एसका मन्त्रीहरु एकपछि अर्को बदनाम बन्दै

राजनीति

काठमाडौं । नेपालीमा एउटा उखान छ आसा गरेको व्यक्ति नै जेठाजु । उस्तै हालत छ अहिले माधव नेपालको खेमाबाट मन्त्री बनेर गएकाहरूको । माधव नेपाल खेमाबाट विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाक्री, किसान श्रेष्ठ मन्त्री बनेको दुई महिना पुग्न लाग्दैछ । गत २२ असोजमा मन्त्री नियुक्त भएका उनीहरूको अनेकन फण्डाहरू मच्चिएका छन् अहिले ।
एमालेमा हुँदा पटक– पटक सांसद बनेका तर ओलीका कारण मन्त्री बन्न नपाएका विरोध खतिवडा सत्ताबाहिर हुँदा जस्तो छवि थियो, सत्तामा पुगेपछि उनी एकपछि अर्काे विवादित काम गर्दैछन् । मन्त्रीजस्तो व्यक्ति मामुली कर्मचारी सरुवाको काममा रमाइरहेका छन् । जस्तो हालैमात्र प्रतिपक्षमा हुँदा सरकारविरुद्ध खरो विरोधीका रुपमा प्रस्तुत हुने विरोध खतिवडा सत्तामा उक्लिएसँगै बिजोग अवस्थामा आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाका पछिल्ला काम कारबाही र गतिविधिले यो कुराको पुष्टि गर्छ । स्वास्थ्य मन्त्रालयले गरेका स्वास्थ्यकर्मीहरूको सरुवा एकपछि अर्को गर्दै विवादमा पर्न थालेका छन् । जस्तो हालैमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. अनुप बाँस्तोलालाई सार्क क्षयरोग केन्द्रतिर धकेलेर मन्त्री खतिवडाले डा. मनिषा रावललाई ल्याएका छन् । अनुप कोभिड–१९ महामारीको तेस्रो भेरियन्ट सुरू हुने जोखिम देखापरिरहेको अवस्थामा कोरोना कालमा अब्बल ढंगले काम गर्न व्यक्ति हुन् । उनी नेपालमा एक मात्रै ट्रपिकल मेडिसिन विज्ञ हुन् । उनको दरबन्दी टेकु अस्पतालभन्दा बाहिर छैन । २७ हजार स्वास्थ्यकर्मीहरूको दरबन्दीमध्ये ट्रपिकल मेडिसिनको एक दरबन्दीमा उनी मात्रै छन् । उनै विज्ञलाई त्यहाँबाट लखेटेर आर्थिक चलखेलमा डा.मनिषालाई ल्याइएको भन्दै उनी आलोचनामा परिरहेका छन् । मन्त्री खतिवडाले गरेका अधिकांश सरुवा विवादित बनेको छ ।
उस्तै हविगत छ प्रेम आले र रामकुमारीहरूको । अघिल्लोपटक ओलीका वनमन्त्री हुँदा कार्वनडाइअक्साइड मन्त्रीका रुपमा आलोचित प्रेम आले अहिले संस्कृति पर्यटन मन्त्री छन् । उनको ज्यादति सहन नसकेरै महिना दिनमै त्यहाँका सचिव यादव कोइराला अहिले शिक्षामा पुगेका छन् । उनीकहाँ महेश्वर न्यौपानेजस्ता माहिर खेलाडी तानिएको छ । मन्त्री आले हालैमात्र विदेश जाने टिकटमा समेत सेटिङ गरेको तथ्य तामाकोशीले फेला पारेको छ ।
मन्त्री आले, सचिव यादव कोइराला र पर्यटन बोर्डका हाकिम धनञ्जय रेग्मी लण्डन जाँदा उनले सेटिङमा राज्यकोषलाई भार पार्ने गरी १२ लाख ३५ हजार रूपैयाँ त टिकटमा खर्चिएपछि प्रेम आलेको देखाउने र चपाउने दाँत फरक रहेको कर्मचारीहरूले टिप्पणी गर्न थालेका छन् । आलेसँगै सोही कार्यक्रममा जाने अन्य सहभागीहरूले भने १ लाख ३८ हजार रुपैयाँमा टिकट खरिद गरेका थिए । मन्त्री आलेले सिलिंक ट्राभल एन्ड टुर्स कम्पनीमार्फत २९ अक्टोबरमा दुईतर्फी टिकट खरिद गरेका थिए । उनी ३१ अक्टोबरमा लन्डन उडेका थिए । सोही कार्यक्रमबाट फर्कदा उनले भन्सार छलेर ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी ल्याएका भेटिएको छ ।
यस्तै सहरी विकासमन्त्री रामकुमारी झाक्रीसमेत बदनामहरूको निर्देशनअनुसार चल्न थाल्दा विवादित बन्न थालेकी छन् । रामकुमारी ठेकेदार पवन महतोहरूको निर्देशनअनुसार चल्दा विवादित बन्न पुगेकी हुन् । जसको पछिल्लो उदाहरण हो हालैमात्र गोकर्णेश्वर नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित धाव ड्यामको अवलोकन गर्न त्यहाँ पुगेको उनको टोली उतै रात बिताएर फर्किए पछि विवादमा परेकी हुन् । सो टोलीमा सचिव मणिराम गेलाल, सहसचिव रामचन्द्र दंगाल, अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिका अध्यक्ष उद्धव तिमिल्सिना, उक्त आयोजनाका प्रमुख दिलिप भण्डारी, आयोजनाको परामर्शदाता इआरएनसीको टिम, सहरी विकास मन्त्रालयको स्टोर हेर्ने दीपक सुवेदीलगायत करिब १५ जना उच्च कर्मचारी उक्त टिममा सहभागी थिए । सो ड्याम बनाउने ठेक्का पाएका छन् ठेकेदार पवन महतोले । यसैले हो धरहरा ठडाएको । रमन कन्ट्रक्सनकै सक्रियातमा मन्त्री र मन्त्रीको टिम बसेको र खानपिनको सबै खर्च पवन महतोले व्यहोरेका हुन् । सहरी विकास मन्त्रालय स्रोतका अनुसार, सहरी विकास मातहतका थु्रपै आयोजनाहरू ठेकेदार महतोले पाउने गरेका छन् । उनीहरू शुक्रबार राति उता पुगेर शनिबार मात्र फर्किएका थिए । खानपानमा मात्र ५ लाख बढी खर्चिएको मन्त्रालय स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *