कांग्रेसमा विकृतिको रूपमा मौलाएको गुट संस्कृति

लेख

१४औँ महाधिवेशन सम्पन्न गर्ने क्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरूले समेत पार्टीभित्र मौलाएको विकृति समाप्त पार्नु पर्ने बनिबनाउ विचारलाई व्यक्त गर्दैै आएका छन् । सभापतिमा नव निवाचितले पनि आफ्नो विजयको पहिलो प्रतिक्रियामा पार्टीभित्र मौलाएको विकृति समाप्त पार्ने ओठे प्रतिवद्धता व्यक्त गरेका छन् । तर, नेपाली कांग्रेसमा संस्थागत भई सकेको गुट समाप्त हुने सम्भावना भने देखिँदैन । किनभने पार्टीका शीर्ष नेताहरू तथा कार्यकर्ताको स्वार्थ नै गुटमा निहित गरेको छ । सम्पन्न महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा प्रमुख नेताहरूले गुटलाई सम्वद्र्धन गर्ने गरी प्यानलसहित उम्मेदवारी दिएका थिए । र, यसरी प्यानलको रूपमा सम्पन्न निर्वाचनमा प्रकट भएको नेपाली कांग्रेसभित्रको गुट अब पनि थप मौलाउने निश्चित छ । किनभने गुटकै आधारमा नेपाली कांग्रेसमा नेता कार्यकर्ताको स्वार्थ सम्बोधन हुने संस्कृति विकास भइसकेको छ । १३औँ महाविधेशनमा चार सय मत पनि नघाउन नसकेर पहिलो चरणबाट नै बाहिरिएका कृष्ण सिटौलाको राजनीतिक हैसियत सम्पन्न निर्वाचनमा यसरी बढ्नुको प्रमुख कारण उनले तयार गरेको गुट नै हो । यही कारणले गर्दा कृष्ण सिटौला गुटको समर्थन प्राप्त गर्नका लागि शेरबहादुर देउवाले महामन्त्री, सहमहामन्त्रीदेखि केही सदस्य समेत यो गुटलाई दिएर खुसी पार्ने काम गरेका थिए ।
गुटको कारण यसरी कांग्रेसमा अवसर पाउने र महत्व बढ्ने भएपछि यो निर्वाचनमा सभापतिमा लडेर केही मत ल्याएका विमलेन्द्र निधिलगायतले पनि आगामी दिनमा नेपाली कांग्रेसभित्र गुटको राजनीतिलाई अगाडि बढाउने निश्चित छ । आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि नेपाली कांग्रेसमा अहिले गुट नभई नहुने स्थिति बनेको छ । तर, गुटकै कारणले गर्दा निर्वाचित सभापतिले पनि निर्वाध रूपमा आफ्नो कार्यकाल अगाडि बढाउन नसकेको तीतो अनुभव पनि नेपाली कांग्रेसको नेतृत्वसँग नै छ । निर्वाचित भएको लामो समयसम्म पनि शेरबहादुर देउवाले विभिन्न समिति र विभाग गठन गर्न नसक्ने र ती विवाद र समितिमा नेतृत्व चयन गर्न नसक्नुको प्रमुख कारण पनि गुट नै रहेको छ । कुनै पनि सभापतिले पार्टी संगठन मजुबत पार्नका लागि समिति र विभाग गठन गर्ने प्रक्रियालाई बढाउना साथ पार्टीमा मौलाएका गुटको नेतृत्व गर्ने व्यक्तिले आफ्नो पक्षका लागि भाग माग्ने संस्कृति नेपाली कांग्रेसमा संस्थागत रूपमा नै विकास भएको छ । यो मामिलामा पराजित पक्षले आफूले पाएको मतको आधारमा भाग पाउनु पर्ने अडान राख्ने संस्कृति नेपाली कांग्रेसमा विकास भएको छ । यही संस्कृतिलाई टेकेर १३औँ महाधिवेशनमा सभापतिमा पराजित भएका रामचन्द्र पौडेलले पार्टीमा समानान्तर रूपले आफ्नो गुट मात्र सञ्चालन गरेका थिएनन् की पार्टीको तर्फबाट कार्यकर्तालाई जिम्मेवारी दिने अवसर आउनासाथ आफ्नो पक्षले चालिस प्रतिशत भाग पाउनु पर्ने अडान राख्ने गरेका थिए । यसैगरी १३औँ महाधिवेशनमा तेस्रो स्थानमा रहेर निर्वाचनको पहिलो चरणबाट नै बाहिरिएका तथा दोस्रो चरणमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित हुनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका कृष्णप्रसाद सिटौलाले पनि विगतमा सभापति देउवासँग आफूले पाएको मतको आधारमा अवसर र भाग माग्ने गरेका थिए । अर्थात् नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा पराजित पक्षले आफूले पाएको मतको आधारमा संस्थापना पक्षसँग अवसर र भाग माग्ने संस्कृति नेपाली कांग्रेसमा मौलाई सकेको छ । त्यस कारण अबको दिनमा पनि यो संस्कृति समाप्त हुने कुनै सम्भावना देखिँदैन । किनभने गुट समाप्त हुनासाथ कतिपय नेता र कार्यकर्ताको स्वार्थसमेत समाप्त हुने अवस्था आउन सक्दछ । तथापि, गुटको कारणले गर्दा नै पार्टी उँभो लाग्नु पर्ने ठाउँमा ओरालो लागि राखेको वास्तविकतालाई मनन गरेर सस्तो लोकप्रियताका लागि नेतृत्वको लागि भएको निर्वाचनको परिणाम आएसँगै विजयी पक्षले सबभन्दा पहिले पार्टीमा विकास भएको गुट संस्कृतिलाई समाप्त पार्ने ओठे प्रतिवद्धता व्यक्त गर्ने गरिन्छ ।
तर, नेपाली कांग्रेसमा शीर्ष नेताहरूले नै गुटलाई यसरी संरक्षण र सञ्चालन गरी राखेका छन् कि पछिल्लो दिनमा कुनै पनि कांग्रेसीले आफूलाई विशुद्ध कांग्रेसी भनेर परिचय दिने अवस्थासमेत समाप्त भएको छ र यो मामिलामा कांग्रेसी नेता तथा कार्यकर्तालाई आफूलाई कांग्रेसको कुन गुटको हो भन्नेसम्मको सम्बोधनले चिनाउनुपर्ने अवस्था आएको छ । त्यही गुटीय परिचयको आधारमा व्यवहार गर्ने संस्कृति नेपाली कांग्रेसमा संस्थागत रूपमा नै विकास भएको छ । यो विकृतिपूर्ण संस्कृतिलाई हेरक कांग्रेसीले हटाउनु पर्ने र यसको असर पार्टीको संगठनमा परिराखेको टिप्पणी गरेर सस्तो लोकप्रियता आर्जन गर्ने गरेको भए पनि कुनै नेताका लागि पनि गुट समाप्त गर्नु भनेको बिरालोको घाँटी कुन मुसाले घन्टी बाँध्ने भन्ने कहावत बन्दै आएको छ । अर्थात् सबै कांग्रेसीजन पार्टीभित्र मौलाएको गुट समाप्त गर्नुपर्छ भन्ने पक्षमा छन् । तर, सबै कांग्रेसीको व्यवहार भने गुटलाई भने मौलाउनेतिर हुने गरेको छ । अहिले पनि नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा सहभागीको मत भन्दा बढी गुट निर्णाय भएको स्थितिले यो वास्तविकतालाई प्रष्ट पार्दछ ।
बलियो गुट नभएको कारणले गर्दा नै कतिपय योग्य नेताले सम्पन्न निर्वाचनमा पराजय भोग्नु परेको छ । ती नेताहरू पराजित हुनुको अन्य कुनै कारण नभएर उसँग प्यानल र गुट नहुनु नै पराजयको कारण बन्न पुगेको छ । त्यस कारण आगामी दिनमा पार्टीमा गुट र प्यानल होइन, स्वतन्त्र हैसियत कायम हुनुपर्छ भन्ने मत राख्ने नेताहरू पनि गुटमा आवद्ध हुनेछन् र अहिले विकृतिको रूपमा मौलाएको गुटलाई नै संरक्षण गर्ने छन् । यो स्थितिलाई समाप्त पार्नका लागि कांग्रेस नेतृत्वले नेतृत्वको लागि हुने अहिलेको निर्वाचन प्रक्रियामाथि नै विचार गर्न आवश्यक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *