दतिल फस्याउने जाल

बिबिध लेख

गत जेठ १० गते रुकुम (पश्चिम) चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणमा नवराज विककी प्रेमिका भनिएकी (परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६) किशोरीले सनसनीपूर्ण बयान दिएकी छन् ।

घटनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको अभियोगपत्रमा आफ्नै दाजु र बुबाले नवराज विकसहितका ६ जना युवालाई लखेट्दै र घेरा हाल्दै कुटपीट गरी मारेको पूर्ण विश्वास आफूलाई रहेको बयान दिएकी छन् । ती किशोरीले जेठ २७ गते दिएको बयानमा घटना भएको दिन आफू घरमै टिभी हेरेर बसेको पनि भनेकी छन् । उनले घटनाबारे प्रहरीलाई दिएको बयानमा मृतक नवराज बिकले २०७५ साल फागुन महिनामा आफूलाई फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएका र आफूले स्वीकार गरेको पनि बयानमा उल्लेख गरेकी छन् । ‘२०७७ जेठ १० गतेको दिन म घर कोठामा टिभी हेरिरहेकी थिएँ, मेरो घर नजिक नवराज बिक समेतका केटाहरु आएको अवस्थामा मेरो आमाले गाली पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाइ बाहिर आउँदा गाउँका महिलाहरु जम्मा भएका थिए । तर, मैले केटाहरुलाई देखिनँ’, किशोरीले बयानमा घटना भएको दिनबारे यसरी खुलाएकी छन् ।

उनले आफू घटनास्थलमा नगएको र सो दिन दिउँसो केकसो भयो भन्ने पनि आफूलाई थाहा नभएको पनि बताएकी छन् । ‘सोही दिन साँझ डिल्ली मल्ल मेरो घरमा आइ २ जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ,’ ती किशोरीले भनेकी छन् । ‘जेठ ११ गतेमात्रै साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराज बिकको मृत्यु भएको सुनेको र पछि बुझ्दा आफ्नो बुवा र दाइ समेतले नवराज बिकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पु¥याइ ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ’, युवतीले बयानमा प्रस्ट भनेकी छन् ।

उनले फेसबुकमा नवराज विकसँग जोडिएको मितिबाटै साथी भएर कुराकानी र भेटघाट हुने गरेको पनि खुलाएकी छन् । नवराज विकसँग परिचय हुँदै गएपछि २०७६ साल पौष १४ गते जाजरकोट खंलगामा रमाइलो मेला लागेकाले मेला हेर्न गएको मौकामा नवराजसँग भेट भएको र सो रात उनकै घरमा बास बसेर भोलिपल्ट आफ्नो घर फर्केको किशोरीले जनाएकी छन् । किशोरीको भनाइअनुसार नवराजकी बहिनी पुजा उनकी साथी थिइन् । किशोरीले बयानमा २०७६ पौष महिनामा पनि नवराजको भाइको जन्मदिनमा दोस्रो भेट भएको बताएकी छन् । तर त्यो भेटको गते भने आफूलाई एकिन नभएको उनले दिएको बयानमा उल्लेख छ ।

‘मृतक नवराज बिकको बहिनी नाता पर्ने मेरो साथी पूजा भन्नेको भाइको जन्मदिनमा गएको मौका समेत भेट भएकाले सो दिन समेत मृतककै घरमा गई सुति भोलिपल्ट घर गएकी हुँ’, उनले नवराजसँगको दोस्रो भेटबारे खुलाएकी छन् । ‘सो समयमा मृतकका घर परिवारले मलाइ विवाह गरी आएकी भन्ने सोचेका रहेछन्, तर म विवाह गरी गएकी होइन, निजले फोनमा मलाई विवाह गरौं भनि कुरा गर्दथ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिए, निजको घरमा बसेको त्यति नै हो,मलाई मिति एकिन भएन’, उनले नवराज र आफूबीचको सम्बन्ध र विवाहबारे भएको चर्चाबारे पनि खुलाएकी छन् ।

उनले त्यसपछि मृतक नवराज बिकले आफ्नो साथी चरी भन्नेलाई साथमा ल्याएर आफ्नो घरमा आएको भन्दै आफू र बज्यै घरमा सुतिरहेको अवस्थामा झ्यालबाट ढुङ्गा र मकैको खोया समेतले हान्दै गरेको बज्यैले देखेको बताएकी छन् । ‘भोलिपल्ट बिहान पनि निज नवराज बिकसमेत मेरो घर नजिकै हिँडिरहेको देखि मेरो बुवा आमा समेतले सम्झाई आफ्नो घर तर्फ पठाएकोमा २०७७ साल बैशाख महिनाको गते याद भएन, निजले आफ्नो साथी सन्जु बि.कलाई ल्याई मेरो गाउँमा आएको रहेछ तर मैले देखिन गाउँले भनेको सुनेकी थिएँ’, युवतीले बयानमा भनेकी छन् ।

त्यस्तै उनले मिति २०७७ बैशाख १७ गते राति ८,९ बजे नवराजले अन्य २ जना साथी ल्याई आफ्नो घर नजिकै आएको र आफ्ना बुवा,आमाले वडाअध्यक्ष डम्बर बहादुर मल्ल र विनोद मल्ललाई खबर गरेपछि गाउँलेहरुले नवराजलाई नियन्त्रणमा लिएर राति नै प्रहरीलाई बुझाएको बताएकी छन् । उनले नवराज आफ्नोे घरमा आएर नबस्ने गरेको पनि बताएकी छन् ।

डाक्टरले मोड्दै रिपोर्ट
रुकुम पश्चिमको नरसंहारमा दोषीलाई उम्काउने दिशामा डाक्टरहरु लागेको पाइन्छ । डाक्टरले लामो समयपछि निकाले पोस्ट मार्टम रिपोर्टले यसबारेमा अझबाह र मनगणन्ते काम गरेको पाइन्छ । डाक्टरको रिपोर्ट अनुसार नवराज वि.क. को पोस्टमार्टम रिपोर्टको ओपिनियन अर कन्क्लुजनमा शरीरका तीन ठाउँमा शक्तिशाली प्रहार ब्लन्ट फोर्स (blunt force) का कारण बाह्य चोट रहेको उल्लेख छ । तर मृत्युको सम्भावित कारण भने डुब्नु उल्लेख छ ।

त्यसैगरी लोकेन्द्र सुनारको पोस्टमार्टम रिपोर्टमा शरीरमा पनि शक्तिशाली प्रहारका कारण तीन ठाउँमा चोट लागेको र मृत्युको कारण डुब्नु उल्लेख छ । सन्जु भनिने सञ्जीव विकको पोस्टमार्टम रिपोर्टमा भएको चोटपटक नदीमा खसेको कारण हुनसक्ने उल्लेख गर्दै मृत्युको कारण डुब्नु उल्लेख छ । त्यस्तै टीकाराम नेपालीको रिपोर्टमा घातक प्रहारका कारण टाउको, अनुहार, घाँटी, तल्लो भागहरुमा थुप्रै चोटपटक (मल्टिपल ब्लन्ट फोर्स इन्जुरिज) भएको र मृत्युको कारण डुब्नु उल्लेख छ । गणेश बुढा मगरको पोस्टमार्टम रिपोर्टमा शरीरको माथिल्लो भाग, घुँडा र खुट्टामा ब्लन्ट फोर्स इन्जुरिज (घस्रिएको) देखिएको तर त्यो भूइँमा लडेर भएको हुनसक्ने र यो चोट ज्यानै जाने खालको नभएको उल्लेख छ । उनको मृत्युको कारण पनि डुब्नु नै उल्लेख छ । यसैगरी गोविन्द शाहीको पोस्टमार्टम रिपोर्टमा शरीरका तीन ठाउँमा बाह्य चोटपटक रहे पनि मृत्युको सम्भावित कारण डुब्नु उल्लेख भएको देखिन्छ ।

यद्यपि प्रहरीले भने पोस्टमार्टम रिपोर्टबाट समेत प्रयोग भएको कारणबाट घाउचोट लागेको तथ्य स्थापित भएको’ भन्दै ‘मृतकहरुको मृत्यु प्रतिवादीहरुले वारदात मितिमा प्रहार गरेका चोट समेतबाट भएको स्पष्ट देखिएको’ दावी गर्दै कर्तव्य ज्यानको मुद्दा चलाउन राय दिए बमोजिम मुद्दा दर्ता भएको देखिन्छ। मुलुकी अपराध संहिता,२०७४ को दफा १७७ मा पनि ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने दफा १ कसैले कसैको नियत पुर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन लेखिएको छ र यसको स्पष्टीकरणमा यस दफाको प्रयोजनको लागि कसैले कसैलाई निजको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भिर शारिरीक चोट वा क्षति पु¥याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको परिणाम स्वरुपपछी ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ लेखिएको छ। शवबाट भिसेरा परीक्षणको लागि पठाए पनि रिपोर्ट आइसकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *