बाहिरबाट आउने सबैलाई विभेद् नगरी एउटै स्तरको क्वारेन्टाइनमा राखेका छौँ

अन्तरवार्ता अर्थ/वाणिज्य पर्यटन प्रमुख प्रशासन

 

 

विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा म्याग्दी जिल्ला अग्रस्थानमा छ । यहाँका प्रमुख जिल्ला अधिकारी आफैँ यसको निगरानीमा खटिँदै आउनु भएको छ । हालसम्म के के काम भए र थप कस्ता कामहरू गरिँदै छन् ? लगायत विषयमा केन्द्रित भएर तामाकोशी सन्देश साप्ताहिकका संवादादाता एल. बी. विश्वकर्माले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसँग गरेको कुराकानीको सम्पादित अंशः
० कोरोना महामारी विश्वभर फैलिएको छ । यसलाई नियन्त्रण गर्न जिल्लामा के के गर्नुभएको छ ?
अहिले जिल्लामा वैदेशिक रोजगारीमा गएका युवाहरू आउने क्रम जारी छ । यहाँका अधिकांश नागरिक भारतमा रोजगारीका लागि पुगेका छन् । त्यहाँबाट आउनेहरू मुख्यगरी सुदूरपश्चिमको गड्डाचौकी नाकाबाट धेरै जना आउँछन् । यसैगरी, रूपडिया नाकाबाट पनि मान्छेहरू आउने क्रम जारी छ । हामीले त्यसका लागि उचित व्यवस्थापन गरेका छौँ । कुनै पनि कुराको अभाव हुन दिइएको छैन । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हाम्रो स्रोत साधानले भ्याउँदैन । तैपनि हामीले नयाँ र पृथक ढंगले काम गरिरहेका छौँ । अवस्था हेरेर १४ दिनदेखि २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने गरेका छौँ । क्वारेन्टाइनहरू भरिँदै छन् । हामी थप क्वारेन्टाइनहरू व्यवस्थापन गर्दै छौँ । नयाँ क्वारेन्टाइनहरू विस्तार गर्दै गएका छौँ । स्थानीय तहहरू सक्रिय रूपमा व्यवस्थापनमा लागिरहनु भएको छन् ।
० पछिल्ला दिनहरूमा विदेशबाट आउनेलाई विभेद् गरेको देखिन्छ, तपाइँको जिल्लामा चाहिँ के कस्तो भइरहेको छ ?
हाम्रोतिर त्यस्तो छैन । हामीले सबैलाई व्यवस्थापन गरेका छौँ । सबैलाई एउटै बासस्थानको व्यवस्था गरेका छौँ । कसैलाई पनि हामीले विभेद् गरेका छैनौँ । सबैलाई हामीले एउटै किसिमको व्यवस्थापन गरेका छौँ । समाचारहरूमा आएजस्तो छैन । धेरै ठाउँमा उडेर आउनेलाई होटलमा र भारतबाट आउनेलाई बेवास्ता गरेको पाइन्छ । तर, हामीले भारतबाट आउने र तेस्रो मुलुकबाट आउनेलाई फरक राखे पनि एउटै स्तरको क्वारेन्टाइनमा राखेका छौँ । यही कारणले यहाँ विवाद देखिँदैन । सर्वसाधारणले सहयोग गरिराख्नु भएको छ । हामीलाई साथ र सपोर्ट पाइरहेका छौँ । यसरी विभिन्न चरणमा हेर्दा यहाँ कोरोना नियन्त्रण सहज भएकाले हामी जित्नेछौँ भन्नेमा पक्का छ । यसर्थ यसबारेमा फरक तर्कहरू भने आइरहेका हुन्छन् । हामीले फरक तर्क राख्ने काममा असहयोग गर्नेहरूलाई समेत सहयोग गर्न आह्वान गरेका छौँ । यो जिल्लालाई हामीले भयाबह हुन कदापि दिँदैनौ । चाँडै आन्तरिक रूपमा लकडाउन खुकुलो पार्न सक्ने दिशातिर हामी अघि बढिरहेका छौँ । अझै अन्य कुनै विकल्पहरूबारे पनि छलफल गरिरहेका छौँ । यहाँका राजनीतिक दलहरू र जिल्ला स्तरका सरोकारवालाहरूसँग निरन्तर वार्ता भइरहेको छ । आसा छ, हामीले कोरोना चाँडै जित्छौँ ।
० उद्धार कसरी गरिराख्नु भएको छ ?
उद्धारका कामहरू पनि हामीले गरेका छौँ । एक जना मात्रै अलपत्र पर्दा पनि हामीले यहाँबाट गाडी रिजर्ब गरेर पठाउँछौँ । सीमा क्षेत्रमा एक दिनभन्दा धेरै कसैले पनि कुर्नुपरेको छैन । त्यो पनि मान्छेहरूले हामीलाई सम्पर्क गर्दा र सवारी व्यवस्थापन गर्न समय लाग्ने भएकाले कुर्नुपरेको हो । वास्तवमा हामीले यसरी कसैलाई पनि कुर्न परेको छैन । हामीले कुर्न दिँदैनौँ । कुनै नागरिकबाट हामीलाई पीडा भयो भन्ने गुनासो सुन्नु परेको छैन । सबैलाई समान रूपले व्यवस्थापन गर्न हामी लागेका छौँ । यस्तो समस्या रहेका छैन । सबैजना खुसी छन्, सुखी छन् । अहिले सबैले धन्यावाद दिइरहेका छन् ।
० खानपिनको व्यवस्थापन कस्तो छ ?
खानपिनमा समेत कुनै कमी गरेका छैनौँ । नयाँ कामहरू गर्नका लागि हामी प्रयासरत छौँ । आर्थिक गतिविधिहरू ठप्प छन् । यसलाई कसरी खोल्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यानआकर्षण भइरहेको छ । यसलाई थप विस्तार र मजबुत तवर लाग्ने र पृथक कामहरू गर्ने हाम्रो सोच छ । विद्यालयहरू अहिले बन्द अवस्थामा छन् । ती विद्यालय खोल्नुपर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ । शिक्षा र स्वास्थ्यलाई खुम्च्याउँदा असहज हुने भएकाले यसलाई तिव्रता दिन आवश्यक देखिन्छ । हाम्रो जिल्लाको अधिकांश क्षेत्र हिमाली क्षेत्र भएकाले यहाँ मान्छेहरू छरिन पाएका छैन । र, यहाँ कारोना फैलियो भने खतरा पनि उत्तिकै हुनेछ । उद्धारमा समस्या हुने देखिन्छ । उद्धारका कामहरू प्रभावित बन्न सक्छन् । यसैले यसतर्फ पनि हामी सक्रिय हुन आवश्यक छ । सुधार र रक्षाका विषयमा गृहमन्त्रालयको निर्देशनअनुसार हामी लागिपरेका छौँ । कोरोना रोकथाम र नियन्त्रणसम्बन्धि उच्चस्तरीय समितिको आदेशलाई फलोअप गरिरहेका छौँ । केही आरडिटी परीक्षणको दायरा बढाएका छौँ । पिसिआर परीक्षणमा समेत हामीले ध्यान दिएका छौँ । अहिले कोरोना नियन्त्रणलाई नै हामीले काम गर्दै आएका छौँ ।
० गण्डकीका धेरै जिल्लाहरूमा कोरोना फलिएको छ । प्रदेश कार्यालयको सहयोग कस्तो छ ?
हाम्रो प्रदेशको राम्रो साथ र सपोर्ट छ । हामी स्थानीय स्तर र जिल्ला स्तरबाटै यसमा लागेका छौँ । हरेकदिन मुख्यमन्त्रीलाई क्वारेन्टाइन व्यवस्थापन र कोरोना रोकथामबारे जानकारीसमेत दिने गरेका छौँ ।
० विकासका कामहरू कसरी गरिाख्नु भएको छ ?
अहिले आर्थिक स्थिति चलायमान हुन सकेको छैन । सरकारले करबाट जनताका भावी दिनहरू सुखी बनाउने दिशामा अघि बढिरहेको छ । स्थानीय कामदाहरू सबै ठाउँमा हामीले परिचालन गरेका छौँ । बाहिरका कामदारहरूलाई स्थान दिएका छैनौँ । हामीले यहाँकै व्यक्तिहरूलाई सामाजिक दूरी कायम गर्दै काम गर्न भनेका छौँ । र, सुरक्षा व्यवस्थाका लागि स्यानिटाइजर र हातमा पञ्जा अनिवार्य लगाउनु पर्ने हुन्छ । यसलाई हामीले अनिवार्य नै गरेका छौँ । सबैलाई खाना र बस्नको व्यवस्था गरेका छौँ । बाहिरबाट आउने सामग्रीलाई हामीले करिब १०–१२ दिनसम्म सामानको प्रकृति हेरेर राख्छौँ र उताबाट लोड गरिएको समयदेखि झन्डै २१ दिनमा मात्रै सामानको हामीले प्रयाग गर्ने गरेका छौँ । यसले गर्दा पनि कोरोना नियन्त्रणमा हामीलाई मद्दत मिलिरहेको छ । सबैभन्दा ठूलो भनेको हौसला हो । हौसलाले जस्तोसुकै समस्या पनि हल हुन सक्छ । सर्वसाधारणमा हामीले हौसला प्रदान गरिरहेका छौँ । उहाँहरूले पनि सरकारको आदेशको पालना गरिराख्नु भएको छ । सरकारले नागरिकको सुरक्षालाई मध्यनजर गरेको हामी सबैले बुझ्न जरुरी छ । कोरोनाबाट जोगिन अहिले हामीले ख्याल ग¥यौँ भने भोलि अन्य कामहरूमा समेत मद्दत पुग्नेछ । यसले हामी कर्मचारीलाई समेत प्रेरणा मिल्छ ।
० के भन्छन्, म्याग्दीका नागरिक ?
म्याग्दीका नागरिकहरू सरकारको कामबाट सकारात्मक छन् । स्थानीय तहहरूले नागरिकमाझ थपिदिएको प्रेरणा उनीहरूमा उत्साह देखिन्छ । उमंग देखिन्छ । यसले कोरोनासंग जुध्न मद्दत गरेको छ । हामी पनि नागरिकबाट त्यही चाहन्छौँ । हामीलाई सबैतिरबाट सहयाग होस् भन्ने हाम्रो धारणा हो । सरकार मात्र उत्तरदायी भएर हुँदैन । नागरिकमा समेत त्यो उत्साह हुनुपर्छ । जसले समाजमा कोरोनाजस्ता कैयौँ रोगहरुसँग जुध्ने नयाँ तरिका दिनेछ ।
० बजार व्यस्थापन कसरी गरिएको छ ?
बजार व्यवस्थापनका लागि हामीले संघीय सरकारको निर्देशन फलोअप गरेका छौँ । आवश्यक काम नपरेर बजारसम्म नजानु भनेका छौँ । बजार जानै परेमा माक्स र पञ्जा अनिवार्य बनाएका छौँ । जसलाई सुरक्षा निकाले समेत निगरानी गरिरहेको छ । व्यापारीहरूले पनि सरकारको आदेश पालना गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *