प्रचण्ड पथको सबैले सजिलै र सिधैँ बुझ्ने अर्थ भनेको शीर्ष नेता प्रचण्ड स्वयं हिँड्नु भएको अथवा उहाँको सक्रिय नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले अहिलेसम्म हिँडेको बाटो नै हो भन्ने बुझिन्छ । २०५२ साल देखि २०६२ सालसम्म उहाँ कै दृढ र सक्रिय नेतृत्वमा नेपालमा माओवादी केन्द्रले १० वर्षे जनयुद्ध अभियान सम्पन्न गरेका थिए । माओवादीको उक्त अभियानले नेपालमा पूर्ण सत्ता परिवर्तन गर्न वा गराउन नसके पनि विद्रोही माओवादी पार्टीलाई शान्ति सम्झौतामार्फत् नेपालको राजकीय सत्तामा छिर्ने अवसर प्राप्त भयो । माओवादीको नेतृत्वमा भएको १० वर्षे जनयुद्धको दौरानमा धनको नोक्सानी के कति भए कुनै ठोस विवरण प्राप्त छैन, तर राज्य पक्ष र विद्रोही पक्ष दुवैको अप्रत्यक्ष र प्रत्यक्ष संघर्षमा १७ हजार नेपाली जनताको ज्यान गएको भन्ने अभिलेख प्राप्त छ । विद्रोही माओवादी र सरकारी पक्षबीचको संघर्षमा अनेक बैंकहरू लुटिएका थिए भने धेरै निजी र सरकारी सम्पत्तिको नास भएको थियो । केही जानकारहरूले भन्छन् कि उक्त संघर्षले गर्दा नेपालको विकास ५० वर्ष पछाडि धकलिएको छ । सारांसमा भन्दा आफ्नै नेपाली दाजुभाइहरूका बीच चलेको उक्त १० वर्ष लामो संघर्षमा जनधनको नोक्सान पनि नेपाली जनतालाई नै भयो । नराम्रो के भयो भन्नुपर्दा १७ हजार नेपालीको अनाहाकमा ज्यान गयो, ठूलो परिमाणमा निजी र राष्ट्रको धन नोक्सानी हुनको साथै नेपालको विकास अभियान ५० वर्ष पछाडि धकेलियो । साथै नेपाली–नेपालीबीच भएको संघर्षलाई मिलाउने नाममा विदेशीले नेपालमा पसेर नेपालको विकास र राजनीतिमा चलखेल गर्ने ठूलो मौका पाए । थप सामजिक र मानसिक नोक्सानीहरू पनि भएका छन जुन अझसम्म पनि समाधान हुन सकेको छैन र जसको कारण नेपाली समाज र नेपाल राष्ट्र भित्रभित्रै लामो कालसम्म जली नै रहने छ । शान्ति सम्झौता पछाडि अनेक आयोगहरू बनाएर मलमपट्टी गर्न खोजिएको भएता पनि त्यो आजसम्म अपूर्ण नै छ र कैयौँ कालसम्म त्यो भाइभाइका बीच भएको संघर्षले बनाएको घाउ पुरिने देखिएको छैन । यस सन्दर्भमा गोर्खाको अधिकारी दम्पत्तीले न्यायको लागि गर्दै आएको संघर्ष र त्यसको समाधानको लागि सत्ताका भोगी दलहरूले गरेको बेवास्ता उल्लेखनीय छ । अधिकारी दम्पत्तीमध्ये श्रीमानको ज्यान न्यायको लागि संघर्ष गर्दागर्दै गइसकेको छ भने अधिकारीको पत्नी अझ पनि संघर्षरत नै छिन । दिवंगत अधिकारीको लास अझसम्म पनि त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको प्रशिक्षण अस्पताल महाराजगञ्जको मुर्दाघरमा राखिएको छ । कैयौँ साल बितिसक्यो र यो अवधिमा दलहरूको नयाँ–नयाँ सरकार बनेर ढली पनि सकेका छन्, तर अधिकारी दम्पत्तीले अहिलेसम्म चित्तबुझ्दो न्याय नपाएको हुँदा अधिकारीको पार्थिव शरीरको हिन्दू परम्परा र विधिअनुसार सद्गत हुन सकेको छैन । १० वर्षे जनयुद्ध कालमा घटेका, तर समाधान नभएका यस्ता अनेक काण्डहरू छन्, जसको तुरुन्तै समाधान निकाल्न जरुरी भए पनि दलहरूको सरकारले बेवास्ता गर्दै आएको छ । दलहरू सत्ताको भोगमा परी एक–अर्काको खुट्टा तान्नमा नै व्यस्त रहेको हुँदा राष्ट्रको समस्याहरू झन् झेलिँदै र जोल्ठिँदै गएका छन्। जसको प्रभावले गर्दा नेपालमा झन्–झन् नैराश्यता र अन्योलता बढेर गएको छ । यो अवधिमा धेरै नेपालीहरू नेपालमा आफूलगायत आफ्नो सन्तानको सुन्दर र सुरक्षित भविष्य नदेखी विदेश पलायन भएका छन् । १० वर्षे जनयुद्धबाट उब्जिएको नराम्रो पक्ष मात्रै छैन राम्रो पक्षहरू पनि छन । सबैभन्दा उल्लेख्य राम्रो पक्ष के छ भने नेपालमा लोकतन्त्र आएको छ । २४० वर्ष पुरानो राजतन्त्र समाप्त भएर गणतन्त्रको स्थापना भएको छ । परम्परागत रूपमा हिन्दूराष्ट्र नेपाल छिमेकी राष्ट्र भारतजस्तै धर्मनिरपेक्ष राष्ट्र भएको छ । सबै धर्मलाई नेपालमा समान रूपले विकास गर्ने अवसर प्राप्त भएको छ । संविधानसभाको गठन गरी नेपालको संविधान २०७२ बनाएर जारी गर्न पनि दलहरू सफल भएका छन । यो संविधान जारी भएसँगै केही हदसम्म नेपालमा लामो कालदेखि चल्दै आएको राजनीतिक संघर्षलाई पनि पूर्णविराम लागेको महसुस गरिएको छ । नेपालमा चल्दै आएको राजनीतिक अन्यौलता समाप्त भएकाले नेपाली जनतामा नयाँ उत्साह जागेको छ र अब नेपालको आर्थिक उन्नति पनि हुन्छ कि भन्ने आसा पलाएको छ । सबै राजनीति दलहरूको आ–आफ्नो बेग्लाबेग्लै पथहरू भएता पनि नेपाल राष्ट्रको राजनीति भने प्रचण्ड पथ कै सेरोफेरो सुस्तरी अगाडि बढेको पाइन्छ । शीर्ष नेता प्रचण्डकै नेतृत्वमा नेपाल सरकार नभए पनि सो सरकार बनाउनका निमित्त र चलाउनको निमित्त उहाँकै राजनीतिक नेतृत्वमा भएको पाइन्छ । पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र हालका प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेका नेपाल सरकारहरू सबै शीर्ष नेता प्रचण्ड कै राजनीतिक सक्रियता र योगदानले बनेका हुन् । हालका प्रधानमन्त्री देउवालाई चौँथो र पाँचौ पटक नेपालको प्रधानमन्त्री बनाउनमा शीर्ष नेता प्रचण्डकै प्रत्यक्ष हात रहेको छ । शीर्ष नेता ओलीको नेतृत्वमा भएको एमाले पार्टीसित माओवादी पार्टीको गठबन्धन गरी उक्त गठबन्धनलाई दुई तिहाई बहुमत दिलाउने शीर्ष नेता प्रचण्ड नै हुन् । शीर्ष नेता ओलीको अहंकारले गर्दा एमाले एक्लैले दुईतिहाई बहुमत ल्याएको हो भन्ने भ्रम फैलाएर दुई पार्टीबीचको एकिकरणलाई समेत भाँड्ने काम उहाँबाट भयो । शीर्ष नेता प्रचण्डको राजनीतिक योगदानलाई नजरअन्दाज गरेको हुँदा ओली सरकार ढलेर अहिले बार्दलीमा पुगेको अवस्था छ । अहिले चलेको देउवा सरकार बन्नेमा विश्वास कसैलाई थिएन । शीर्ष नेता ओलीले त यसलाई वास्तासम्म पनि कहिले गरेनन् । तर, असम्भवलाई सम्भव बनाउन सक्ने क्षमता भएका शीर्ष नेता प्रचण्डले सम्भव बनाएर नै छाडे । परिणाम स्वरुल लोकतन्त्रको विरोधी संसद भक्षक, अहंकारी शीर्ष नेता ओलीको सरकार तासको पत्ताबाट बनेको घर झैँ क्षणमै ढल्यो र हावामा उडेर उहाँकै घर बालकोटको बार्दलीमा पुगेर टुपलुक्क खस्यो । अबको आम चुनाव कसले जित्छ भन्ने कुराको निक्र्योल पनि शीर्ष नेता प्रचण्ड कै नीति र नेतृत्वबाटै निर्धारण हुने देखिन्छ । यसअर्थमा नेपालको राजनीतिलाई राम्रोसित बुझेका र सोहीअनुसार कदमहरू चाल्न सक्ने सफल नेता प्रचण्ड मात्रै छन भन्न सकिन्छ । शीर्ष नेता प्रचण्डलाई नेपालको राजनीतिक क्षितिजमा उदय भएको शनिग्रह नै मान्न सकिन्छ । उहाँसित मात्रै असम्भवलाई संभव बनाउने सक्ने राजनीतिक न्यायिक खुबी रहेको छ । यही यथार्थ कुरा बुझ्न नसक्दा शीर्ष नेता ओली ज्यूले उत्तानोटाङ परी चित खानु परेको हो । यस प्रसंगबाट शीर्ष नेता प्रचण्डले चितायो कि बिताइ हाल्छन् भन्ने कुरा स्थापित भएको देखिन्छ । त्यसैले शीर्ष नेता प्रचण्डको साथ सहयोग बिना अहिले नेपालमा चलेको राजनीतिक अवस्थाअनुसार कसैले पनि नेपालको प्रधानमन्त्री बन्न सक्दैन र कुनै पनि राजनीतिक दलले चुनाव पनि जित्न सक्दैन । नेपाली काग्रेसका केही नेताहरू नेपाली कांग्रेसले आगामी आम चुनाव कसैसित गठबन्धन नगरी एक्लै लडेर जितिन्छ र एक्लै सरकार बनाइन्छ भन्छन्, तर अहिलेको संविधानअनुसार त्यो सम्भव छैन । अहिले सत्तामा रहेको पाँच दलहरूले मिलेरै चुनाव लडेमा मात्र सरकार बनाउन सक्ने गरी भोट पाउने सम्भावना छ । दलहरूले चुनाव एक्लै लडे पनि सरकार बनाउनको लागि गठबन्धन नगरिकन धर पाउने छैनन् । बितेका राजनीतिक घटनाक्रमहरूको विश्लेषण र त्यसबाट निस्केको परिणामहरू केलाएर हेर्दा भविष्यमा हुनसक्ने राजनीतिक घटनाक्रमहरू र त्यसको परिणाम सहजै अनुमान लगाउन सकिन्छ । त्यसैको आधारमा अब आउने नेपालको राजनीतिमा पनि निर्णायक भूमिका शीर्ष नेता प्रचण्डकै हुने दाबीको साथ भन्न सकिन्छ । प्रचण्ड पथ भनेको यही नै हो, जुनसुकै पथबाट नेपालको राजनीति अगाडि बढे पनि त्यसको परिणाम भने प्रचण्ड पथकै सेरोफेरोअनुसार नै हुने रहने छ । आखिर प्रचण्ड पथ भनेको के हो त भनी सबैको मनमा जिज्ञासा जाग्नु स्वाभविक हो । प्रचण्ड पथ भनेको साविक राजनीतिक अवस्थाको ठोष विश्लेषन गरी सोहीअनुसारको लचकता, गतिशीलता, दृढता र त्याग अपनाउने राजनीतिक सिद्धान्त हो । सोही सिद्धान्तअनुसार नेपालको राजनीति लामो समयदेखि प्रचण्ड पथ कै सेरोफेरो चलेको छ र अब उप्रान्त पनि लामो कालसम्म त्यसरी नै नेपालको राजनीति चल्ने अनुमान सहजै लगाउन सकिन्छ । केही नेताहरूले प्रचण्ड पथको औचित्य सकिएको दाबी पनि गरेका छन्, तर त्यो सत्य होइन । प्रचण्ड पथको सिद्धान्त अहिले पनि सन्दर्भिक नै छ । तर, यसको उपयोग गर्ने विधिको शिद्धहस्त शीर्ष नेता प्रचण्ड मात्रै छन् । लामो राजनीतिक अनुभव र कठिन मेहनत र संघर्षले मात्रै यस्तो शिद्धी प्राप्त गर्न सकिन्छ ।