भ्रष्टाचार गर्न पाउनु पर्ने मुख्यमन्त्री राउतको माग

मधेस प्रदेश राजनीति

काठमाडौं । प्रदेश २ सरकारको गठनबन्धनमा रहेका दलहरूबीचमा खटपट सुरु भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘बेटी पढाउ बेटी बचाउ’ मुख्यमन्त्री योजनाअन्तर्गत ४१ हजार २६२ वटा साइकल खरिद प्रकरणमा ठूलो भ्रष्टाचार भएको भन्दै गत साताको बुधबार मुख्यमन्त्रीको सचिवालयमा छापा मारेर यस सम्बन्धी कागजात थप अनुसन्धानका लागि आफ्नो नियन्त्रणमा लिएको घटनाप्रति मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक रूपमा व्यक्त गरेको प्रतिक्रिया र सत्ताको दुरूपयोग गरेर जनता समाजवादीका कार्यकर्तालाई अख्तियारको यो कदमविरुद्धमा सडकमा उतारेको घटनाप्रति गठबन्धन सरकारका घटक दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी आक्रोशित बनेका छन् । अख्तियारले कानुन बमोजिम छानबिन र अनुसन्धान अगाडि बढाएको घटनाप्रति तीव्र प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्री राउतले जनता समाजवादीका केही कार्यकर्तालाई प्रदेशका सबै ( ८ वटै) जिल्लाका सदरमुकाममा राके जुलुस निकाल्न लगाएको तथा गत आइतबार जिल्ला प्रशासनमा अख्तियारविरुद्ध ज्ञापन पत्र बुझाएको घटनाप्रति गठबन्धनका दलहरू असन्तुष्ट बनेका हुन् । अख्तियारको कानुन बमोजिमको कार्यमा मुख्यमन्त्रीजस्तो सम्मानित पदको व्यक्तिले हस्तक्षेप गर्न नहुने भन्दै यी दलहरूले आक्रोश व्यक्त गरेका छन् । मुख्यमन्त्री राउतले आफूलाई जानकारी नदिई अख्तियारले छापा मारेको भनेर आक्रोश व्यक्त गरेर विचित्रको व्यवहार प्रकट गरेका छन् ।
‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत ४१ हजार २६२ वटा साइकल खरिद प्रकरणमा ठूलो भ्रष्टाचार भएको भनेर प्रदेश २ संसदमा समेत नियमितजस्तै आपत्ति जनाउने काम भइराखेको छ र यस सम्बन्धका कागजात संसदले माग्दा पनि मुख्यमन्त्री सचिवालयले अटेर गरी राखेको अवस्था छ । अख्तियारले अनुसन्धानकै लागि छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको विषयलाई लिएर यसरी पदीय मर्यादाभन्दा बाहिर गएर गतिविधि सञ्चालन गरेकोे तथा प्रतिक्रिया व्यक्त गरेकोमा मुख्यमन्त्री राउतप्रति गठबन्धनका दलहरू आक्रोशित बन्न पुगेका छन् भन्ने केही समय अगाडिसम्म सरकारमा सामेल रहेको लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यमन्त्री राउतको राजीनामा मागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *