उपसचिवले पारे आफ्नै सरुवापत्र गायव

प्रशासन

काठमाडौं । मन्त्री, सांसददेखि हाकिमसम्मको साथ र बल पाएपछि कर्मचारी कतिसम्म भ्रष्ट र अटेर हुनसक्छ भन्ने एउटा उदाहरण हो यो । चाहे सिंहदरबारभित्रैको कार्यालय होस् वा तराईको मालपोत कार्यालय जहाँका कर्मचारी सरुवा नै रातारात उल्टिन्छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका एक जना उपसचिवले आफ्नो सरुवा पत्र नै गायब बनाइदिएका छन् । उनी हुन सुवाष ढकाल । ढकाल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर ओलीका दाहिने हात । उनै ढकालको सरुवाको पत्र नै गायब बनाइएको हो । ढकाललाई यसअघि आइटी विज्ञ अलीकै डिजाइनमा राष्ट्रिय परिचयपत्रमा लगिएको हो । राष्ट्रिय परिचयपत्रमा हुँदा उनले ओम्नीसँग साँठगाँठ गरेर आइटीका केही ठेक्कासमेत दिने काम गरेको आरोप लाग्दै आएको छ । तामाकोशी सन्देशले प्राप्त गरेको विवरण अनुसार, ढकालको सरुवा अघिल्लो वर्ष माघ १० गते गृह मातहतको पञ्जिकरण विभागबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छ । सामान्यका उपसचिव कृष्णप्रसाद भुषालको हस्ताक्षर रहेको सो सरुवा पत्रमा कर्मचारी संकेत नम्बर १८२२०७ रहेका ढकाललाई पञ्जिकरण विभागबाट उद्योगमा खटाइएको वर्ष दिन बित्न लाग्दासमेत उनी त्यहाँबाट टसका मस हुनुपरेको छैन । बरु सो कार्यालयका हाकिम अर्थात् सहसचिव परिवर्तन भइसकेका छन् । यस अघिका महानिर्देशकलाई त्यहाँबाट हटाएर कांग्रेसनिकट तीर्थराज भट्टराई अहिले महानिर्देशकको कुर्सीमा छन्, तर सरुवाको पत्र बनेको १० महिना व्यतित भइसक्दासमेत ढकाल सरुवा हुनु परेको छैन । गृह स्रोतका अनु्सार, ढकाल अघिल्लो वर्ष कोभिड १९ को संक्रमण फैलदा स्वास्थ्य सामग्री खरिद घोटलामा मुछिएका पात्र हुन् । सो प्रकरणमा प्रत्यक्ष मुछिएका ओम्नी समूहकै संरक्षण पाएका कारण उनी कतै सरुवा हुनुनपरेको गृहका अधिकारीहरू सुनाउँछन् । उनलाई त्यहीँ टिकाउनका लागि अस्गर अलीहरूले ठूलै लगानी र शक्ति खर्चिएको स्रोत सुनाउँछ । कारण राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग भनेको हरेक नेपालीको सम्पूर्ण अभिलेख रहने ठाउँ हो । त्यही ठाउँमा आफ्नो पकडका मान्छे अर्थात् कम्प्युटर निर्देशक ढकाललाई राखी डाटा गायब पार्ने उदेश्यका साथ अस्गर अलीहरूले खेलेको स्रोत बताउँछ ।
२०७७ माघ १६ गते संघीय मामिला तथा सामान्य प्रशाास मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका कम्प्युटर निर्देशक ढकाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत सरुवा गरेको पत्र हामीले फेला पारेका हौँ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्रबाट उद्योगमा सरुवा भए पनि स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्ने ओम्नी ग्रुपको चलखेलमा ढकालको सरूवा गुपचुप पारिएको मन्त्रालय उच्च स्रोतले तामाकोशी सन्देशसँग बतायो । सञ्चार मन्त्रालयमा बसेर राष्ट्रिय सूचना प्रविधि केन्द्रका विकल पौडेल, सुनिल पौडेलसँग मिलेर आइटीका ठेक्कामा चलखेल गर्ने गरेका ढकालले राज्य संयन्त्रलाई आफू अनुकूल घुमाएको देखिन्छ ।
यसरी एकै ठाउँमा टिकिरहने उनी एक्ला पात्र होइनन् जिल्ला मालपोत कार्यालय कलैया बारामा कार्यरत नायब सुब्बा कौशल किशोर झाको सरुवा भएको १० महिना बितिसक्दा पनि रवाना पत्र बुझेका छैनन् । विगत १४ वर्षदेखि एउटै कार्यालयको एउटै फाँटमा रजाई गरिरहेका नासु झाको यसअघि पनि ४ पटक सरुवा भएको थियो । तर, चारैपटक झाले सरुवा रद्द गरेर कलैया कार्यालयमै काम गरिरहेका छन् । अहिले १० महिना अघि उनको सरुवा म्याग्दी जिल्ला भएको छ । तर, हालसम्म पनि उनले रवाना पत्र बुझेका छैनन् ।
यसरी कोही कर्मचारीको सरुवाको पत्र बुझेको दश महिनासम्म सरुवा नहुँदा केही सहसचिव सरुवा भएको पाँच दिनमै सरुवा संशोधन गराउन सफल भएका छन् । मुस्लिम आयोगमा हाजिर भएका सहसचिव होमप्रसाद लुइँटेलले एक साता मात्रै आफ्ना सरुवा संशोधन गराउन सफल भएका छन् । त्यहा पुगेको साता दिन नबित्दै सहसचिव लुइँटेलको पर्यटन मन्त्रालयमा सरुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले लुइँटेलको स्थानमा मंसिर ९ गते नै सहसचिव रेखा दासलाई त्यहाँ पठाएको छ । दास हालै मात्र सहसचिवमा बढुवा भएकी हुन् । लुइँटेलले यसअघि प्रमुख जिल्ला अधिकारी चलाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *