बिचौलियाका कारण अकालमा ज्यान गुमाउँदै बिरामी निजी अस्पताल बिरामीको दशा

समाचार

काठमाडौं । सरकारले जतिसुकै नारा ल्याए पनि नेपालीले महँगो उपचार गर्न बाध्य भएका छन् । निजी अस्पतालहरूले बिरामीको उपचारको नाममा मनपरी शुल्क लिने गरेका छन् । सरकारी अस्पतालमा राम्रो उपचार नपाएपछि निजी अस्पतालमा बिरामीको चाप बढेको छ । निजी अस्पतालमा उपचार गर्न नसकेर बिरामीहरूले अकालमै ज्यान पनि गुमाउने गरेका छन् । निजी अस्पतालहरू बिचौलियाहरूले कब्जा जमाएका कारण निजी अस्पतालमा उपचार गराउने कतिपय मानिसको घरखेत बन्दकी राखेर उपचार गराउनुपर्ने स्थिति रहेको छ भने कतिपय बिरामी निको नभएर झारफुकलाई सहारा बनाउनुपर्ने अवस्था बनेको छ । राज्यले यस्ता निजी अस्पतालमा पनि सहुलियत दिनुपर्ने आवाज बिरामीहरूका आफन्तले उठाउने गरेका छन् । सरकारी अस्पतालको हविगत पनि उस्तै छ । उपचार राम्रो नहुने, चिकित्सकहरू अस्पताल नआउने र आफ्ना निजी क्लिनिकतिर धाउने गरेका कारण सरकारी अस्पताल बिरामी भेला हुने थलो मात्र बन्न पुगेको छ । काठमाडौंका नाम चलेका अस्पतालहरू थापाथलीको नर्भिक अस्पताल, बि एण्ड बि ग्वार्काे, भेनस हस्पिटल नयाँ बानेश्वर, मेडिसिटी अस्पताल चावहिल, अन्नपूर्ण न्यूरो अस्पताल थापाथली, केएमसी सिनामंगल, मध्यपुर थिमी अस्पताल तथा बयोधाजस्ता अस्पतालमा आमनेपालीले उपचार गराउन सक्ने स्थिति छैन । त्यतिमात्र नभएर सरकारी अस्पतालमा पनि कतिपय नेपालीले उपचार राम्रो गर्नसक्ने क्षमता आम नेपालीमा छैन । यस्ता बिरामीको लागि राज्यले ध्यान दिनुपर्ने देखिन्छ । निजी अस्पतालमा कतिपय बिरामीले अकालमा ज्यान गुमाउने गरेका छन् । लापरबाही गरी एउटा औषधि दिनुपर्नेमा अर्काे औषधि दिएर यसको रियाक्सनले गर्दा बिरामीले अरु रोगहरूको शिकार हुनुपर्ने तथा एउटा भागको अपरेसन गर्नुपर्नेमा अन्य भागको अपरेसन गरी मृत्यु हुने गरेको समाचार पनि आइरहेका छन् । यस्ता अस्पताललाई कारबाही गरी जरिबाना गराउनुपर्ने हो । यस्ता विषयमा स्वास्थ्य मन्त्रालय देखेको नदेखेझैं गरी बसेको छ । यसको अनुगमन सरकारले गरेको छैन । सरकारी अस्पतालदेखि निजी अस्पतालमा सामान सप्लाइ गर्न बिचौलियाहरूको बिगबिगी रहेको छ । अस्पतालको फर्निचर, एक्स रे मेसिन, भिडियो एक्सरे मेसिन, थेरापी मेसिन, औषधिलगायत बिचौलियाले महँगामा अस्पताललाई बिक्री वितरण गरेका छन् । बिचौलियाले खरिद गरेको सामान सरकारी अस्पतालका महानिर्देशक तथा निजी अस्पतालका अध्यक्ष, डाइरेक्टरहले खरिद नगरेमा डाक्टर सरुवा गरिदिने गरेका छन् । यस्तै कोरोनाको महामारीमा औषधि, मास्क, सेनिटाइजर, थर्मलगन, अक्सिजनजस्ता सामानमा बिचौलियाले करोडौँ कमाएका थिए । बिचौलियाले सरकारी अस्पतालका डाक्टरदेखि प्राइभेट अस्पतालका डाक्टरलाई कमिसन दिनुपर्ने यस्तै स्वास्थ्य मन्त्रालयसम्म भागबण्डा पु¥याउनुपर्ने नेपालमा विभिन्न स्वास्थ्य सामग्री भारत र चीनबाट वा अन्य मुलुकबाट ल्याउनुपर्ने अवस्था छ । यसरी ल्याउँदा ठाउँ–ठाउँमा घुस खानुपर्ने जस्ता समस्याले सताएको एक बिचौलियाले नाम नबताउने सर्तमा तामाकोशी सन्देश साप्ताहिकलाई बताएका थिए । सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा जस्तोसुकै नारा ल्याए पनि व्यवहारमा लागू गर्न नसक्ने गुनासो गरेका थिए । सरकारी अस्पतालले महँगो पर्ने स्वास्थ्य सामग्रीदेखि सामान्य औषधी निःशुल्क दिन सक्दैन । किनकि सरकारले किन्दा सस्तोमा दिनुपर्छ र निजी कम्पनीसँग समन्वय गरी महँगोमा खरिद गर्दा पर्ने गरेको गुनासो गरे । यसरी स्वास्थ्य सामग्री सप्लाइ गर्ने कम्पनीले मन्त्री सचिवसम्मलाई गुमराहमा पार्ने गरेका छन् । यस्तै, पुराना दीर्घरोगी बिरामीको लागि अक्सिजन सप्लाइमा समेत ठूलो मात्रामा कमिसन हात पार्ने काम गरेका छन् । खासगरी ठूलो मात्रामा सामान सप्लाइ गर्नै सरकारी अस्पतालमा बिचौलिया हाबी भएका छन् । वीर अस्पताल, टिचिङ, हृदयरोग केन्द्र, ट्रमा सेन्टर, पोखराको मणिपाल, सिभिल हस्पिटल, कान्ति बाल अस्पतालजस्ता हस्पिटलमा गुणस्तरहीन औषधिदेखि अन्य सामान गुणस्तरहीन सामान महँगोमा बिक्री वितरण भएको छ । यस्ता अस्पतालमा कस्तो खालको सामान प्रयोग गर्नुहुन्न, कुन खालको सामान प्रयोग गर्नुपर्छ भन्नेसम्म जानकारी सरकारले चासो राखेको छैन । यसको अनुगमन समेत हुने गरेको छैन । सरकारी, गैरसरकारी अस्पतालमा स्वास्थ्य सामग्री सबै नक्कली प्रयोग गरी महँगो मूल्यमा सामान खरिद गरी कमिसन खाने गरेका छन् । यतिमात्र नभएर बिरामी हेरी अस्पतालमा पाइने औषधि कमसिन नआउने भएपछि बिरामीका आफन्तलाई यो औषधि यहाँ छैन, बाहिरबाट लिएर आउनुस् भन्दै बिरामीको उपचार अपरेसनको सामानदेखि औषधिसम्म बाहिर किन्न पठाउने गरेका छन् । बिरामीका आफन्तले खरिद गरी ल्याएको सामानसमेत चोर्ने, चोराउने, अन्य अस्पतालका बिरामीलाई सप्लाइ गर्ने गरेका छन् । यस्तो व्यापार गर्ने व्यक्तिलाई कुनै पनि निकायले कारबाही गर्ने गरेको छैन । यो त एउटा उदाहरण मात्र हो, जस्तै कुनै दुर्घटना भएर बिरामी अचेत अवस्थामा अस्पताल कसैले पु¥यायो भने बिरामीको खल्तीको रकमसमेत झिक्ने र चोर्ने काम हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *