दिल्लीको इशारामा आउँदै अर्को पार्टी

समाचार

काठमाडौं । राजनीतिक दलहरूलाई चुनावको हावा लाग्न थाल्दा मधेशको राजनीति गर्ने भनेर परिचय बनाएका हृदय त्रिपाठी भने नयाँ पार्टी गठनको तयारीमा लागेका छन् । दिल्ली पुगेर त्यहाँका सत्तारुढ दलका नेताहरूसँग छलफल गरेपछि नेता त्रिपाठी आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्न जुर्मुराएका हुन् । तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका त्रिपाठी मधेशवादी पाँच दल एकीकरण भएर राष्ट्रिय जनता पार्टी गठन भएदेखि असन्तुष्ट रहँदै आएका थिए । पाँच मधेशवादी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीमा पाँचवटै दलका शीर्ष नेता अध्यक्ष हुने र आलोपालो नेतृत्व गर्ने सहमति भएपछि आफूभन्दा पछि राजनीतिमा आएका नेताहरू मर्यादा क्रममा अगाडि रहेको भन्दै त्रिपाठीले असन्तुष्टि जनाउँदै आएका थिए । उनको असन्तुष्टिलाई सम्बोधन गर्न राष्ट्रिय जनता पार्टीमा वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरिएको भए पनि त्रिपाठी सन्तुष्ट हुन सकेका थिएनन् ।
यही कारणले गर्दा नै सम्पन्न आम निर्वाचन त्रिपाठीले राष्ट्रिय जनता पार्टीबाट नलडि नेकपा एमालेको सूर्य चुनाव चिन्हबाट लडेका थिए र नवलपरासीबाट विजयी पनि भएका थिए । यसरी सूर्य चिन्हबाट विजयी भएका त्रिपाठीलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफूले नेतृत्व गरेको मन्त्रिपरिषदमा सामान्य प्रशासन मन्त्रीसमेत बनाएका थिए । नेकपा एमालेको सूर्य चिन्हबाट चुनाव लडेर विजय भएको तथा एमालेकै सरकारमा मन्त्री भएको भए पनि अहिले मधेशको राजनीतिलाई अगाडि बढाउन भन्दै उनले आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्ने गृहकार्य गरी राखेका छन् । दिल्ली दरवारबाट आशिर्वाद प्राप्त भएको कारण उनको राजनीति पनि दिल्लीको स्वार्थमा नै केन्द्रित रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *