३३ केजी सुन प्रकरणः साना माछालाई जन्मकैद, ठूलालाई उन्मुक्ति

समाचार

काठमाडौं । अन्ततः साढे ३३ किलो सुन तस्करी प्रकरणमा ‘ठूलो माछा’ लाई उन्मुक्ति दिएर सानालाई मात्र जन्मकैद र सजाय सुनाएको छ अदालतले । यो प्रकरणमा जोडिएका ७७ जनामध्ये ८ जनालाई दोषी ठहर गरी बाँकीलाई निर्दाेष करार गरेको हो । जिल्ला अदालत मोरङले हिजो यो प्रकरणका ७७ जना प्रतिवादीमध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरी २१ जनाको मुद्दा चाहिँ मुल्तबीमा राखिएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले तामाकोशी सन्देशलाई जानकारी दिए । यो प्रकरणमा सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआइजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआइजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् । त्यस्तै, प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।
साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत मोरङले गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको हो । त्यस्तै, टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले, लाक्पा शेर्पा र नरेन्द्र कार्कीलाई जन्म कैदको सजाय तोकिएको छ ।
दुबईबाट ९ माघ २०७४ मा नेपाल आएको साढे ३३ किलो सुन गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा चुडामणि उप्रेती गोरेको समूहले यातना दिँदा भरिया सनम शाक्यको मृत्यु भएको थियो । उनको शव बरामद भएपछि गरिएको अनुसन्धानका क्रममा ‘सुन तस्करीको हालसम्मकै ठूलो ¥याकेट’बारे अनुसन्धान भएको थियो ।
सरकारले छानबिनका लागि सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति बनाएको थियो । समितिले घटनाको प्रारिम्भक अनुसन्धान गरेको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो । त्यसबेला अनुसन्धानकर्ता नै आरोपित बनाएको भन्दै सरकारी छानबिन समितिको आलोचनासमेत भएको थियो । प्रकरणमा जोडिएका अन्य प्रहरी अधिकारीले चाहिँ गोरेको समूहलाई सहयोग गरेको सरकारी छानबिनको निष्कर्ष थियो । यो प्रकरणमा तस्करीका बादशाह मानिने दीपक मलहोत्रा ‘ह्वेल माछाले’ उन्मुक्ति पाएका छन् भने साना चाहिँ जेलमा जाकिएका छन् ।
मलहोत्रालाई ओली सरकारकै पालामा छानबिन गर्न दिइएन । त्यतिखेर सहसचिव ईश्वर पौड्याल संयोजकत्वको छानबिन समितिले केही तस्करीका भरिया गरी करिब ७० जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । तर, समितिले मलहोत्रा नै तस्करीको नाइके भएको पत्ता लगाए पनि मलहोत्रामाथि छानबिन त परैको कुरा, सोधपुछ गर्ने हिम्मतसम्म गरेन । कारण थियो, मुख्य अभियुक्त मलहोत्राको तत्कालीन प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड, गृहमन्त्री थापासँग हिमचिम हुनु, त्यसपछि छानबिन समितिलाई प्रलोभनमा पारी अनुसन्धान सामसुम पारिनु । सोही समयमा छानबिन समितिले मुख्य अभियुक्त मलहोत्रालाई जोगाएबापत छानबिन समितिका संयोजक पौड्याल अध्यागमन विभागमा सरुवा भएर पुरस्कृत गरिएको थियो । समितिले तीन महिनासम्म अनुसन्धान गर्दा केही भरिया मात्र पहिचान ग¥यो तर मुख्य अभियुक्त मलहोत्रा र उनका सहयोगी मोहन अग्रवाललाई उम्काएको हो । स्रोतका अनुसार तस्करीमा संलग्न मोहन अग्रवाल र विमल पोद्दार मलहोत्राका निकट सहयोगी हुन् । अग्रवाल फरार भए पोद्दार पक्राउ परे पनि छानबिन समितिसमक्ष खुलेका थिएनन् । मलहोत्राले २०५२ सालमा त्रिभुवन विमानस्थल सञ्चालन गर्ने ठेक्का लिएका थिए । तत्कालीन एमालेका प्रभावशाली नेता वामदेव गौतमको सहयोगमा विमानस्थल ठेक्का लिएका मलहोत्राले विमानस्थलमा रहेको एक्सरे मेसिन ५० मिटर पछाडि सारेका थिए । संसारका कुनै पनि विमानस्थलमा एक्सरे मेसिनमा लगेज हालेपछि कसैले छुन मिल्दैन । लगेज लिफ्टमार्फत सिधैँ विमानभित्र छिर्छ । मलहोत्राले एक्सरे मेसिन पछाडि सार्न लगाएका थिए । बाँकी ५० मिटरमा लोडरमार्फत विमानमा लोड गर्नुपूर्व मलहोत्राले आफ्ना तस्करीका सामान लगेजमा भर्थे ।
मलहोत्राको तस्करी धन्धा राजाको प्रत्यक्ष शासनकालमा फस्टाएको थियो । लोकमानसिंह कार्कीले मलहोत्रालाई तस्करीका सहयोग गर्थे । कांग्रेस उच्च नेता र दरबारसँग पनि मलहोत्राको निकट सम्बन्ध छ । भारतीय मूलका दीपक मलहोत्राले ०४८ मा नेपालमा व्यापार सुरु गरेका थिए । उनी कोरियामा उत्पादन हुने विद्युतीय सामान सामसुङको नेपालका एकमात्र आधिकारिक बिक्रेता हुन् । सुरुमा हङकङबाट घडी ल्याउने र काठमाडौंमा बेच्ने काम गरेका मलहोत्राका अहिले नेपालमा मात्र दर्जन बढी कम्पनी छन् । उनी आइएमएस बिजनेस कम्पनीका मालिक हुन् । मलहोत्राले ०५२ तिर तत्कालीन सरकारनिकटका केही नेतासँग सम्बन्ध बनाएपछि उनी तस्करीमा लागेका हुन् ।
विमानस्थल सञ्चालनको ठेक्का पाएपछि मलहोत्राले सुन तस्करी गर्न थाले । उनले नेकपा नेता गौतम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सहयोगमा तस्करी गर्दै आएको बताइन्छ । उच्च नेतालाई आर्थिक सहयोग गर्दै कालोबजारीमा संलग्न भएर उनले अकुत सम्पत्ति आर्जन गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *