एक दशक अघिको सामुदायिक वनको अवस्था र प्रभाव

लेख

एक दशकअघि सामुदायिक वनबाट मुलुकको मुहार फेरिन्छ भन्ने विश्वास थियो । धेरैले सामुदायिक वनबाट सामाजिक आर्थिक उन्नति मात्र होइन चेतनामा सकारात्मक परिवर्तनको छाप छाडिरहेको थियो । सो परिवेशमा एक आलेख तयार गरेको थिएँ । सो लेखको अपेक्षा र त्यस बेलाको सामुदायिक वनको अवस्था अहिले पनि स्मरणयोग्य भएकोले यस शृंखलामा सोही विषयलाई उठान गर्ने कोसिस गरिएको छ ।
विषय प्रवेश
वर्तमान अवस्थामा सामुदायिक वनको अर्थ, अवधारणा तथा औचित्यको व्याख्या गर्न पर्ने अवस्था रहेको छैन । किनकी सामुदायिक वन विकास कार्यक्रम नपुगेको वा सो बारेमा थाहा नपाएका नेपालीहरू सायद कमै होलान् र यो लेख जसले पढ्छ उ सामुदायिक वनको बारेमा जानकार नभएको हुनै सक्दैन । वनको बारेमा चासो राख्नेले मात्र यो लेख पढ्ने भएकोले र वनप्रति थोरै चासो लिने नेपालीले पनि नेपालको अन्तर्राष्ट्रिय पहिचान दिन सफल सामुदायिक वनबारे थाहा नपाउने कुरै आउँदैन । जन सहभागिताबाट सफल सामुदायिक वन विकास कार्यक्रमको उपलब्धीको चर्चा गर्ने हो भने लामै शृंखला तयार हुन सक्छ । अब सामुदायिक वन कार्यक्रमबाट प्राप्त उपलब्धीको चर्चा तथा विष्लेषण गर्दा भौतिक चर्चा गरेर मात्र पुग्दैन । कति राष्ट्रिय वन सामुदायिक भए, कति समूह गठन भए, कति आम्दानी भयो, के कस्ता सामुदायिक विकास भयो भन्ने भौतिक र दृश्यात्मक उपलब्धीको चर्चा गर्न थालेको धेरै वर्ष वितिसक्यो । ती उपलब्धी ल्याउनमा सबैभन्दा महत्वपूर्ण पक्ष मानवीय संवेदनासँग जोडिएको पक्षको बारेमा त्यति चर्चा परिचर्चा गरेको पाइन्न । यस लेखमा ति भौतिक किसिमका उपलब्धीको चर्चा गर्न गइरहेका छैनौँ । यसमा, छायाँमा परेको, तर सामुदायिक वनको अभियानलाई नै सफल असफल बनाउन सक्ने पक्षको चर्चा गर्ने जमर्को गरिएको छ ।
सामुदायिक वन अभियानको सशक्त पक्ष ः सकारात्मक प्रवृत्तिगत रूपान्तरण
सामुदायिक वन अभियानको सवैभन्दा ठूलो उपलब्धी त्यसमा संलग्न पक्षहरूको प्रवृत्तिगत सकारात्मक रूपान्तरण हो । प्रवृत्ति भन्नाले मानसिक अवस्था हो त्यो आफैँ देखिने वस्तु होइन । प्रवृत्तिलाई देख्न वा हेर्न उसको व्यवहारमा भर पर्नु पर्ने हुन्छ । अर्को अर्थमा भन्नुपर्दा प्रवृत्तिअनुसार लवाई–खुवाइर्, बोली वचन, कार्यशैली तथा व्यवहार हुने गर्दछ । जसको जस्तो प्रवृत्ति छ, सोहीअनुसार व्यवहार, नीति नियम, कार्यप्रक्रिया तथा शैलीको निर्धारण गर्दछ । सोही प्रवृत्तिको आधारमा व्यक्तिगत तथा संस्थागत परिपाटीको विकास हुने गर्दछ । अब, यहाँ सामुदायिक वनबाट के कस्तो प्रवृत्तिगत सुधार आयो त यसको बारेमा थोरै चर्चा गरौँ ।

क. उपभोक्तामा
सामुदायिक वन अभियानपूर्व उपभोक्ताहरूले जहाँ सजिलो छ, जहाँ अरुले देख्दैँन, यो सरकारको वन हो, जति सक्यो त्यति प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट प्रेरित भई आफ्ना व्यवहारहरू देखाउँथे । हाम्रो पुस्ता मात्र होइन भावी पुस्तालाई पनि वन चाहिन्छ भन्ने व्यवहार देखिँदैनथ्यो । कारण वनमा उनीहरूको अपनत्वको भावना विकास हुने कुनै कार्य भएको थिएन । उसले नकाटे पनि अरु कसैले काटिदिन सक्थ्यो । जिम्मेवारी तथा हकदार विनाको सार्वजनिक मादलजस्तै जसले जसरी जताबाट बजाए पनि हुने अवस्था थियो । जब सामुदायिक वनको अवधारणाको सुरुवात भयो उपभोक्ताहरूमा यो मेरो पनि सम्पत्ति हो, हाम्रो पुस्ता मात्र नभई भावी पुस्ताको लागि पनि चाहिन्छ भन्ने जिम्मेवारीको बोध हुन थाल्यो । स्वायत्त सँग–सँगै जिम्मेवारीपन बढ्यो जसको कारण काट्यो कुदायो (जिविकाको लागि प्रयोग गर्ने बाध्यता) गर्ने उपभोक्ताहरू संरक्षण र दिगो उपयोगको प्रवृत्ति विकास गरी राष्ट्रको नै जिम्मेवार नागरिकको हैसियत स्थापित गरेका छन् । उपभोक्ताहरू सामाजिक न्यायका पक्षपाति भएका छन् । सामुदायिक वनमा महिला तथा विपन्न वर्गको पहुँचको सुनिश्चिततालाई संस्थागत गरिरहेका छन् । जसको प्रमाण हो उपभोक्ता समूहहरूले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका वन तथा वातावरण संरक्षण सम्बन्धि पुरस्कार प्राप्त गरिरहेका छन् ।

ख. वन कर्मचारी
सामुदायिक वनको अवधारणा सुरुआत हुनुअघि वन कर्मचारी जनताका वर्गीय शत्रुजस्तै हुन्थे । गाउँमा वन कर्मचारी अथवा कुनै वनपाले आयो भने पनि मान्छे लुक्ने गर्दथे । अब कसलाई समात्ने हो ? कस्तो मुद्दा लगाउने हो ? कति पैसा दिनु पर्ने हो ? भन्ने त्रास फैलिन्थ्यो । वन मुद्दा भनेको ज्यान मुद्दाभन्दा पनि खतरनाक हुन्छ भने हौवा पिटाइएको हुन्थ्यो । समग्रमा वन कर्मचारीको व्यवहार गल्ती गर्नेलाई पकड्ने थुन्ने अर्थात कता–कता प्रहरीको काम हो किजस्तो देखिने गर्दथ्यो । अहिले वन कर्मचारीहरू उपभोक्ताका साथी भएका छन् । पहिला नाम सुन्नासाथ अमिलो अनुहार बनाउनेहरू वन कर्मचारीको व्यवहारबाट आफ्नो सहयोगीको रूपमा ग्रहण गरिरहेका छन् । यसैको एउटा उदाहरण उपभोक्ता समूहहरूको प्रतिनिधिमूलक संगठन सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल दोलखाको तेश्रो अधिवेशनको अवसरमा जिल्ला वन कार्यालयलाई प्रंशसा–पत्र तथा सामुदायिक वनको अभियानमा सक्रिय क्रियाशीलताको सम्मानस्वरूप रेन्जर मित्र जिरेललाई कदरपत्र तथा दोसल्लाबाट सम्मान गरिएको थियो । उपभोक्ताले जबरजस्ती होइन आत्मादेखि नै वन कर्मचारीको सहयोगी भूमिकाको प्रशंसा गरिरहेका छन् । यसो हुनुमा वन कर्मचारीको मानसिक प्रवृत्तिमा सकारात्मक रूपान्तरणको उपज हो । रूपान्तरित प्रवृत्तिअनुसार वन कर्मचारीहरू निर्णयकर्ता नभई सहयोगी सहजकर्ता भई सकारात्मक व्यवहार तथा भूमिका निर्वाह गरिरहेका छन् ।

ग. राजनीतिकर्मी
विगतमा राजनीतिकर्मीको व्यवहार आफन्त हेरी काम गर्ने, वनलाई राजनीति गर्ने साधनको रूपमा प्रयोग गर्ने, विरोधीलाई वन मुद्दा लगाएर तह लगाउने, जान्ने छु भन्ने देखाउन वन सम्वन्धि उपदेशमूलक भाषण छाट्ने, वन संरक्षणमा जनतालाई लगाउने, उपयोग गर्नबाट टाढा राख्नेजस्ता कार्यहरू हुने गर्दथे । सामुदायिक वनको अभियानपश्चात अब्बल दर्जाको लोकतन्त्रको अभ्यास सामुदायिक वनमा छ, प्रजातान्त्रिक परिपाटी सामुदायिक वनमा गएर सिक्न सकिन्छ भन्ने भावनामा परिवर्तन भई बोल्न थालेका छन् । केही राजनैतिक दलहरूले वन क्षेत्र हेर्ने जिम्मेवारी निश्चित व्यक्ति वा टिमलाई दिई रहेका छन् । त्यो टिमले वनमा देखा परेका सवालहरूमा संवाद तथा परामर्श चलाई रहेका छन् । वर्तमान अवस्थामा ‘सामुदायिक वन नराम्रो छ, यसका पद्धति खराब छ’ भनेर भन्ने राजनीतिकर्मी सायद कमै होलान् ।

घ. नीति निर्माता वा योजनाकार
विगतमा हुने गरेका त्यउ(म्यधल पद्धतिलाई (माथि नै योजना बनाएर तल कार्यान्वयनमा लैजाने) अब उनीहरूले द्ययततयm–ग्ए पद्धतिलाई अवलम्वन गर्न थालेका छन् । कुनै योजना बनाउँदा समूहका प्रतिनिधि वा समूहका प्रतिनिधिमूलक संगठनका प्रतिनिधिहरू, स्थानियस्तरमा क्रियाशील सामुदायिक वनका सहयोगी संस्थाहरूको सहभागिता वा सुझाव लिने गरिन्छ । दशौँ पञ्चवर्षीय योजनामा फेकोफन तथा सहयोगी संस्थाहरूले दिएका सुझावहरू समावेशसमेत गरिएका छन् । सामुदायिक वन विकास मार्गदर्शन २०५२ को दोस्रो संशोधनमा समूहका प्रतिनिधि, सहयोगी सबैको सहभागितामा सहभागितामूलक कार्य समूह बनाई कार्य भइरहेको छ । सो समूहले उपभोक्ता समूहस्तर जिल्ला, केन्द्रसमेतको परामर्श मार्गदर्शनलाई परिवर्तित सन्दर्भ सापेक्ष परिवर्तन हुँदैछ । अन्य विभिन्न योजना बनाउनुपूर्व पनि सहभागितामूलक विभिन्न विधिहरू (एच्ब् त्ययकि) प्रयोग गरी छलफल, सुझाव संकलन गर्ने तथा कार्यक्रमहरूको समीक्षा गर्नमा योजनाकार तथा नीति निर्माताहरू लागेको भान पर्न थालेको छ ।

प्रवृत्ति रूपान्तरण विनाको विकास बकवास
पञ्चायतकालमा गाउँ–गाउँमा खानेपानीको पाइपलाइन र धारा बनाइयो । बनाएको एक वर्षभित्र नै पाइप उखलेर कता पुगे, धाराको टुटी सबै गायव भए । त्यही समय र पछि पनि एकै ठाउँका १० पटकसम्म वृक्षरोपण समेत गरिए । बिरुवा रोपेको एक हप्तामा त्यसको अस्तित्व गायब भइसकेको हुन्थ्यो । अहिले हाम्रा पाखा पखेरामा बिरुवा रोपी रहनु पर्दैन आफैँ उम्रन्छ । रोपेका बिरुवा पनि हुर्कन्छन् । यो सफलता देखिनुको एक मात्र कारण जिम्मेवारी र जवाफदेहिता हो । जसको कारण प्रवृत्तिमा सकारात्मक रूपान्तरण आयो । हामीकहाँ प्रवृत्ति रूपान्तरण नहुने, तर सबै कुराको सकारात्मक परिवर्तन खोज्ने चलन छ । त्यो कदापी हुन नसक्ने विषय हो । यसैगरी प्रवृत्ति रूपान्तरण आफ्नो आफूले नै गर्ने हो कसैको रूपान्तरण अन्य कसैले गर्न सक्दैन, तर रूपान्तरणको लागि अनुकूल वातावरण भने तयार गर्न सक्छ । वन सन्दर्भमा पनि सबै निकायमा संलग्न व्यक्तिहरूको लोकतान्त्रिक परिपाटीअनुसारको आफ्नो प्रवृत्ति रूपान्तरण र संस्थागत हुन जरुरी छ । यहाँ भन्न खोजेको माथि लेखिएअनुसार उपभोक्ता, वन कर्मचारीलगायतमा प्रवृत्तिगत सुधार त आएको छ । तर, सबैमा संस्थागत हुन सकिरहेको छैन । सबै उपभोक्ताले यो हामी सबैको हो, वनको मालिक हामी नै हो भन्ने प्रवृत्तिका साथ व्यवहार गरेको देखिन्न त्यस्तै वन कर्मचारीमा पनि । हालसम्म पाइएको प्रवृत्तिगत रूपान्तरणले संस्थागत परिपाटी विकास भएमा मात्र हामीले खोजेको उपलब्धी वन क्षेत्रबाट हासिल गर्ने अपेक्षा गर्न सकिन्छ ।

सामुदायिक वनको सन्दर्भमा रूपान्तरित हुनु पर्ने क्षेत्रहरू
सामुदायिक वन अभियान वर्तमान अवस्थामा सबैको साझा केन्द्रविन्दुको रूपमा विकास भइरहेको छ । सबै निकायहरू सामुदायिक वन उपभोक्ता समूहलाई विकासको प्रवेशद्वारको रूपमा स्वीकार गरिरहेका छन् । सामुदायिक वन समूह मात्र त्यस्तो समुदायमा आधरित दिगो स्रोत भएको संस्था हो, यसको निरन्तरता वा दिगोपना प्रायः सुनिश्चित छ । यस्तो हुँदा–हुँदै पनि कहिले उपभोक्ताको कारण, कहिले वन कर्मचारी तथा कहिले राजनैतिक वृत्तबाट विभिन्न अवरोधहरू खडा भइरहेको देखिन्छ । उदाहरणको लागि कहिले वन उपभोक्ताले कार्ययोजनाविपरीत काम गरे भन्ने सुनिन्छ, त कहिले समूहको पदाधिकारीबाट भ्रस्टाचार भन्ने कुरा । त्यसैगरी वन कर्मचारीले काठ तस्कर गरे त कतै वन कर्मचारी निलम्वन भन्ने । राजनैतिक दलहरूमा पनि सामुदायिक वनमा हाम्रो दलीय पहुँच रहेन, विकल्प खोज्नु प¥यो भन्नेजस्ता कुराहरू सुन्नमा आउँछन् । जनता र उपभोक्ता केन्द्रविन्दु वा साध्य हुन् अरु सबै साधन मात्र हुन् भन्ने आम मान्यतालाई सबैले आत्मसात गर्ने हो भने सोहीअनुसार रूपान्तरण हुन पनि जरुरी छ । यी सबै कुरा व्यक्तिगत रूपमा रूपान्तरण भई आफ्नो संस्थामा हाम्रो सामाजिक संरचनामा सकारात्मक रूपान्तरण ल्याउन सम्भव हुन्छ । त्यसको लागि व्यक्तिगत रूपमा हरेकले आफ्नो प्रवृत्तिमा सकारात्मक रूपान्तरण र सोअनुसारको सकारात्मक व्यवहार गर्नु पर्दछ । सकारात्मक रूपान्तरित प्रवृत्ति वा सोच भएकाले आफू संलग्न रहेको सामाजिक संरचना र संस्थाहरूको दृष्टिकोण, संस्कार, कार्यशैलीमा रूपान्तरण गर्नुपर्दछ । आफू वा आफ्नो संस्था र आफ्ना कार्य प्रणालीहरू रूपान्तरित नहुने, तर एउटा अभियानले मात्र आमुल रूपान्तरण हुनुपर्छ र गर्नसक्छ भन्नु सरासर जनताप्रति सबै गल्ती थोपर्नु हो ।
सामुदायिक वनको सन्दर्भमा उपभोक्ता समूह, वन कर्मचारी, सरकारी संयन्त्र, राजनीतिककर्मी र निर्वाचित संयन्त्रहरूमा रूपान्तरणको खाँचो छ । स्थानीयस्तरमा काम गर्ने कर्मचारीहरूलाई प्रस्ट थाहा छ, समुदायको जिम्मेवारीमा मात्र वनको सदुपयोग तथा दिगो व्यवस्थापन हुन्छ भनेर । तर, माथिल्लो निकायबाट एक फोनको भरमा सबै कार्यशैली निर्भर हुन्छ । वन सन्दर्भमा छलफल गर्दा वनका मालिक उपभोक्ता र जनता हुन् भन्ने कुरा व्यक्त गर्न सबै होडबाजी गर्दछन्, तर सोअनुसारका नीतिलाई सरलीकरण, संस्कार र कार्यशैलीमा रूपान्तरण गर्नको लागि हात तातेको पाइन्न । यतिखेर व्यक्तिगत रूपमा रूपान्तरण हुन खोजे पनि संस्थागत रूपान्तरण हुन नसकेको अवस्था देखिन्छ ।
उपसंहार
सामुदायिक वनको महत्वपूर्ण, दिगो एवं प्रभावकारी उपलब्धी प्रवृत्तिमा परिवर्तन हो । यसको कारण ‘खुसी वन, सुखी मन’को अवधारणाले मूर्त रूप पाएको छ । यीमाथि उल्लेख गरिएका प्रवृत्तिमा सबैमा एउटै तहको छ भनेर भन्न खोजिएको चाहिँ होइन । तर, सामुदायिक वनको उपलब्धीको कुरा गर्ने हो प्रवृत्तिगत रूपान्तरण आउनु जरुरी छ । त्यसपछि मात्रै अन्य भौतिक उपलब्धीको कुरा गर्नु सान्दर्भिक हुन्छ । सामुदायिक वनको सन्दर्भमा हरेक पक्षको व्यक्तिगत, संस्थागत तथा संरचनागत सकारात्मक रूपान्तरण विना उपलब्धीको कल्पना गर्नु ‘गधा पालेर गाईको दूध खोज्नु’जस्तै हो । तथापि, रूपान्तरणका केही संकेतहरू राम्रा नै देखा परिरहेकाछन् ।
अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *