ओमिक्रोनबाट बच्न बेलैमा होसियार रहौँ

समाचार

काठमाडौं । विश्वका अधिकांश मुलुकमा कोरोना भाइरस फैलिरहेको अवस्थामा २०७६ सालमा जस्तै २०७७/०७८ मा नेपाल पनि कोभिडबाट अछुतो रहन सकेन । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको समस्याले विश्वका १० देखि १२ वटा देशमा असर पारेको छ । छिमेकी मुलुक भारतमा पनि ओमिक्रोनको बढ्दो प्रभाव देख्न सकिन्छ । भारतबाट नेपाल आउनेको संख्या पनि बढ्न थालेको छ । आम नेपालीहरू रोजी रोटीका लागि भारत प्रवेश गर्ने गर्दछन् । भारत र नेपालको खुला सीमाका कारण नेपालका प्रायजसो पश्चिमी र पूर्वी नाकाबाट नेपालीहरू नेपाल भारत ओहोर–दोहोर गरिरहेका हुन्छन् । यसको प्रभाव नेपालको सबै भूभागमा नपर्ला भन्न सकिन्न । नेपालको अधिकांश प्रदेशमा चोक, गल्ली, डिपार्टमेन्टल स्टोरदेखि ठूला–ठूला बजार सञ्चालनमा रहेका छन् । सो स्थानमा भिडभाड बढेको छ । यस्तै सरकारी कामको लागि जिल्ला प्रशासन कार्यालय, मालपोत, कृषि, सिँचाइ, उद्योग, पर्यटन, स्कुल कलेज, चिया पसल, रेस्टुँरा, गेस्ट हाउस, हस्पिटल, कफी, बर्गरहाउसदेखि यातायात क्षेत्रमा भीड देख्न सकिन्छ । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनले नसताउला भन्न सकिँदैन । यस्तो भीड लाग्ने जिल्ला प्रहरी कार्यालदेखि न्यायालसम्म रहेको छ । योसँगै नेपालीको हिन्दू धर्म र संस्कृतिसँगै विवाह, ब्रतबन्ध, पास्नीजस्तो कार्यक्रममा भोज भतेर गर्ने प्रचलन रहेको छ । यस्ता भीडलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले सावधानी अपनाउनुपर्ने भएको छ । आम नेपालीले ओमिक्रोनलाई मजाकमा लिएको अवस्था छ । यसले आगामी दिनमा ठूलो असर पार्नसक्ने सम्भावनालाई नेपाल सरकारले समयमै सतर्कता देखाउनुपर्ने भएको छ । आम सर्वसाधारण व्यक्ति पनि चनाखो भएर व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ । किनकि हाम्रो छिमेकी भारतमा ओमिक्रोन व्यापक रूपमा फैलिँदै गएको छ । त्यसकारण पनि नेपालीले एकआपसमा घुलमिल भिडभाडबाट सचेत हुनु जरुरी छ । भोलिका दिनमा भईपरी आउने समस्यालाई मध्यनजर गर्दै यसका समाधानका उपायप्रति ध्यान दिन जरुरी छ । यस्तो समस्या समाधान गर्न भीडबाट जोगिने, मास्कको प्रयोग गर्ने, विदेशीको भर पर्नुपर्ने भएको छ । नेपालमा गम्भीर रोगको उपचारका लागि विदेशिनुपर्ने, नेपालमा औषधिको अभाव झेल्नुपर्ने, चिकित्सकको क्षमता अनुभव भए पनि विभिन्न कारणले नेपालमा नेपालीको उपचार राम्रो हुन नसक्नुले स्वास्थ्य क्षेत्रमा मुलुकको कमजोरी देखिन्छ । यस्तो अवस्थामा कोरोनाको खोपसमेत विदेशीको भर पर्दा आम नेपालीले समयमा उपचार र बेड नपाएको अवस्था विगतको वर्षले देखाएको छ । यसकारण पनि नेपालीले समयमै सजगता अपनाउनुपर्ने हुन्छ ।
खासगरी विद्यालय, कलेजमा विद्यार्थी शिक्षकले ध्यान दिनुपर्ने हुन्छ । अन्य व्यक्तिहरू पनि सतर्क रहन आह्वान गर्नुपर्नेछ । शिक्षक–शिक्षिकाले कक्षा कोठामा सामाजिक दूरी कायम राखी मास्कको प्रयोग गर्न लगाउनुपर्छ र सेनिटइजरको प्रयोग गर्न आह्वान गर्नुपर्दछ । संस्कृति मनोरञ्जनको कामको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । भिडभाड हुने ठाउँमा भीड कम गर्नुपर्ने देखिएको छ । यसलाई मध्यनजर राखी समयमै स्वास्थ्य मापदण्ड पालना गराउनुपर्ने आवश्यक छ । यातायात व्यवसायीले चर्काे भाडा असुले पनि गाडी चालक सहचालकले कोचाकोच यात्रु ओसार–पसार गरिराखेका छन् । यस्तो विषयमा गृह मन्त्रालयले अनुगमन गरी सिट क्षमताभन्दा बढी यात्रु राख्ने चालकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ । यो कोरोना बढेर गएमा सभा, सम्मेलन गर्नलाई पनि रोक लगाउने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *