सरकार सञ्चालक ठेकेदार र व्यापारी !

समाचार

काठमाडौं । सरकार कसले चलाउँछ मन्त्री, सांसद नेता कि व्यापारी र ठेकेदारले ? लाग्दो हो, सरकार वा मन्त्रालय मन्त्री वा नेताले नै चलाउने हो तर, नेपालका सन्र्दभमा अधिकांश मन्त्रालय ठेकेदार वा व्यापारीहरूले चलाउँदै आएका छन । उनीहरूकै हित अनुकुल हुने गरी कर्मचारीहरूले नीति, नियम तर्जुमा गर्नेदेखि संशोधन गर्नेसम्मको काम हुँदै आएको हो ।
यसपटक देउवा सरकारका परराष्ट्रमन्त्री छन् नारायण खड्का । उनै खड्काले मारवाडी व्यापारीहरूको प्रभावमा परेर अवैतनिक दूतहरूलाई झण्डासहितको निलो गाडी दिने भएको छ । यो सुविधा यसअघि ओली सरकारको पालामा खोसिएको थियो । २०६४ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अवैतनिक महावाणिज्य तथा वाणिज्य दूतलाई निलो नम्बर प्लेट तथा विदेशी मुलुकको झन्डा फहराउन दिने निर्णय गरेकोमा झण्डै १२ वर्षपछि यस्तो सुविधा खोसिएको थियो । गत ७६ चैत्रमा खोसिएको यस्तो सुविधा वर्तमान सरकारले फेरि दिन लागेको हो । त्यतिबेला किर्गिजस्तानका लागि अवैतानिक दूत सुलभ अग्रवालले निलो प्लेटको गाडीको प्रयोग गर्दै ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको भेटिएको थियो । अग्रवालले कोभिड १९ को संक्रमण फैलिरहेको समयमा तीन हजार पर्ने थर्मल गन १३ हजार रूपैयाँमा बिक्री गरेको भेटिएको थियो । कालो बजारीमा संग्लग्न रहेको भेटिएपछि सरकारले निलो प्लेट र झण्डाको आवरणमा गैरकानुनी धन्दा हुने गरेको भन्दै परराष्ट्र मन्त्रालयले यस्तो सुविधा खोसेको थियो ।
अवैतनिक दूतमा अधिकांश मारवाडी व्यापारी तथा ठूला घरानियाहरू छन् । जस्तो डलरे अर्बपति विनोद चौधरीको परिवारै छन् । यस्तो सुविधा चौधरीका परिवारका ६ जनाले उपयोग गर्दै आएका छन् । यस्तो सुविधा लिनेमा नेपालका अर्बपति, तर कर तिर्ने समयमा सदैव पछि रहेका विनोद चौधरीका भाइ तथा छोराहरू वसन्तकुमार चौधरी (मोरक्को) र अरुणकुमार चौधरी (हंगेरी) का दूत छन् । त्यसैगरी, चौधरीका जेठा छोरा निर्वाणकुमार चौधरी (सर्बिया), माइला छोरा राहुल चौधरी (माल्दिभ्स), कान्छा छोरा वरुण चौधरी (काजकिस्तान) र चौधरीका सालो मोरङ अटो वक्र्सका मालिक विष्णु अग्रवाल (चेक रिपब्लिक) का अवैतनिक दूत बन्न सफल रहेका थिए ।
यस्तै सुरज वैद्य, चिनी ठगी काण्डमा डामिएका शशीकान्त अग्रवाल, सुमितकुमार अग्रवाल, अशोककुमार अग्रवाल, चन्द्र ढकाल, प्रदीपकुमार श्रेष्ठ, राजेशकाजी श्रेष्ठ, राजेन्द्र खेतानदेखि अजेयराज सुमार्गी, विक्रम पाण्डे, पद्म ज्योती, अमिरप्रताप राणा, आङछिरिङ शेर्पा, नरेश दुगड, नारायण बजाजलगायतका छन् । अधिकांश यस्ता सुविधा उपयोग गर्नेमा मारवाडी समुदायको बाहुल्यता छ ।
दूत नियुक्ति लिनेहरूमा आइएमई ग्रुपका सञ्चालक चन्द्र ढकालदेखि विवादास्पद व्यापारी अजयराज सुमार्गीसम्म छन् । ढकाल इण्डोनेसियाका लागि अवैतनिक महावाणिज्य दूत हुन् भने सुमार्गी बेलारुसका । यस्तै एसियन ट्रेकका सञ्चालक आङछिरिङ शेर्पा (बेल्जियम), मनकामना केबुलकारका राजेशबाबु श्रेष्ठ (अस्ट्रिया), टानका पूर्वअध्यक्ष नवराज दाहाल (इस्टोनिया) र चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ (भियतनाम) का दूत हुन् । द्वारिकाज होटलकी सञ्चालिका अम्बिका श्रेष्ठ (स्पेन) की दूत हुन् भने राजेन्द्र खेतान (पोर्चुगल) र खेतानका भाइ प्रेमप्रकाश खेतान (टर्की)का दूत हुन् । कुमारी बैंकका लगानीकर्ता तथा गोल्डस्टार जुत्ताका मालिक अमिरप्रताप राणा (क्रोएसिया), ज्योति ग्रुपका पद्मज्योति (साइप्रस), पञ्चकन्या ग्रुपका साहु प्रदीपकुमार श्रेष्ठ (दक्षिण अफ्रिका) का दूत हुन् । त्यस्तै, भारतबाट चिनी तस्करी गरी नेपाली उद्योगको ट्याग झुन्ड्याएर बिक्री गर्ने तथा ६ अर्ब उखु किसानको नाममा भ्याट फिर्ता लिने शशीकान्त अग्रवाल (इक्वेडर) का दूत रहेका छन् । भ्रष्टाचारमा डामिएका र विशेषबाट उन्मुक्ति पाएका ठेकेदार तथा पूर्वमन्त्री विक्रम पाण्डे (ग्रीस)का अवैतानिक राजदूत हुन ।
गरिब जनताको हितमा केही माखो मार्न नसकेको कांग्रेस नेतृत्वको सरकारले कोही कालोबजारी त कोही कर छलीमा संग्लग्न ठूला व्यापारीको हितमा हुने गरी काम गरेको हो । सरकारले नेपालका धनाढ्य व्यापारीले पदको दुरूपयोग गर्ने गरेको भेटिए पनि सरकारले तिनकै पक्षपोषण हुने गरी निर्णय गरिसकेको छ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *