राजतन्त्र सुरुको त्यो दिन र राजतन्त्र अन्त्य पछिको यो दिन

राजनीति लेख

हाम्रो पुस्ता भाग्यमानी छ । अरु पुस्ताले नभोगेको धेरै कुरा अनुभुती गर्न पायो । त्यस मध्येको एक राजतन्त्रको सकृयता र समाप्ती पनि एक हो । २०६५ को जेठ १५ गते यो मुलुकबाट राजतन्त्रको अन्त्य भएको घोषणा भएको थियो । त्यो दिनलाई संझेर मुलुकभर विभिन्न कार्यक्रमहरु भैरहेका छन् । राजतन्त्रका पक्षधरहरुले पनि केही कार्यक्रम आयोजना गरेका छन् । यो व्यवस्थाको सुन्दर पक्ष नैं आफ्नो वीचार अभिव्यक्त गर्न पाउनु हो । राजतन्त्रमा सो विरोधी कुरा बोल्न लेख्न पाइदैनथ्यो तर गणतन्त्रमा शान्तीपूर्ण तरिकाले आफ्नो विचारहरु राख्न र कार्यक्रम गर्न पाइन्छ । यस लेखमा सकृय राजतन्त्र सुरु हुँदाका मेरा केही स्मरणहरु र अहिलेको केही अवस्था समेट्ने कोशिस गरेको छु ।

पहिलो विदेश यात्रा
म पहिलो पटक ठुलो हवाइजहाज चढेर नयाँ दिल्ली गएको थिएँ । दिल्लीबाट वातानुकुलित रेल चढेर भोपाल गएँ । सबै कुरा मेरोलागि नौला थिए । भोपालमा रहेको वन अध्ययन संस्थानमा केही दिनको तालिम थियो । त्यहाँबाट माघको १९ गते दिल्ली फर्किएँ । माघ २० गते बेलुकाको हवाइजहाजबाट काठमाडौं जाने टिकट थियो । त्यो साल थियो, २०६१ ।

म भोपालमा रहँदा नैं तत्कालिन राजाबाट सत्ताको वागडोर खिच्दै तत्कालिन प्रधानमन्त्रीलाई असक्षम घोषणा भएको रहेछ । दिल्लीमा आए पछि मात्र गाईगुई कुरा सुनियो । तर कुरा प्रष्ट भएन । त्यो समयमा काठमाडौंमा दूरसञ्चार संस्थान अहिले नाम फेरिएको टेलिकमको फोन थियो । तर सर्वसाधारणको पहुँच वाहिर थियो । त्यसबेलामा भारतीय एक कम्पनी युटिएल भन्नेले फोनको सहितको रिचार्ज गर्ने डल्लो विक्रि गर्दथ्यो । एक सेट मात्र किन्दा महँगो करिब १० हजार जती पर्ने तर ६ सेट किनेमा ८ हजारमा आउँथ्यो । हामी ६ जना मिलेर किनेका थियौं । त्यही फोन मैले काठमाडौंमा कोठामा राखेको थिएँ । त्यो फोन नं. पनि याद छ, २०४०३४० । मोवाइल फोन पनि थियो तर असाध्यै दुर्लभ । सामान्य मानिसको पहुँच वाहिर थियो । माघ १९ मा राजाले शासन हातमा लिए पछि सबै फोनहरु बन्द गराइएछ । मेरो काठमाडौंको सम्पर्क सूत्र पनि टुटिगयो ।

त्रासदीपूर्ण यात्रा
दिल्लीबाट काठमाडौंसम्मको यात्रा गर्ने विमान भारतीय थियो । विमान कम्पनीको नाम चाँही भुलें । विदेशी हवाइजहाज नेपालमा प्रवेश निषेध गरिएछ । २० गते विहानतिर नयाँ दिल्ली आइपुगेको थिएँ । राजाले शासन लिएको बारे गाइगुई सुनेको थिएँ तर धेरै कुरामा बेखवर थिएँ । मेरो भ्रमणको मेलोमेसो मिलाउने संस्थाको प्रमुख डा. माधव कार्कीसँग कुराकानी गरें । उहाँको कार्यालय दिल्लीमा नैं थियो ।

दिनभर चाँदनी चोक तिर घुमे । छोला भटौरा खाएँ । त्यसको स्वाद सम्झदा अहिले पनि मुख रसाउँछ । काठमाडौं जाने कुनै टुङ्गो थिएन । अन्यौलताकैं बिच नेपाली विमानबाट काठमाडौं जान पाइन्छ कि भन्दै विमानस्थल गएँ । मेरो हवाईजहाजको टिकट तत्कालिन शाही नेपाल वायुसेवा निगम तिर सार्न अनेकानेक कोसिस गरें । सार्न संभव पनि भयो तर रातभर विमानस्थलमा नैं जाग्रम वस्नु प-यो । भोलीपल्ट विहान विमान उड्यो । करिब एक घण्टाको आकासे यात्राबाट नेपालको त्यो बेलाको एक मात्र अन्तराष्ट्रिय विमानस्थल उत्रियौं । काठमाडौं सन्नाटा थियो ।

त्रासदी थियो । परिवारजनमा कुनै खवरआदान प्रदान थिएन । नेताहरुलाई पक्राउ देखि नजरवन्द गरिएको थियो । नेपाली विमान वाहेक अरु देशका विमान नेपाल प्रवेश निषेध थियो । विदेशी मुलुकसँगको सम्पर्क विच्छेद गराइएको थियो । टेलिफोन तथा मोवाइल सुविधा वन्द थियो । इन्टरनेट पनि टुटाइएको थियो । तत्कालिन अवस्थाको सूचनाको प्रमुख साधान पत्रपत्रिका वन्द वा सेनाबाट सेन्सर गरेर मात्र छापिन्थ्यो । सरकारी टेलीभिजनमा राजाको गुणगान भन्दा केही आउँदैनथ्यो । एफएम रेडियोको उस्तै हालत थियो । नागरिकहरु बोल्न डराउँथ्ये । ५ जना पनि भेला हुन सामुहिक हिड्न पाइदंैनथ्यो ।
माघ १९ मा वन्द गरेको युटिएल नामक टेलिफोन खुल्न धेरै महिना लाग्यो । पत्रपत्रिकाले आफ्नो रुप लिनकोलागि जनआन्दोलन पछि मात्रै संभव भयो । रेडियो तथा टेलिभिजनले आफ्नो साविकको भाका टिप्न १९ दिने जनआन्दोलन नैं कुर्नु प-यो ।

अहिले राजा फर्किने र फर्काउने कुरा चलि रहेको छ । के हामी त्यही २०६१ सालको अवस्था खोज्दैछौं ? हामी कस्कोलागि के खोज्दै छौं ? नेपालको मर्यादाको क्रममा १ नंं. मा पुग्ने मान्छे खोज्दैछौं । त्यो पद अर्थात नेपालको मर्यादामा १ नंं पर्ने आम नागरिक पुग्न सक्ने अवस्थालाई तोड्न खोज्दैछौं ? कुनै एक पात्रलाई संविधान माथि राख्न किन खोज्दैछौ ? हामी कस्कालागि आन्दोलन गर्दैछौं ?

अहिलेका दिन
विकास भएन भन्ने चर्चा छ । पक्कै विकास पुगेको छैन । तर तुलनात्मक रुपमा हेर्ने हो भने अचम्म लाग्दो विकास भएको छ । दोलखाको मात्र उदाहरण लिने हो भने २०४७ साल तिर ८० किलोमिटर सडक थियो । अहिले ५ सय किलोमिटरको हाराहारीमा कालोपत्रे सडक बनि सकेको छ । कच्चि सडकको आंकडा लिने हो भने २ हजार किलोमिटर भन्दा वढि हुन्छ । यो लम्वाई भनेको मेचीबाट महाकाली ओहोरदोहोर गरे वरावर हो । भीमेश्वर नगरपालिका भित्रै पनि ४ सय किमि भन्दा वढि सडक बनेको छ । आधा भन्दा वढि सडकमा वाह्ै महिना गाडी गुड्न सक्छ । आम्दानीको अवस्था लेखाजोखा गर्ने हो भने २०४७ भन्दा अगाडी मेरो घरमा महिनाको २ हजार पनि रकम पस्दैनथ्यो । हामी ८ जना दाजुभाई दिदी वहिनी थियौं र छौं ।

अहिले, ती ८ जनाको घरमा मासिक २० लाख भन्दा वढि रकम भित्रिंदो रहेछ । खाना नैं मुस्किल पर्ने अवस्था थियो । त्यो अवस्था सायदै नेपालीको घरमा होला, अहिले । २०४७ तिर दोलखाको सदरमुकाममा विद्युत्को पोल गाडीदैं थियो । अहिले विजुली नपुगेको घर छैन । मुलुक भरनैं करिव करिव विधुतीकरण भैसक्यो । विद्यालयको चर्चा गर्ने हो भने चरिकोटमा कालिञ्चोक र पशुपति कन्या, दोलखामा भीम मावी र सुस्पामा क्षमावती मावि मात्र थिए ।

अहिले भीमेश्वर नगरपालिका भित्र मावि स्तरका १२ वटा सामुदायिक (सरकारी) र ७ वटा नीजि वा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । गौरीशंकर क्याम्पसमा राजनीति शास्त्र विषयको आइए भन्दा माथिको पठनपाठन हुँदैनथ्यो तर त्यो वहुमुखी भएको धेरै भैसक्यो । अरु कलेज धेरै सञ्चालनमा छन् ।
उत्पादनको अर्थमा हेर्ने हो भने जिलु वाहेक अन्यत्रबाट तरकारी बजारमा आउँदैनथ्यो । बजारमा वस्नेले हरियो सागपात किन्न शनिवारको हाटनैं पर्खनु पर्दथ्यो । अहिले मकैवारी, वोच, झिँगाने, पाखाटोल, रामकोट लगायतबाट तरकारी काठमाडौ तथा बर्दिवास तिर जाने गर्दछ । २०४७ सम्म चरिकोटमा भएको कारखाना भनेको पाउरोटी भन्दा केही थिएन । अहिले डेरी नैं गाउँगाउँमा भैसके ।

सवैकुरा गजब छ ? कदापी हैन । धेरै गर्न वाँकी, सच्चीनु आवश्यक छ । तौरतरिका फेर्नु पर्नेछ । सुशासनको प्रत्याभुति हुने काम गर्नु पर्ने छ । स्थानीय उत्पादन वढाउने काम गर्नु छ । परनिर्भरताको पराकाष्ठ बढेको छ । खाडीमूलकको तेल विदेशीको सामान बेचेर मुलक सम्पन्न हुँदैन । हामीसँगै भएको साधान स्रोतको अधिकतम् सदुपयोग गर्नु पर्ने छ । यो सधैं संभावना रहन्छ । विश्वको शक्तिशाली सम्पन्न देश अमेरिकामा पनि गर्न वाँकी धेरै छ भने हाम्रो मुलुक जस्तोमा अझै धेरै संस्थागत गर्न वाँकी नैं छ । तथापी लोकतन्त्रको विकल्प खानदानी वा वंशजको आधारले नेतृत्व चयनको परम्परा कुनै हालत सहि मान्न सकिन्न । नेपालको मालिक नेपाली नागरिक हुन् । मालिकत्व खोस्ने अधिकार कसैंसँग हुँदैन । हुनुहुन्न पनि ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *