएसँगै पुरस्कारको महिमा र गरिमा घटेको कर्मचारीहरू नै गुनासो गर्दछन् । यस पटक एक लाख राशीको पुरस्कार थाप्नेमा सर्वाेच्च अदालतका सहरजिस्ट्रार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव डा.किरण रूपाखेती, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्रकुमार केसी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम विगतमा यसरी बदनामी कमाएका पात्रहरूलाई पुरस्कृत गरिँदा पुरस्कारकै गरिमा घटेको निजामती कर्मचारीहरू सुनाउँछन् । यस्तै महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरिशंकर ज्ञवाली, महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, कृषि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सुमना अर्याल वाग्ले, बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र महिला तथा बालबालिका विभागका नायब सुब्बा कमला ढकाल काफ्ले पुरस्कृत हुँदैछन् । अन्य ३० जनालाई निजामती सेवा कर्मचारी पुरस्कार वितरण हुँदै छ । सरकारले वितवरण गर्न लागेको ४० वटा पुरस्कारमध्ये ३२ वटा सिंहदरबार र मन्त्रालयमा कार्यरत कर्मचारीहरूको कब्जामा छ । दुर्गममा बसेर जनताका सेवाका खटिएका मध्येबाट ८ जना कर्मचारीमात्र पुरस्कृत भएका छन् । केही अघि दुर्गममा पहाड र हिमालको अप्ठ्यारो बाटोमा औषधि बोकेर हिँडिरहेका महिला कर्मचारीको तस्विर सार्वजनिक मात्र भएन, त्यो तस्विर भाइरलै भयो । तर, त्यस्ता कर्मचारीले मन्त्री, सचिवको दौलो चाहर्न नजान्दा राज्यको आँखा उनीहरूमाथि पुग्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *