नेपाल पर्यटन बोर्डका उपाध्यक्ष हुन् चन्द्र रिजाल । विगत १३ वर्षदेखि रिक्त रहेको उपाध्यक्षको जिम्मेवारीमा फागुन १८ गते नियुक्त भएका रिजाल लामो समयदेखि पर्यटन क्षेत्रको अनुसन्धानमा क्रियाशील छन् । धादिङका रिजाल टानका पूर्व अध्यक्ष हुन् । रिजाल सकारात्मक सोच राख्ने लगनशील, मिलनसार व्यक्ति हुन् । थोरै बोल्ने, तर बोलेको कुरा पूरा गर्ने उनको बानी छ । रिजालले हानको पूर्व केन्द्रीय सदस्य भई जिम्मेवारी बहन गर्दा मजदुर समस्या समाधान गर्न गठित पर्यटन उद्योग (२०६६–२०६८) को मुख्य भूमिकासमेत निभाइसकेका छन् । त्यस्तै, उनी नेपाल ¥याफिटङ एण्ड क्यानोनिङ एशोसिएसनको पूर्व उपाध्यक्ष, होटल डिप्लोम्याट प्रा.लि.को प्रबन्ध निर्देशकलगायत विभिन्न व्यवसायिक तथा सामाजिक संस्थामा आबद्ध छन् । काम गर्नका लागि दुई वर्षको समय पनि धेरै हुने बताउने रिजाल भूकम्पपछिको पुनर्निर्माणमा राज्य र जनतालाई सँगसँगै लैजाने अभियानमा छन् । उनै रिजालसँग पर्यटन बोर्डले हाल गर्दै आएको काम कारबाही, बोर्डको आगामी योजना तथा रणनीति सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रको सहकार्यमा अगाडि बढ्ने भनेर बारम्बार बताउने गरेको छ । के सरकारले भनेजस्तै गरी पर्यटनसँगै जोडिएका गन्तव्यको प्रचार तथा नयाँ गन्तव्यको विकास भइरहेको छ त ? कोभिड–१९ का कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यस्तो अवस्थामा नेपालको पर्यटनलाई बचाइराख्न कस्ता कार्यक्रम अगाडि सारिएको छ ? यही सेरोफेरोमा गरिएको कुराकानकिो अंशः
० अहिले हाम्रो समग्र पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?
मैले हेर्दा पोखरामा अहिले ९० प्रतिशत पर्यटक आन्तरिक नै देखिन्छन् । यो बीचमा केही संस्थाहरूले हाइकिङका कार्यक्रमहरू गराउनुभयो, त्यो गराइरहँदा कोभिड–१९ ले मान्छेलाई त्यति बढी असर गरेन, उकुसमुकुसचाहिँ भएको हो, तर त्यति बढी नेपालमा कोभिड–१९ ले थला पारेको, एकदम गाह्रो भएको देखिएन ।
आर्थिक रूपमा थला पारेको हो, मेन्टली मान्छेमा त्यस्तो महसुस भएको हो कि भन्ने मलाई लागेन, हामी जताततै त्यो देख्छौँ, त्यसैले मलाई के लाग्छ भने कोभिड–१९ जति मुलुकमा हल्ला गरियो, नकारात्मक भन्न चाहन्नँ मिडियालाई, मिडियाको महत्वपूर्ण भूमिका झनै पर्यटनलाई नै हुन्छ, त्यसलाई सकारात्मक पाटोबाट नै हेर्नुपर्छ, अलिकति बढी हामी आत्मबल कमजोर भएको, नकारात्मक कुरामा अलि बढी प्रचार गर्ने भएर हो कि अलि बढी मान्छेमा, मिडियामा अलि बढी नकारात्मक कुराहरू आए, तर कोभिडले त्यति थला परेको, थला नै पर्नुपर्ने स्थिति थिएन । त्यो कारणले मान्छेहरू अलि त्राहिमाम भएपछि घरबाट निस्कन पनि सकेनन्, राज्य पनि डरायो । आफूसँग रिसोर्सहरू नहुने, अन्य क्षेत्र अथवा विदेशबाट आफूले सामानहरू झिकाएर मानव जीवनलाई बचाउनुपर्ने स्थिति हुनाले पनि केही कुरामा बढी निगरानी नै ग¥यो, त्यो कारणले कोभिडले जति क्षति गर्नुपर्ने हो, त्योभन्दा कम नै क्षति गरेको छ । आर्थिक रूपमा तहसनहस बनाए पनि मानिसलाई त्यति असहज छैन, हिजो जोहो गरेर राखेका कुराले पनि यत्रो आम्दानी नहुँदा पनि मानिसले खाएर हिँडेको छ । सुरुका दिनमा जे नकारात्मक देख्थ्यौँ, पछिल्ला दिनमा त्यो रहेन । अहिले फेरि पनि म के भन्छु भने कोभिडले त्यति ठूलो प्रभाव पारेको महसुस गरेको मानिसमा देखिँदैन । अब हामी काम गर्न सक्छौँ, हामी आफैँ आत्मबल बलियो बनाएर अगाडि बढ्न सक्छौँ र बढ्नुपर्छ । राज्यले पनि त्यो पाटोमा अलिकति ध्यान दिनुपर्छ, नकारात्मक कुराभन्दा पनि सकारात्मकतातिर जानुपर्छ । अथवा राज्य डराएर राज्यले नै बढी बन्देज गर्ने, लकडाउन गर्ने यस्ता काम गर्नु हुँदो रहेनछ । यसले घाटा हुँदो रहेछ भन्ने महसुस मान्छेमा, नागरिकमा देखिएको छ ।
० कोरोनाको कारण पर्याटन व्यवसाय करिव २ वर्षदेखि थलिएको पर्यटन क्षेत्रलाई उकास्न पर्यटन बोर्डले के गर्दै छ ?
कोरोना महामारीले धक्का दिएको पर्यटन क्षेत्रलाई भरथेग गर्ने गरी नेपाल सरकारले सकारात्मक बजेट ल्याएको छ । जस्तो कि, नेपाल आउने पर्यटकलाई भिसा शुल्क निःशुल्क गर्ने, पर्यटन व्यवसायीलाई करमा छुट दिने व्यवस्था बजेटमा आएका छन् । बजेटमा समेटिएका ती विषयहरूलाई कार्यान्वयन गरेर थला परेको पर्यटन क्षेत्रलाई उकास्ने बोर्डको योजना छ । पर्यटन बोर्डले विगतमा अध्ययन–अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला–महोत्सवमा बजेट छुट्याउने गथ्र्यो, यसपालि हामी त्यसरी खर्च गर्नसक्ने अवस्थामा छैनौँ । तर, थोरै पैसामा पनि देखिने गरी काम गर्ने गरी बजेट निर्माणमा जुटेका छाँै ।
० पछिल्लो समय विकासले ट्रेकिङ रुटहरू विनास पा¥यो भन्ने पनि सुनिन्छ, यसप्रति पर्यटन बोर्डले कतिको ध्यान दिएको छ ?
नेपालको विकास सुनियोजित छैन । योजनाबद्ध रूपले विकासका काम गर्ने परिपाटी नै छैन । अन्नपूर्ण, मनास्लुका पदमार्ग बनाइयो तर पछि बाटाहरू बनाएर त्यसलाई बिगा¥यो । सबै ठाउँमा यो समस्या छ । सरकारले बाटो कहाँ लिने भन्ने पनि स्पष्ट नीति बनाउन आवश्यक छ । पदमार्ग कहाँ बनाउन सकिन्छ त्यो पनि स्पष्ट बताउनु पर्छ । त्यो भयो भने पदमार्गमा गरेको लगानी पछि ठूलो बाटोले सखाप पार्दैन । हाम्रो लक्ष्य स्पष्ट हुनु पर्छ । सरकारसँग बसेर सल्लाह गर्नुपर्छ ।
० अब तपाईं आफ्नो कार्यकालमा यो अवस्थालाई कसरी सुधार गर्नुहुन्छ त, के कस्ता योजना बनाउँदै हुनुहुन्छ ?
म यता बसेर पर्यटन प्रवद्र्धन गर्ने भन्ने हो । प्रदेश सरकारको बढी लगानी पर्यटनतर्फ जाओस् भन्ने मेरो चाहना हो । एक हजार मिटर माथिका पहाड तथा हिमालहरूमा सकेसम्म हिल स्टेशन बनाउनेतर्फ ध्यान दिन्छु । भारततर्फको बोर्डर–बोर्डरमा क्यासिनो राख्ने मेरो योजना छ । २० लाख पर्यटक भित्र्याउन गाह्रो पनि छैन । वानवे ट्रेकिङ रुट बनाउँछौँ । वानवे बनायो भने रुटमा हुने मान्छेको भीड पनि कम हुन्छ । एक ठाउँबाट गयो भने अर्को ठाउँबाट फर्किने सुविधा हुन्छ ।
मेरो कार्यकाल जम्मा चार वर्षको हो । यो चार वर्षमा मैले बाटो देखाउने काम मात्र हो । मैले गुरुयोजना तयार पार्छु । त्यहीअनुसार अगाडि बढ्छौँ । मेरो फोकस सातै प्रदेशको गुरुयोजना बनाउने हुन्छ । मेरो नेपाल कस्तो हुनुपर्छ भन्ने बाटोचाहिँ म देखाउन सक्छु । यसका लागि स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्छु ।
० अहिले पर्यटन क्षेत्रका चुनौतीहरू के–के हुन् ?
मुख्य चुनौती त महामारीले पारेको असरबाट यो क्षेत्रलाई बाहिर ल्याउनु नै हो । जस्तै, ०७२ मा भूकम्प जाँदा नेपालमा पर्यटकलाई बोलाउन सक्ने अवस्था थियो । त्यसरी नै बोलाइएको पनि हो । अहिलेको समस्या विश्वव्यापी हो । कतिपय मुलुकले नेपाल भ्रमणमा लगाएको प्रतिबन्ध खुलाउनुपर्ने छ, रेड लिस्टबाट हटाउनुपर्ने छ । यो पनि चुनौतीपूर्ण नै छ । केही देशले खोपको नाम नै तोकेर त्यही खोप लगाएको देशमा मात्रै आफ्ना नागरिकलाई जान दिने घोषणा गरेका छन् । अर्काेतर्फ, कतिपय मुलुकले नागरिकलाई बाहिर घुम्न जानै रोक लगाएका पनि छन् । यो पनि अर्काे चुनौती हो । त्यसैले, नेपाल घुमफिरका लागि सुरक्षित छ । सबै स्वास्थ्य सुरक्षाका प्रोटोकल पनि पालना हुन्छन् भन्ने सन्देश दिनु अबको आवश्यकता हो ।
० हाम्रो ठूलो प्रोजेक्ट कोरोनाका कारण रोकियो–भ्रमण वर्ष–२०२०, त्यही रूपमा अब अगाडि नजाला, अर्कै रूपमा भए पनि अगाडि जान सक्ने अवस्था छ ?
एकदमै अगाडि जाने अवस्था छ, किनभने पर्यटन बोर्डको ऐनले समग्र पर्यटनको लिडरसिप लिने संस्था मन्त्रालय पनि होइन भनेको छ, बोर्डलाई हामीले त्यो ढंगले सञ्चालन गर्न सकेनौँ, जसका कारण कता–कता यो भूमिका पर्यटन बोर्डको होइन कि भन्ने लाग्छ, चाहे त्यो नीतिनियम बनाउने कुरा होस्, चाहे के–के गर्ने भन्ने कुरामा । बोर्डले निर्णय गरेर सरकारले स्वीकार्ने कुरा हो । त्यसैले यो गर्नका लागि हामीले सात प्रदेशमा मार्ट गर्न सकिन्छ कि सकिँदैन भनेर हेर्न लागेका छौँ । अहिले त धेरै जिल्लाहरू समेटिएर एउटा प्रदेश बनेको स्थिति छ । त्यो कारणले गर्दा अब तपाईं त्यो प्रदेशमा कति सक्सेस हुन्छ, त्यसका आधारमा अनि अन्तर्राष्ट्रिय क्षेत्र पनि कति खुल्छ भन्ने आधार हेरेर हामी पोलिसी बनाएर अब गर्न सकिन्छ, हिजोको भिजिट नेपाल–२०२० गरेजस्तै पर्यटन वर्ष गर्न सकिन्छ भनेर सरकारलाई हामी एउटा नीतिगत रूपमै अथवा बैठकमै निर्णय गरेर दिन्छौँ र सरकारले लिने स्थिति बनाउँछौँ । त्यही बनाउनका लागि नै एक उत्पादन एक गाउँ, एक महत्वपूर्ण प्रोडक्ट एक जिल्ला, सातै प्रदेशमा मार्ट भन्ने हिसाबले हामीले अहिले नीतिमा अगाडि सारेका हौँ, कोभिडले कति छुन्छ र कति सहभागिता हुन्छन् व्यवसायी र हाम्रो पर्यटकहरूको वा जनसमुदायको भन्ने कुरा हेर्नका लागि पनि हामीले यो कार्यक्रम अगाडि बढाएको हो र यसकै आधारमा अब हामी एउटा ठूलो कार्यक्रम, भिजिट नेपाल–२०२० कै रूपमा के नाम दिने, त्यो पछिको कुरा हो, त्यो ढंगले अगाडि बढाउने सोचमा पर्यटन बोर्ड छ ।
० पर्यटन पुनरुत्थानका लागि अब के गर्नुपर्छ ?
अब सरकारले आन्तरिक पर्यटन तथा सीमाक्षेत्रका बासिन्दालाई ध्यानमा राखेर पर्यटकीय गतिविधि बढाउनुपर्छ । गौतम बुद्ध विमानस्थल पनि सञ्चालन हुने भएकाले विदेशी बजारमा पूर्ण योजनाका साथ प्रचारप्रसारमा लाग्नुपर्छ । आजसम्म अमेरिका, यूरोप, क्यानडाजस्ता टाढाका देशहरूलाई केन्द्रित गरेकोमा अब भारतीय सीमावर्ती क्षेत्रका नागरिकलाई पनि आकर्षित गर्ने नीति लिनुपर्छ । किनभने नेपालसँग भारतका ३५ करोड मानिस जोडिएका छन् । २१ ओटा पोइन्ट र सातओटा अध्यागमन केन्द्रबाट उनीहरूलाई ल्याउन सकिन्छ । सरकारले यसमा सहजीकरण गरिदिनुपर्छ । खासगरी हिलस्टेशन, मध्य पहाडी क्षेत्रमा लक्षित गरेर पर्यटन प्रडक्ट ल्याउनुपर्छ ।
० दशौँ राष्ट्रिय महाधिवेशन नजिकिएको छ, तपाईंलाई चाहिँ कत्तिको लागेको छ महाधिवेशन ?
म पनि पर्यटन क्षेत्रमा लागेको पर्यटन अभियन्ता हुँ । खानको लागि काम गरिन्छ । काम गर्ने क्रममा विभिन्न संघ÷संस्थामा गइन्छ । त्यस्तै म नेपालको नागरिक भएको कारणले कुनै न कुनै पार्टी रोज्ने अधिकार हुन्छ । म लामो समयदेखि व्यवसाय र संघ÷सस्थामा आवद्ध रहेको छु । म विद्यार्थीकालीन समयदेखि नै राजनीतिमा लागेँ । नेकमा माले हुँदै एमालेमा लागेँ । मैले विविध चरणहरू पर गरेँ । इलाका, जिल्ला हुँदै अहिले केन्द्रीय विभाग र जिल्लाको महत्वपूर्ण ठाउँमा छु । अहिले मेरो लागि यो महत्वपूर्ण चाड हो । सोही कारणले महाधिवेशन नलाग्ने त कुरै भएन । नेपालको कम्युनिस्ट आन्दोलनमा विधान महाधिवेशनबाट नीति र राष्ट्रिय महाधिवेशनबाट नेतृत्व छनोट गर्ने कुरा नयाँ हो । हामीले नवौँ महाधिवेशनबाट यो विषय पारित ग¥यौँ र त्यसैअनुसार विधान महाधिवेशन सकेर अहिले राष्ट्रिय महाधिवेशनको तयारीमा छौँ । अब राष्ट्रिय महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । त्यसअन्तर्गत सबै तयारी धमाधम चलिरहेको छ । खासगरी अहिले महाधिवेशनस्थलको तयारी र व्यवस्थापनको काम भइरहेको छ ।
० दशौँ महाधिवेशनमा तपाईंको उम्मेद्वारी कुन पदमा हुन्छ ?
नवौँ महाधिवेशनमा पनि म केन्द्रीय सदस्यमा म अगाडि बढेको थिएँ । जसमा धेरै मतले विजय हासिल गर्न सकिन । अहिले पनि म केन्द्रीय सदस्यमा जाने हुँ । जानको लागि म प्रतिनिधि पनि भएको छु ।