लोकसेवा विवादको घेरामा

प्रशासन

काठमाडौं । एउटा गरिमामय संस्था थियो सर्वाेच्च अदालत र अर्काे थियो लोकसेवा आयोग, जहाँ राजनीति छिरेको थिएन । तर, पछिल्लो चरणमा यी निकायसमेत विवादमा तानिँदैछन् ।
नेतृत्वका कारण यी निकायहरू पछिल्लो चरणमा चरम विवादमा परिरहेका छन् । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीका कारण अहिले सयौँ युवाहरू आन्दोलित छन् । हरदिनजसो आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिने र रेग्मीको राजीनामा माग्ने सिलसिला जारी छ । पाँच महिनादेखि अधिकृतको नतिजा सार्वजनिक गर्न नसकेको लोकसेवा कहिले उम्मेद्वारलाई अन्तर्वार्ताको सूचीबाट हटाएर विवादमा तानिँदै आएको छ ।
उही लोकसेवाले गत कात्तिक १५ मै रद्ध गरेको एउटा विज्ञापनमा वीर अस्पतालका हाकिम भूपेन्द्र बस्नेत बढुवा भएसँगै अहिले आलोचना प्रारम्भ भएको छ । दुई महिनाअघि नै लोकसेवाले रद्ध गरेको विज्ञापनमा उनलाई कसरी र कुन आधारमा बढुवा सिफारिस समितिको बैठक बसेर बढुवा गरियो ? अहिले प्रश्न उठ्न थालेको छ । स्वास्थ्य मन्त्रालयको च.नं. ८८५÷०७८÷०७९, १४ कात्तिक २०७८ को पत्रअनुसार स्वास्थ्य सेवा, मेडिसिन समूह, ग्यास्ट्रो इन्टेरोलोजी उपसमूह ११औँ तह प्रमुख कन्सल्ट्यान्ट ग्यास्ट्रो इन्टेरोलोजी पदमा माग पद संख्या १ मात्र कायम गरिदिन लेखी आएकाले १५ कात्तिक २०७८ को निर्णयअनुसार देहाय बढुवा रद्ध गरिएको व्यवहोरा सम्बन्धि जानकारीका लागि यो प्रकाशित गरिएको छ भनी उल्लेख छ ।
गत पुस २३ मा गोरखापत्र दैनिकमा एक सूचना प्रकाशन गर्दै स्वास्थ्य मन्त्रालयको बढुवा सिफारिस समितिले डा. भुपेन्द्रकुमार बस्नेतलाई प्रमुख कन्सल्ट्यान्ट ग्यास्ट्रो इन्टरोलोजिष्ट पद (११ औँ तह)मा बढुवा सिफारिस गरेको सूचना प्रकाशन गरेको थियो । उनी कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा सिफारिस भएको सो सूचनामा उल्लेख गरिएको छ । यसरी आफैँले रद्ध गरेको सूचनामा के र कुन आधारमा टेकेर बस्नेतलाई बढुवा गरिएको हो न त यसको जवाफ स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूसँग छ न त जवाफ नै दिन सक्छन् लोकसेवा आयोगका अधिकारीहरू ।
उता, त्यही लोकसेवा आयोगका कार्यरत एक जना सहसचिवले घर जानु अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दबाब दिएर सचिवको दरबन्दी थप्न लगाउन भ्याएका छन् । उनी हुन शंकरप्रसाद खरेल । अस्ति बुधबार बसेको क्याबिनेट बैठकले एक जना प्रशासन र एक प्राविधिकतर्फका सचिवको दरबन्दी थप गरेको छ । ०४४ सालबाट निजामती सेवामा छिरेका खरेल आगामी ४ माघमा ५८ वर्षे लागेर घर जाँदैछन् । सहसचिवमै घर जान लागेका उनलाई सचिव बनाउनकै लागि रातारात दरबन्दी थपिएको हो । खरेल जागिरे जीवन अवधिभर मालदार ठाउँमा मात्र बसेका कर्मचारी हुन् । उनकै लागि रातारात दरबन्दी सिर्जना गरेर सचिव बनाएर घर पठाउन लागिएको हो ।
उता कांग्रेसी पृष्ठभूमिका अर्काे बद्नाम सचिव रमेश सिंहका लागि प्राविधिकतर्फको सचिवको दरबन्दी थपिएको छ । सिंह निजामतीभित्र बद्नामी कमाएका सचिव हुन । रामकुमारी झाक्री सहरी विकास मन्त्री बनेसँगै त्यहाँबाट लखेटिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा थन्काइएका उनले प्रधानमन्त्री कार्यालयमार्फत खेलेर प्राविधिक सचिवको दरबन्दी थप्न लगाउन भ्याएका छन् । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५ जनामात्र सचिवको दरबन्दी रहेकोमा अहिले सात जनाको दरबन्दी पुगेको छ । अस्ति थप दुई सचिवलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेर पठाइएसँगै अब प्रधानमन्त्री कार्यालयमा ९ जना सचिव पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *