एमालेमा मालामाल दम्पत्ति

राजनीति

काठमाडौं । भनिन्थ्यो एमाले पार्टी सर्वहाराको तर अब कहाँ सर्वहारा रह्यो र एमाले ? बरु परिणत भयो ‘सर्वहारामा ।’ नीति विधि सिद्धान्तलाई धोती लगाउँदै अध्यक्ष ओलीकै तजबिजीमा पार्टी चल्न थाल्यो । मजदुर, गरिब र किसान वर्गको पार्टी भनिने एमालेले जारी चितवन महाधिवेशनमै झण्डै १५ करोड रुपैयाँ उडाएको छ । जबकी सौराहामा महाधिवेशनको खर्च सात करोड ५० लाख अनुमान गरिएको थियो । तर, मंगलबारसम्ममा महाधिवेशन अरु दुई दिन लम्बिएको छ उसो त एमालेले उद्घाटन सत्रका लागि नदी किनारमा बनाएको मञ्चका लागि मात्रै ४५ लाख रुपैयाँ खर्चेको थियो । उता केही महिना अघिमात्र ललितपुरमा चार करोड ७१ लाख खर्चेर सम्पन्न गरिएको विद्यान महाधिवेशन सौराहामा पुगेर तोडमोड गरिएको छ । त्यति गर्दा पनि एमालेमा फेरि दुई गुट अस्तित्वमा रहने स्थिति देखिएको छ । यसअघि एमालेमा माधव नेपाल खेमा बलियो थियो । ओलीले माधव नेपालसँग प्रतिष्पर्धा गर्न पर्ने भएर उनीनिकटका २३ जनालाई पार्टीबाट लखेटे पनि फेरि अर्काे गुट जन्मने खतरा देखिएको छ । सर्वसम्मतिका नाममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली सार्वजनिक गरे । जहाँ केही नेताका श्रीमान श्रीमती, दाजु बहिनी, भाइ भतिजा नै अटाए, तर त्यही कमिटीबाट पुराना र सक्रिय नेताहरू फालिएका छन् । यसरी श्रीमान श्रीमती नै केन्द्रीय कमिटीमा पर्नेमा शंकर पोखरेल उनकी श्रीमती सुजिता शाक्य छन् । पोखरेल निर्विरोध महासचिव बनेका छन् भने सुजिता केन्द्रीय सदस्य । यस्तै पोखरेलकै बहिनी मेनका पनि केन्द्रीय कमिटीभित्र अटाएकी छन् ।
उसो त यस्तो लाभ हासिल गर्नेमा पोखरेल एक्ला होइनन् रघुवीर महासेठका दम्पत्तिदेखि शेरधन तामाङका दम्पत्तिले नै यस्तो लाभ हात पारेका छन् । महासेठको नाम सचिवमा परेको छ भने जुली महतो केन्द्रीय कमिटीमा । यता शेरधन तामाङका श्रीमान श्रीमती नै केन्द्रीय कमिटीमा अटाएका छन् । शेरधन एमाले केन्द्रीय कार्यालय सचिवका रुपमा क्रियाशील थिए । उषाकला राई केन्द्रीय सदस्य बन्न सफल भएकी छन् । उनीहरू पालैपालो मन्त्री समेत बनेका थिए यसअघि । यस्तै, पूर्व महान्यायधिवक्ता रमेश बडाल र उनका काका केशव बडाल, ओलीका पूर्व सल्लाहकार राजन भट्टराई र उनकी बहिनी विद्या भट्टराई पनि केन्द्रीय कमिटी सदस्यमा अटाएका छन् । यसरी कसैका एकाघरका तीन जनासम्म केन्द्रीय कमिटीमा अटाउँदा पूर्वमन्त्री लालबाबु पण्डितदेखि एमाले सचेतक विशाल भट्टराईको नाम केन्द्रीय कमिटीबाटै काटिएको छ ।
उता ओलीका लागि धरहराबाट हामफाल्न तयार छु भन्ने महेश बस्नेत सचिव पदका आकांक्षी थिए । उनी केन्द्रीय कमिटीमै सीमित छन् । उस्तै अवस्थामा पारिएका छन् गोकुल बाँस्कोटा । ओलीका निकटस्थ मानिने विशाल भट्टराईको हालत पनि गोकुल र महेशको भन्दा तल पारिएको छ । उनको नामसमेत पण्डितको झैं केन्द्रीय कमिटिमा समेत अटेन । जनतामाझ लोकप्रिय भट्टराई एमालेको प्रमुख सचेतकको भूमिका थिए । उनी खुला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन् । ओलीले सुनाएको ३०१ कमिटीमा पुराना कम्युनिस्ट नेताहरू टंक कार्की, नरेश खरेलदेखि पार्टी विभाजनपछि एमाले नै रोजेका सुरेन्द्र मानन्धरहरूको नाम सो सूचीमा अटाएनन् । जहाँ कोमल वली, मोतीलाल दुगडहरू अटाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *