कांग्रेसका नवनिर्वाचित सभापति देउवाले हेक्का राख्नु पर्ने पक्ष

राजनीति

काठमाडौं । गत मंसिर २४ गतेबाट सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनले भावी नेतृत्वका लागि शेरबहादुर देउवालाई चयन गरेको छ । प्रतिष्पर्धी डा.शेखर कोइरालालाई पछाडि पार्दै सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले कम्तीमा आगामी चार वर्षसम्म नेपाली कांग्रेसको नेतृत्व गर्ने छन् । शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्व गर्न पार्टी मतदाताको मतबाट सभापतिमा निर्वाचित भएको यो दोस्रोपटक हो । यसभन्दा अगाडि २०७२ साल फागुनमा सम्पन्न भएको १३औँ महाधिवेशनले पनि सभापतिमा चयन गरेको थियो । नेपाली कांग्रेसको दोस्रो कार्यकालका लागि नेतृत्व गर्ने अवसर पाएका देउवा अहिलेसम्म पाँच पटक प्रधानमन्त्री भई सकेका छन् ।
पार्टी विधानअनुसार ७४ वर्षीय देउवाले अब चाहेर पनि तेस्रो कार्यकालका लागि सभापतिमा प्रतिष्पर्धा गर्न पाउने छैनन् । यसैगरी उमेरको कारणले गर्दा अर्कोपटक पनि प्रधानमन्त्री हुने प्रयास देउवाका लागि अस्वभाविक देखिने निश्चित छ । तर, नेपाली कांग्रेसजस्तो पार्टीको दुई कार्यकाल नेतृत्व गर्नु र मुलुकको पाँचपटक प्रधानमन्त्री हुनु देउवाका लागि मात्र होइन, कुनै राजनीतिकर्मीका लागि पनि अहोभाग्य मान्नुपर्दछ । यसरी सफलताको शिखरमा पुगिसकेका देउवाले अब सत्ता र स्वार्थको चिन्ता छाडेर इतिहास बनाउनेतिर लागि पर्नु पर्दछ । देउवाले दोस्रो कार्यकालको उपयोग गर्दै इतिहास बनाउने भनेको सबभन्दा पहिले अब आउन थालेको स्थानीय र आम निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो स्थानमा पु¥याउनु नै हो । देउवा स्वयम्ले सम्पन्न १४औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाउँदा आफू दोस्रो कार्यकालका लागि निर्वाचित भएर पार्टीलाई पहिलो स्थानमा पु¥याउने मतदाता समक्ष दिएका थिए । कांग्रेसी मतदाताले देउवाको इच्छा र आकांक्षाअनुसार उनलाई दोस्रो कार्यकालका लागि सभापतिमा चयन गरेका छन् । अब देउवाले दोस्रो कार्यकालका लागि सभापतिमा चयन हुने क्रममा गरेको प्रचार–प्रसारमा पार्टीलाई पहिलो स्थानमा पु¥याउन भनेर दिएको वचनलाई पूरा गर्नु पर्दछ । सम्पन्न आम निर्वाचन र स्थानीय निर्वाचनमा कम्युनिस्ट गठबन्धनबाट पछाडि परेको नेपाली कांग्रेसलाई अब हुने स्थानीय प्रदेश तथा संघीय निर्वाचनमा पहिलो स्थानमा पु¥याउन सके देउवाको नाम निश्चितरूपमा नेपाली कांग्रेसको इतिहासमा अंकित हुनेछ । तर, अहिलेको कार्यशैलीले नेपाली कांग्रेसलाई शेरबहादुर देउवाले पहिलो स्थानमा पु¥याउने सम्भावना भने देखिँदैन । नेपाली कांग्रेसलाई अब हुने तीनै तहको निर्वाचनमा कम्युनिस्ट चुनौतीको सामना गर्दै पहिलो स्थानमा पु¥याउनका लागि सभापति देउवाले सबभन्दा पहिले आफ्नो कार्यशैली परिवर्तन गर्नु पर्ने हुन्छ । र, आम कार्यकर्तामा मात्र होइन, नेपाली जनतामा समेत यो दोस्रो कार्यकालमा भने देउवाले केही गर्छन् भन्ने विश्वास सबभन्दा पहिले जन्माउनु पर्ने हुन्छ । यसका लागि नवनिर्वाचित कांग्रेस सभापति देउवाले आफूले अहिलेसम्म सञ्चालन तथा संरक्षण गरेको गुटलाई भताभुंग पारेर आफूलाई कांग्रेसको वृहत्तर हितको सोचाइमा पु¥याउनु पर्ने हुन्छ । र, यो काम देउवालाई गर्न कुनै समस्या र स्वार्थ पनि चुनौतीको रूपमा आउने स्थिति छैन । किनभने अहिलेसम्म मुलुकको पाँचपटक प्रधानमन्त्री र दुई पटक पार्टीको सभापति भई सकेपछि उनका लागि सत्ताको थप स्वार्थ बाँकी हुनुपर्ने अवस्था छैन । यही कारणले गर्दा सभापति देउवाले यो पटकको चार वर्षे कार्यकाल कांग्रेस र नेपाली जनताको हितमा उपयोग गर्नु पर्दछ । यो मामिलामा सभापति देउवाले हेक्का राख्नु पर्ने पक्ष के छ भने उनको कार्यकाल जनउपयोगी हुने गरी अगाडि बढ्न नसके नेपाली कांग्रेसले प्रजापरिषदको नियति पनि भोग्नु पर्ने हुन्छ ।
नेपाली जनताको मानसिकता प्रजातन्त्रप्रति झुकाव राख्ने भएको कारणले गर्दा ठोस योजना र कार्यक्रम अगाडि नसार्दा पनि नेपाली जनताले कांग्रेसलाई समर्थन गर्दै आएका छन् । सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस कम्युनिस्ट गठबन्धनको पेलाइमा यस कारणले परेको थियो कि नेकपा एमाले र माओवादी केन्द्रजस्ता दुई ठूला कम्युनिस्ट पार्टी एक ठाउँमा आएर चुनावी मैदानमा उत्रिएका थिए । नेपाली जनमत प्रजातन्त्रप्रति झुकाव राख्ने भए पनि कांग्रेस नेतृत्वको कार्यशैलीले गर्दा यो पार्टीले आवश्यक परेको समयमा त्यो जनमत गुमाउने गरेको इतिहासले नै देखाएको छ । त्यस कारण देउवा नेतृत्वको नेपाली कांग्रेसले अबका दिनमा कम्युनिस्ट शक्तिबाट आउने चुनौतीको सामना गर्ने गरी मात्र होइन, जनताको समर्थन प्राप्त गर्ने गरी समेत अगाडि बढ्नु पर्दछ । र, यो लक्ष्य पूरा गर्नका लागि यही अनुरूपको कार्ययोजना पनि बनाउनु पर्दछ । यदि दुई ठूला कम्युनिस्ट विभाजित भएको र कम्युनिस्ट कित्तामा गम्भीर विवाद र झगडा भई राखेको अवस्थाको पनि फाइदा नेपाली कांग्रेसले उठाएर पहिलो स्थानमा पुग्न सकेन भने नेपाली कांग्रेस कहिले पनि अगाडि बढ्न सक्दैन भन्ने सत्यलाई दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका देउवाले राम्रोसँग बुझ्नु पर्दछ ।
कांग्रेस सभापति देउवाले यो दोस्रो कार्यकाललाई कसरी अगाडि बढाउँछन् भन्ने अबको केही दिनमा नै उनको कार्यशैलीले स्पष्ट पार्ने छ । १४औँ महाधिवेशनले कांग्रेसमा नयाँ नेतृत्व चयन गरेसँगै नवनिर्वाचित शेरबहादुर देउवाले सबभन्दा पहिले सर्वोच्च अदालतमा चर्किराखेको विवादलाई समाधान गर्न यथोचित उपाय अपनाउनु पर्ने हुन्छ । यसभन्दा अगाडि सभापति देउवाले आफू कुनै गुटको मात्र नभएर समग्र कांग्रेसको सभापति भएको सन्देश दिने गरी ठोस कदम चाल्न आवश्यक छ । यो मानेमा शेखर कोइरालको नेतृत्वमा पुगेको संस्थापनाइतर पक्षले अबका दिनमा संस्थापना पक्षसँग भागबण्डा नमाग्ने भनेर देउवालाई आफ्नो कार्यकाल अगाडि बढाउन सहयोग वातावरण बनाईदिने सन्देश र संकेत समेत दिएको छ । अर्थात् दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका देउवाले पार्टीभित्रको संस्थापनइतर पक्षसँग सम्झौता नगरी तथा भागबण्डा नदिई निर्वाध रूपले पार्टी नेतृत्व अगाडि बढाउन सक्दछन् । अब आउन थालेको यो सहज वातावरणलाई समेत उपयोग गरेर गुटलाई परित्याग गर्दै पार्टी हितमा ठोस कदम चाल्दै अगाडि बढ्नु पर्ने अवसर देउवाका लागि आएको छ र यो अवसर उपयोग गर्नबाट चुके भने त्यसको मूल्य सभापति देउवाले मात्र होइन समग्र नेपाली कांग्रेसले समेत चुकाउनु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *