प्रदेश १ मा देउवा नै निस्किए कांग्रेसको खलनायक

राजनीति

प्रदेश १ को कांग्रेसका लागि सभापति शेरबहादुर देउवाले नै खलनायकको भूमिका निर्वाह गरेका छन् । यही कारणले गर्दा प्रदेश संसदमा २१ स्थान भएको नेपाली कांग्रेसले १ नं. प्रदेशमा संसदमा १० स्थान भएको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र राईलाई मुख्यमन्त्री स्वीकार गरेर उनले नै नेतृत्व गरेको सरकारमा समावेश हुनुपर्ने बाध्यतामा पुगेको छ । वाग्मती प्रदेशमा नेपाली कांग्रेस र नेकपा समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेर त्यही सहमतिअनुसार एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका छन् र बाँकी रहेको आधा कार्यकाल समाप्त भएपछि मुख्यमन्त्री पाण्डेले सरकारको नेतृत्व नेपाली कांग्रेसका सांसद इन्द्र बानियाँलाई हस्तान्तरण गर्ने छन् ।
तर, यो फर्मुलाको सहमति समेत १ नं. प्रदेशमा कांग्रेसले एकीकृत समाजवादीसँग गरेन । र, सभापति देउवाकै कारणले गर्दा १ नं. प्रदेशमा १० सांसद भएको एकीकृत समाजवादीका सांसद राजेन्द्र राईले नेतृत्व गरेको सरकारमा सामेल हुनुपर्ने अवस्थामा नेपाली कांग्रेस पुगेको छ । समाचार सूत्रका अनुसार १ नं. प्रदेशमा नेपाली कांग्रेसले सरकार गठन गर्ने अवस्था आएमा कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला मुख्यमन्त्री हुने स्थिति बन्ने छ । तर, राजीव कोइराला सभापति देउवा इतर पक्षका नेता रहेका र उनको निकटता शेखर कोइरालासँग रहेकोले उनी मुख्यमन्त्री हुँदा आगामी महाधिवेशनको क्रममा नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा आफूलाई असर पर्ने निष्कर्ष निकाल्दै सभापति देउवाले एक नं. प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने वातावरणलाई नै भाँडेका हुन् भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *